रसुवा जिल्लाको समग्र शान्ति सुरक्षा र प्रहरी र आम नागरिकको सम्बन्ध कस्तो हुनुपर्छ र प्रहरीले जिल्लामा गरेका समग्र कामहरूबारे हाम्रो जिल्ला सम्वाददाता सरस्वती न्यौपानेले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीसँग गरिएको कुराकानी
सर्वप्रथम त तपाईँ जिल्ला प्रहरी कार्यालय रसुवामा कहिलेदेखि कार्यरत हुनुहुन्छ ?
म विगत १४ महिनादेखि जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत छु ।
रसुवा जिल्लामा तपाईँ प्रहरी प्रमुखको जिम्मेवारी लिएर आईसकेपछि आम नागरिकले के कस्तो सुरक्षाको अनुभूति पाएका छन् ?
नेपाल प्रहरी सङ्गठन तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूको मुख्य काम नै समाजमा अपराध रोकथाम, नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नु हो । जिल्ला प्रहरी प्रमुख भएर आउनु र जानू त नियमित प्रक्रिया मात्र हो । यस क्रममा फेरिने भनेको पात्र मात्रै हो, जिम्मेवारी फेरिने कुरा हुँदैन । जिल्लाको समग्र शान्ति–सुव्यवस्थाको अवस्था सन्तोषजनक रहेको छ । कुनै पनि घटना घटेमा अथवा हुन लागेको सूचना हामीलाई प्राप्त हुने बित्तिकै सो स्थानको नजिकको प्रहरी युनिटबाट प्रहरी परिचालन गरिन्छ । घटनाको प्रकृति अनुसार प्रहरी कारबाही अगाडि बढाउने गरेका छौँ । प्रत्येक प्रहरी युनिटबाट २४ सै घण्टा आफ्नो जिम्मेवारी इलाकामा गस्ती तथा पिकेट परिचालन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट सिनियर प्रहरी अधिकृतको कमान्डमा महिनाको २/३ पटक लामो दुरीको गस्ती समेत ग्रामीण भेगहरूमा सञ्चालन गरेका छौँ । यस जिल्लाको सम्पूर्ण घरधुरीमा पुग्ने लक्ष्यकासाथ एकीकृत गस्ती कार्य योजना २०८० अन्तरगत सम्पूर्ण प्रहरी युनिटको हालसम्म ६५०० सय घरधुरीमा स्टिकर समेत टाँस गरिसकेको अवस्था छ। स्टिकर टाँस भएको घरको घर मूलीको सम्पर्क नम्बरसहितको सम्पूर्ण विवरण समेत लिएका छौ । जसबाट सर्वसाधारण नागरिकलाई विकास भएको छ । जिल्लामा बसोबास गर्ने व्यापार र व्यवसाय गर्ने तथा भ्रमणको लागि आउने पर्यटनहरू समेत निर्धक्क रूपमा आफ्नो दैनिकी सञ्चालन गर्न पाएका छन् । तसर्थ यस हिसाबमा जिल्लामा रहने सम्पूर्ण नागरिकहरूको मजवुद सुरक्षाको अनुभूति गरिएको हामीलाई विश्वास रहेको छ ।
जिल्लामा घटना का उजुरी कतिको आउँछन् ?
औसतमा भन्नुपर्दा जिल्लामा प्रहरी कार्यालयमा महिनाको १५ देखि २० वटा जति उजुरीहरू आउने गर्छन् । त्यसरी परेका उजुरीहरूको सम्बन्धमा तत्कालै आवश्यक कारबाही गरिने गरिएको छ ।
धेरै उजुरी चाहिँ कस्तो किसिमका आउँछन् ?
बढी मात्रामा प्राप्त हुने उजुरीहरूको हकमा मानिसहरू हराएमा, झैँ–झगडा, काम गरेबापतको पारिश्रमिक नपाएको र आर्थिक अपराध र साइबर सम्बन्धी केशहरू आउने गर्छन् ।
जिल्लामा समग्रमा कति पोस्ट रहेका छन् र प्रहरीको सङ्ख्या कति रहेको छ ?
हाल रसुवा जिल्लाको विभिन्न स्थानमा २२ वटा प्रहरी युनिटहरू रहेका छन् । उक्त युनिटहरूबाट २४ सै घण्टा प्रहरीले आफ्नो काम कारबाही सम्पादन गरिरहेको अवस्था रहेको छ । हाल पर्याप्त मात्रामा नै प्रहरीको जनशक्ति रहेको छ ।
तपाईँलाई अरू जिल्ला भन्दा रसुवा कस्तो जिल्लाको रूपमा पाउनु भयो ?
भौगोलिक हिसाबमा केही विकटता रहेता पनि अन्य स्थानको जस्तो सुरक्षा चुनौती तथा अपराधको प्रकृति यस जिल्लामा देखिएको छैन । राजधानी नजिकैको जिल्ला भएकाले काठमाडौँ लगायत नजिकका जिल्लामा विभिन्न घटनामा संलग्न भई यस जिल्लामा आएर लुकीछिपी बस्ने तथा सामाजिक एकतालाई यहाँको नागरिकले एकदमै सम्मान गरेको पाएको छु। जुन अति महत्त्वपूर्ण पक्ष हो ।
प्रहरी र आम नागरिकको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सामाजिक न्याय र सुरक्षाको विषय नै प्रहरीको उद्देश्य हो । जसलाई सशक्त बनाउन हामी समुदाय प्रहरी साझेदारी अन्तरगत समुदायमा पुगी नै रहेका हुन्छौ । नागरिकका दुखको साथी बनिरहेका हुन्छौ । प्रहरी आफ्नो कार्य सम्पादन को कुरामा नागरिकबाट सदैव सकारात्मक सहयोगको अपेक्षा गरेको हुन्छ । नागरिक स्तरबाट प्राप्त हुने यस्ता सकारात्मक सोचका साथ एक अर्कामा हातेमालो गर्दै शान्त, सुरक्षित तथा न्यायिक समाजको निर्माणमा अग्रसर हुने खालको हुनुपर्छ जस्तो लाग्छ ।