तामाङ गीति क्षेत्रका ध्रुवतारा : चन्द्रकुमार मोक्तान

काठमाडौं

त्यो ठाउँ, त्यो गाउँको सबैभन्दा अग्लो डाँडा महाभारत । महाभारत डाँडाबाट चल्ने चीसो हावा । त्यो चीसो हावामा कावा खाँदै लम्पसार परेको शिखरपुर गाउँ । त्यही गाउँको माटोमा, त्यही गाउँको संस्कृतिमा टुकुटुकु हिँडेर हुर्किए एउटा तामाङ केटो ।

मान्छे भएर जन्मेपछि कसको पो आकाङ्क्षा हुन्न र ? कसको पो रहर हुन्न र ? त्यो तामाङ केटोलाई पनि त्यही आकाङ्क्षा, त्यही रहरले डोर्‍यायो । ‘दुम्जाला बजार, ल्हाला जात्रा’ उनको निम्ति सबैभन्दा प्रिय थियो । जात्रामात्रा र गीत भनेपछि हुरुक्कै हुन्थे उनी । तिनै जात्रामात्राको गीतको मोहले त्यो केटीलाई ‘म पनि अब गीत गाउँछु’ भन्ने सङ्कल्पमा पुर्‍यायो । त्यो सङ्कल्प उनको २०४२ सालमा पूरा भयो, जब रेडियो नेपालबाट ‘ए साइली, ए माइली चरिला कमाइ दोडला नाइ’ भन्दै उनकै स्वरमा गीतहरू प्रसारण हुन थाल्यो । तिनै ‘चरिला कमाइ’ले उनको सङ्कल्प मात्र पूरा भएन, शिखरपुर गाउँको एउटा लुखुरे तामाङ केटोको समेत देशव्यापी परिचय भयो । हाई हाई भयो, सबैतिर थाइ थाइ भयो । शिखरपुरको लिखुरे तामाङ केटोबाट सबैको हाई हाई र थाइथाइ बन्न पुगेको त्यो तामाङ केटो थियो- चन्द्रकुमार मोक्तान ।

जब उनले रेडियो नेपालबाट यो गीत गाए, तब उनको गीत र उनी एकाएक चर्चामा आए । उनले यसरी मर्मस्पर्शी गीतहरू गाउनु र सम्प्रेपित हुनुको पछाडि एउटा लामो कथा छ । उनको जीवन भोगाइका एउटा तीतो अनुभूति छ र छन् ग्राम्य परिवेश त्यसमा पनि पिछडिएको तामाङ समाजका सदस्यहरूले भोग्नु परेका पीडा, कथा र पीरमर्काका कथाहरू । चन्द्रकुमार मोक्तानको जन्म विसं. २०१२ साल असोज २९ गते काभ्रे जिल्लाको भिङखुरी गाविस वडा नं. ८ शिखरपुरमा भएको थियो । आमा चमेलीमाया लामा र बुबा पूर्णसिंह लामाका सात भाइ छोरा र चार बहिनी छोरीहरूमध्ये उनी काइँलो छोरो थियो । उनी जन्मिदा राणा शासनको अन्त्य र पञ्चायतको उदय भैसकेको भए तापनि अझै शिक्षाको पर्याप्त व्यवस्थाहरू भैसकेका थिएनन् । बल्लतल्ल उनको गाउँमा प्राथमिक विद्यालय स्थापना भएको थियो । माध्यामिक विद्यालय पढ्न त झोलीतुम्बा बोकेर सिन्धुलीको दुम्जामा जानुपर्थ्यो । विद्यालय स्थापना भए तापनि न शिक्षकको राम्रो बन्दोबस्त थियो, न त पढ्नु र पढाउनु पर्छ भन्ने कुराको हेक्का दुनियाँलाई नै थियो । त्यतिबेला स्कूलमा पढलेखको लागि जानु भनेको ‘तास- जुवा खेलेर’ बिग्रनुसरह मानिन्थ्यो । ‘अठ्ठारा पुराना चार वेद, सबैभन्दा ठूलो हलोको फेद’ त्यसबेलाको दुनियाले शिक्षाको उपहास गर्दै उखान कथेका थिए । तर, शिक्षाका यी विपरीत परिवेशका बावजुद पनि चन्द्रकुमार मोक्तानले भने पढ्न पाए । जानेर होस् वा नजानेर उनका बाबु आमाले उनलाई स्कूलमा भर्ना गरिदिए । चन्द्रकुमार पनि ह्यामानको कालोपाटी बोकेर स्कूलमा पढ्न गए । क, खको खुट्किलो पार गरी उनी सात कक्षासम्म उक्ले ।

त्यतिबेला पढ्न सजिलो थिएन । अहिलेका केटाकेटीहरूलाई झैँ कुनै पनि सुविधाहरू दिदैनथे, अभिभावकहरूले । गाई, भैँसी गोठाला, घाँसे, हली, मेलापात जस्ता घरधन्दाको कामहरू भ्याएर मात्र स्कूल जान पाउथे । यदि गाई, भैँसी, घाँस, हली, मेलापात नगरी स्कूल गयो कि बेलुका फर्किदा पढेर आएबापत अभिभावकहरूको न्यानो माया होइन, पीडादायी चड्कन खेप्नु पर्दथ्यो । चन्द्रकुमार मोक्तान पनि गईगोरु गोठाला जाने, भैँसीलाई घास, स्याउला गर्ने, घट्ट जाने, हलो र मेलापात जस्ता कामहरू गर्नबाट वञ्चित रहन पाएनन् । र, उनको बाल्यजीवन पनि यसरी दुःख र कष्टसाथ बिते । यतातिरको घरधन्दाको यो बोझ, उतारितको पढाइको जिम्मेवारीले गर्दा उनी दोमनको चेपुवामा परे । ‘पढूँ कि छाडूँ’ उनीभित्रको अन्तरद्वन्द्व चर्कियो । ‘आ जे होला’ त्यसपछि भने उनले पढाइलाई तिलाञ्जली दिए ।

दुःखका साथ सातौँ कक्षामा उक्लिसकेका चन्द्रकुमारले पढाइलाई यतिमै यसरी तिलाञ्जली दिनुको पछाडि भने यति मात्रै कारणहरू छैनन्, त्यतिबेला बम्बर्इमा लाहुर जाने आमप्रचलन थियो गाउँघारका युवाहरूमा । उनीहरू लाहुरबाट घर फर्कदा ‘लौ फलाना घरे लाहुर’ आइपुग्यो है भनेर गाउँभरि चर्चा परिचर्चा हुनेगर्थ्यो । र, सबैले सम्मान र आदरका भावले हेर्ने गर्दथे । ‘लाहुरेहरू चाहि जुल्फी लर्काएर, नाडीमा घडी बाँधेर, काधमा रेडियो भिरेर ढल्कदै गाउँ घुम्थे ।’ त्यतिबेला रेडियो र घडी आमप्रचलनमा आइसकेको थिएन । रेडियो बोक्नु, घडी लगाउनु ठूलो र इज्जतदार हुन्थ्यो । यसले गर्दा चन्द्रकुमारको १४ वर्षीय बालमनलाई पनि नराम्ररी झस्कायो । र, आफ्नै अन्तरआत्माले भन्न थाल्यो, ‘ए चन्द्र तँ पनि लाहुर जा ! घडी ला र रेडियो भिर । हेर ! फालाना घर लाहुरेको कस्तो सान, कस्तो इज्जत ! तँ जाबो भने… !’ हो त नि उनलाई उनको अन्तरआत्माको कुरा सोह्रै आना ठीक लाग्यो । २०२८ सालको मंसीरको महिना थियो, त्यो बेला जुनबेला उनले लाहुर जाने निधो गरे । निधो मात्र होइन साँच्चिकै उनी त्यही सालको पुसमा लाहुर हिड्यो पनि आफ्नो गाउँघरलाई चटक्क छाडेर । यसकारण पनि उनको पढाइ रोकिएको थियो । आज ती दिनहरूलाई सम्झदै उनी भन्छन्, ‘त्यो बेला मैले कुरा बुझेको थिइनँ र पढाइ छाडेर लाहुर बन्ने दुस्साहस गरेँ । मेरो जीवन अबका नवपिँढीहरूलाई मार्गदर्शक बनोस् र उनीहरूले ‘पढाइ’ भन्दा ‘लाहुर’ ठूलो देख्ने मूर्खता कहिल्यै नगरून् ।’

गाउँबाट हिँडेको भोलिपल्ट उनीहरू काठमाडौँ आइपुगे र सुन्धारामा गएर वीरगञ्ज जाने बसको टिकट लिए । दुबैको लागि काठमाडौँ नौलो थियो । यसअघि कहिल्यै आएका थिएनन् । साँझ पनि परिसकेको थियो- त्यसले गर्दा दुबै जनाले त्यही टिकट लिएको गाडीमै सुत्ने योजना बनाए र गाडीको वरिपर घुमेर बसिरहे ।

दुबैजना लाहुर हिड्न पाएकोमा दङदास थिए । त्यतिकैमा एउटा ठूलो धोत्रो स्वरले उनीहरूलाई झस्काइदियो । ‘ए भाइ कहाँ हिँडेको ?’ उनीहरूको ध्यान त्यही धोत्रो स्वरतिर केन्द्रित हुनपुग्यो । त्यहाँ उनीहरूले देखे- बर्दिवाल पुलिस । तिनै पुलिसले उनीहरूलाई पक्रे र लिएर गए । रातभर आफैसँग राखे । राती अबेर समयसम्म उनीहरूलाई सम्झाए । बाबुआमाको पैसा चोरेर हिँडेकोमा गाली पनि गरे । बिहानपख भ्यानमा राखेर उनीहरूलाई बनेपा जाने गाडी चढाएर गाउँतिरै फर्काइदिए र पुन: लाहुर जान काठमाडौँ आएमा पक्रेर जेल हाल्ने धम्कीसम्म दिए ।

‘अब गाउँ कसरी जाने ?’ लाहुरे जाने भनेर गाउँ त छाडि नै सकेको थियो । उनीहरूलाई पर्नुसम्म पीर पर्‍यो । त्यतिबेला दोलालघाट पुग्ने गाडी पनि चल्दथ्यो । त्यही गाडीमा चढेर उनीहरू कामको खोजीमा दोलालघाट हानिए । तर, त्यहाँ कुनै पनि काम पाउने छाँट देखिएन र विकल्पहीन भएर उनीहरू काठमाडौँतर्फ नै फर्किए । एकातिर यताउति गर्दागर्दा नै उनीहरूले घरबाट ल्याएको पैसा टाट पल्ट्यो । अर्कातिर काम नपाएर हैरानी भयो । विकल्पहीन बनेका चन्द्रकुमार एकदिन भौतारिँदै ठहिटी र ठमेल बिच पुगे । त्यहाँ भटमास लगायतका सामानहरू बेच्न राखेका रहेछन् । चन्द्रकुमारले २५ पैसाको झण्डै एक माना जति भटमास किने र त्यही पसल नजिक टुक्रुक्क बसेर खान थाले । साँझ परिसकेको थियो तर पनि उनी त्यहाँबाट चलमल नगरी त्यहीँ बसिरहे । त्यो देखेर पसले साहुनीले सोधिन्, ‘नानी तिमी कता हिँडेको फेरि रात पनि त पर्न लाग्यो तिमी त यहीँ बसिरहेछौ किन हँ ?’ साहुनीको कुरा सुनेपछि चन्द्रले कुनै कुरा नढाँटी सरासर आफ्नो मनको वह पोखे । ‘साहुनी म त काम खोज्न काभ्रेबाट आएको । केही काम पाइन्छ कि ?’ यो कुरा सुनेपछि तिनले तत्कालै आफ्नो भतिजाको ‘रामकृष्ण बेकरी’मा पीठो मुछ्ने काम लगाइदिइन् । त्यसवापत चन्द्रकुमारले त्यहाँबाट मासिक १५ रुपैयाँ पाए । त्यस बेकरीमा उनले २०१८-२०३० सम्म काम गरे । यस अवधिमा उनी बेकरीको कुशल मिस्त्री बनिसकेका थिए । र, त्यहाँको काम छाडेर अर्को बेकरीमा गए र त्यहाँ मासिक तीनसय रूपैयाको दरले काम गर्न थाले ।

ईश्वरले भन्छ रे- ‘तिमी आँट म पुर्‍याउँछु ।’ चन्द्रकुमारको जीवनमा पनि त्यही भयो । जे उनले आँटे, त्यही कुरा पूरा भएरै छाड्यो । २०३६ सालमा उनलाई लाग्यो, ‘आ ! कति अरूको कारिन्दा बन्नु, बरु आफैँ बेकरीको कारखाना खोलौँ क्यारा !’ जे आँट्यो त्यही गरी छाड्ने चन्द्रकुमारले भित्री मनले जब यो कुरा सोच्यो काम पनि सुरु गरिहाले । बेकरीको नाम जुर्‍यो – ‘चन्द्रमा बेकरी’ । त्यो बेकरी एकाएक जनमानसमा लोकप्रिय भयो । र, छोटो अवधिमै ठूलो मुनाफा कमाउन सफल भयो । यद्यपि आज पनि उनी त्यही ‘चन्द्रमा बेकरी’ कारखानाको मालिक हुन् । कुलेश्वरमा अवस्थित यो बेकरी आज पनि उपत्यकावासीमाझ लोकप्रिय छ । उनी भन्छन्- ‘मेहनत गरे के पो हुन्न र ! ढुङ्गा पनि हिरा बन्छ ।’ कहाँको लाहुरे कहाँको बेकरी मालिक उनी आफैँ तीन छक्क छ । तर पनि उनी खुशी छन् । भुलवस लाहुर जान खोजेर पनि जान नपाएकोमा उनी भन्छन्- ‘लाहुर गएर विदेशमा रगत बगाउनु भन्दा, आफ्नै राष्ट्रमा मेहनतको पसिना बगाउनु नै राष्ट्रप्रतिको सच्चा सेवा हो ।’

जीवनको विभिन्न आरोह र अवरोध पार गर्दै जब चन्द्रकुमार ‘चन्द्रमा बेकरी’को मालिक बन्न पुग्यो तब त्यसले उनको जीवनमा महत्वपूर्ण मोहडा आरम्भ गराइदियो । बेकरीको सञ्चालनको सिलसिलेवार अगाडि बढ्दै गयो र त्यसबेला लालबहादुर खातीसँग चन्द्रकुमारको परिचय हुन पुग्यो । लालबहादुर खातीको त्यसबेला रेडियो नेपालमा आवत जावत रहेछ । उनैले चन्द्रकुमारलाई पनि रेडियो नेपालमा सँगै लाने र ल्याउने गर्न थाले । गणेश परियारसँग परिचय गराए । ‘यो भाइ गीत गाउन औधी रहर गर्दोरहेछ । गणेशजी, लौ है तपाईले सङ्गीत भरेर उहाँलाई गीत गाउन सहयोग गर्नु होला ।’ गणेश परियारसँग चन्द्रकुमारलाई परिचय गराउँदै खातीले भने, ‘भाइलाई सहयोग भएन भने म रिसाउँछु नि ।’ साँच्चै खातीको आग्रहलाई गणेश परियारले लत्याउन सकेनन् । बिस्तारै परियारले चन्द्रकुमारसँग हिमचिम बढाए । माया, मोह र स्नेह दर्शाए । त्यसले गर्दा उनलाई गीत गाउन ठूलो हौसला मिल्यो । र, एकदिन गीत गाउन गए- ‘चरिला कमाइ दोङला नाइ ।’

प्रारम्भमा भनिएझैँ त्यो चन्द्रकुमारको प्रथम गीत भएर पिन चारैतिर त्यस गीतको प्रसंसा र वाह वाह भइदियो । दुःखमा नआतिने र सुखमा नमातिने चन्द्रकुमारले त्यो सफलतालाई निरन्तरता दिए । त्यसपछिका खुट्किलाहरू उनको निम्ति झन् उचाइमा उक्लिनको निम्ति महत्वपूर्ण भइदियो । सबै श्रोताहरूले अपार माया, स्नेह र सद्भाव दर्शाए ।

आज चन्द्रकुमार मोक्तान तामाङ समाजको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय गायक हुन् । उनको लोकप्रियतामा हाँक दिने अरु सक्षम गायकहरू अझ पनि जन्मेका छैनन् भन्दा पनि हुन्छ । उनी हजारौँ ताराहरूको माझ बृहस्पति बनेर उभिन सफल भएका छन् । जसरी नेपाली गायन क्षेत्रमा नारायण गोपालले ‘स्वरसम्राट’ उपाधिलाई आफ्नो काबुमा पारे तामाङमा चन्द्रकुमार मोक्तानलाई त्यो उपाधिले विभूषित गर्ने हो भने पनि सायदै कसैको विमत्ति रहन्न ।

तामाङ गायन क्षेत्रका प्रज्वलित वृहस्पति आफ्ना रेडियो गायन क्षेत्रका अनुभव यसरी बताउँछन्- ‘म पहिले कहिले पनि रेडियो नेपाल गएको थिइनँ । जब लालबहादुर खाती दाइले सँगै लिएर जानुभयो र गणेश परियारसँग भेटाएर परिचय गराइदिनुभयो । त्यसबेलादेखि मात्र रेडियो नेपाल आवत जावत भएको थियो । आवात-जावतको क्रममा मैले त्यहाँ गीत गाउन पाउने भएँ । जब म गीत लिएर स्टुडियोभित्र पसेँ तब मेरो त एकाएक हंस नै उड्यो । सबै भएर पनि के नभएको जस्तो । सबै पुगेर पनि के नपुगेको जस्तो भान भयो । डरले थुरथुर नै कामेँ । मनलाई बल्लतल्ल काबुमा ल्याएँ र रेकर्डरको अगाडि उभिएँ । रातो बत्ती बलेपछि सास नफेर्नु भनेको थियो, त्यसले गर्दा झन् डराएँ । रातो बत्ती बल्नासाथ फेरि मेरो एक हंस नै उड्यो । तर, पनि बलपूर्वक गीत गाएँ । एउटा गीत रेकर्ड गर्न असी किलोभन्दा बढीको भारी बोकेझैँ असिन पसिन भएँ । बल्ल रेकर्ड सकियो र ढुक्कले सास फेरेँ । थुक्क ! एउटा गीत जाबो पनि राम्ररी गाउन सकिनँ भन्ने चिन्ता लाग्यो । साथै, पहिलोपटक हो फेरि फेरि नबिग्रिएलान् नि भनी चित्त बुझाएर बसेँ । जब त्यो गीत रेडियोबाट बज्यो तब म एकाएक खुशीले नाचेँ । किनकि मैले सोचेजस्तो खत्तम नभएर त्यो गीत स्वर र सङ्गीतले उच्च रहेको पाएँ ।’

हुन पनि हो त्यो गीत स्वर र सङ्गीतले उच्चतम नै थियो । जसले गर्दा तामाङ समाजका वनपाखा, विवाह, रमाइलो मेलापात र जात्रामात्रामा समेत बुढाबूढी, तरुनो, तन्नेरी, केटाकेटीहरूले त्यो भाखालाई टपक्क टिपेर गाउदै हिँड्थे- ‘चरिला कमाइ दोङला नाइ ।’ उनको गीत यसरी लोकप्रिय हुनुमा एउटा गुह्य कुरा छ त्यो सबैले मनन गर्नैपर्छ । त्यो के हो ? उनी भन्छन्, ‘म गीत लेख्दा र गाउँदा कल्पनामा डुबेर होइन, वास्तविकतालाई आत्मसात गरेर लेख्ने गर्छु । मेरो गीतहरू जनमानसमा घटेका यथार्थ घटनाहरूसँग सम्बन्धित छ, उनीहरूले भोग्नु परेका पीर, व्यथा, पीडाका सुसेलीहरूलाई टपक्क टिपेर सुसाउने गर्छ ।’ उनले भने वास्तवमै जनजीवनसँग सरोकार राखेकै कारण उनको गीत लोकप्रिय बनेको कुरालाई कसैले नकार्न सक्दैन ।

‘चरिला कमाइ’ गाएर २०३७ सालबाट आफ्नो गीतियात्रा सुरु गरेका उनले अहिलेसम्म आइपुग्दा आठ दर्जनभन्दा बढी गीतहरू गाइसकेका छन् । ‘यो स्रोताहरूकै मायामोहको परिणाम हो ।’ आफ्नो सफलता बारे उनको धारणा छ, ‘जब मैले गीत गाएँ तब सबै श्रोताहरूले अहो ! चन्द्रकुमार मोक्तान भनेको को रहेछ ?’ भन्दै सोध्दैखोज्दै मका भेट्न आए । मप्रतिको श्रोताहरूको त्यो चासोले नै मलाई सफलताको यो बिन्दुमा पुर्‍याइदिएको हो ।

चन्द्रकुमार मोक्तान रेडियो नेपालमा गीत गाउने व्यक्तिमा प्रथम त पर्दैनन् तर तामाङ गीति एल्बम निकाल्नेमा भने अवश्य पनि प्रथम व्यक्ति हुन् । उनको २०४२ साल फागुन १५ गते ‘तामाङ व्हाइ’ र दोस्रो २०४५ मा तामाङ व्हाइ नामक अर्को एल्वम निकालेका थिए । यसभन्दा अगाडि तामाङ एल्बमहरू थिएनन् । एल्बम निकाल्नै पर्ने स्थितिमा उनी किन पुगे ? उनी यसबारे यसरी आफ्नो मत व्यक्त गर्ने गर्छन्, ‘तामाङ समाज गीत सङ्गीतको धनी समाज हो । यस जाति गीत सङ्गीत भनेपछि हुरुक्कै हुन्छन् । तर पनि बजारमा हजारौँ थरी विभिन्न भाषाभाषिका क्यासेटहरू आइसक्दा पनि हाम्रो भने आउन सकेको थिएन । यसले मलाई दुखाउनु चित्त दुखायो । म आफू सचेत तामाङ हुँ र गायक हुँ भन्न पनि लाज लाग्न थाल्यो- आफ्नो जाति, भाषा र संस्कृतिको एउटा एल्बमसम्म पनि बजारमा नदेख्दा । यसर्थ, मैले तामाङ एल्बम निकाल्ने सोँच बनाएँ । र, एल्बम निकालेँ ।’ उनको त्यो एल्बम धेरै चर्चा र बिक्रीवितरण भयो । तर उनले त्यसरी बिक्री वितरण र चर्चामा आउँछ भन्ने कहिल्यै सोचेका थिएनन् । ‘म जब रेकर्डको लागि स्टुडियोमा गएँ, तब स्टुडियोवालाले भने कि धत ! तामाङ क्यासेट पनि कहीँ बजारमा जान्छ र !’

त्यसबेला ‘हा हा.. भोटे भाषा !’ भन्दै तामाङ भाषाप्रति सबैले घृणा गर्दथे । यसरी आफ्नो भाषा जातिप्रति हेपेको देख्दा उनलाई लाग्नु दुःख लाग्यो । के गर्ने ? त्यसबेला उनले गम खाए । उनलाई रिस उठेर उधुम भयो । र, स्टुडियोवालाले पनि त्यस्तो व्यवहार देखाएपछि उनले चुनौतीका साथ भने, ‘लौ म सम्पूर्ण खर्च बेहोर्छु, तिमीले पर्दैन ।’ यसपछि बल्ल स्टुडियोवाला रेकर्ड गर्नको लागि तयार भए र रेकर्ड गरियो । बजारमा आउनासाथ त्यो क्यासेट १०-१२ हजार प्रति केही समयावधिमै फटाफट बिक्री भयो । यो देखेपछि स्टुडियोवालाले उनलाई सम्मानपूर्वक हेर्न थाले र पछिल्ला रेकर्डिङहरूमा त्यस्तो निचता कहिल्यै प्रकट गरेनन् । ‘हामी निराश हुनुहुन्न, निराश पार्न खोज्ने स्वयं निरासिनु पर्छ’ उनको भोगाइबाट दिएको शिक्षा हो यो ।

चन्द्रकुमार मोक्तानले तामाङ गीतहरू मात्र गाएका छैनन्, सेलो गीतहरू पनि गाएका छन् । ‘रोशी खोला सुनकोशी दोभान, जानै लाग्यो कलिलो जोवन’ जस्ता गीतहरूमा उनले आफ्नो सुरिलो कण्ठलाई प्रयोग गरिसकेका छन् । ‘चन्द्रकुमार, नेपाली लोकगीत गायक पनि हुन् ।’ उनलाई जान्ने बुझ्नेहरू यसै भन्छन् । उनको नेपालीमा गाउने सोच थिएन तर पनि स्वर परीक्षा पास गर्न नेपाली नै गाउनुपर्थ्यो । स्वर परीक्षामा पास नहुनेलाई हामीकहाँ हेय गायकको रूपमा हेर्ने गरिन्छ । ‘मलाई आफूमा भएको प्रतिभालाई किन कुन्ठित पारेर राखुँ त ? भन्ने लागेर नेपाली लोकगीतहरू पनि गाएको हुँ । तर म यस क्षेत्रमै लाग्छु भनेर चाहिँ होइन, मेरो ध्येय त तामाङ गीत गाउनु नै हो ।’ उनी भन्छन् ।

तामाङ गीतहरू अति नै प्रचलित थियो- गाउँघरमा । तामाङ गीत नघन्किएको सायदै वनपाखा हुन्नथ्यो । तर पनि विद्युत् सञ्चारदेखि पूर्ण दूर दुरीमा थिए, तामाङ गीत सङ्गीत त्यसबेला । जब चन्द्रकुमार मोक्तानले सुरुवात गरेको समय थियो, त्यो समयदेखि यो समयसम्म आइपुग्दा अहिले तामाङ गीत सङ्गीतले थुप्रै घुम्ती र कुइनेताहरू पार गरिसकेका छन् । आरोह अबरोहहरू पार गरिसकेका छन् । ‘मैले जुन समयमा गायन यात्रा सुरु गरेँ, त्यो समयदेखि यो समयसम्म आइपग्दा अहिले थुप्रै विकास भैसकेको छ हाम्रो गीत सङ्गीतको ।’ उनी भन्छन्, ‘म अहिले तामाङ गीत  सङ्गीतदेखि पूर्ण सन्तुष्टि छु । मैले गाउन सुरु गर्दा म एक्लो थिएँ । तर अहिले हजारौँ साथीहरू आफ्नो भाषा, संस्कृति र मौलिकतालाई बचाउन डटिरहनुभएको छ ।’

सङ्ख्यात्मक रूपमा तामाङ गीत सङ्गीतहरू सोचेभन्दा बढी विकास भए तापनि गुणात्मक रूपमा यसले अझै फड्को मार्न सकेको छैन । अरू भाषामा गीत सङ्गीतहरूले शिखर चुमीसक्दा पनि हाम्रा गीत सङ्गीतले किन त्यसरी विकास हुन सकेनन् त उनी भन्छन्- ‘अन्य भाषाका गीत सङ्गीत र शब्द रचना फरक फरक व्यक्तिहरूबाट सिर्जन्छन् । तर हाम्रो भाषामा त्यसको विकास भइसकेको छैन । जसले गाउने हो उसैले शब्द रचना गर्ने, सङ्गीत भर्ने र गाउने गर्नुपर्दछ । यस कारण हाम्रो गीत सङ्गीत र शब्द रचना सङ्ख्यात्मक रूपमा विकास भएर पनि गुणात्मक रूपमा कमजोर भएको हो । अब हामीले यसको विकासतर्फ ध्यान दिनुपर्छ । हामीले ध्यान पुर्‍याउन सकेनौँ भने तामाङ गीत सङ्गीतको लोकप्रीयतामा समेत आँच आउने छैन भनेर भन्न सकिन्न ।’

यसको अलवा हाम्रा गीत सङ्गीत कमजोर हुनुमा उनको यस्तो विचार छ- ‘हाम्रो गायकहरूमा पेशेवार गायक नभएर रहरले गाउनेको सङ्ख्यात्मकता छ । रहरले नै शब्द रचना गर्नेहरू छन् र सङ्गीत भर्नेहरूको स्थिति पनि त्यही हो । उनीहरूबाट नवीन सिर्जना हुन सकिरहेको छैन । नक्कल गर्ने परम्पराको मात्रा म बढी देख्छु । आफ्नो मौलिक एकदमै कम देख्छु । जसका कारण पनि स्तरीय गीत सङ्गीतको सिर्जना हुन सकिरहेको छैन ।’

चन्द्रकुमार मोक्तान

अब हामीले यी परिबन्धहरू नाघ्नुपर्ने समय आएको छ । तामाङ दाजुभाइ दिदीबहिनीहरूले गरिरहेको प्रयास निरन्तरता हुनुपर्दछ । यसोभएमा भोली सर्वोत्कृष्ट विकास हुने छ भन्ने मलाई लागेको छ । उनी भन्छन्- ‘म नयाँ पीढीप्रति आशावादी छु ।’

तामाङ सांगीतिक क्षेत्र यतिखेर व्यापक मात्रमा प्रचलनमा छ । प्रचलनमा मात्र होइन लोकप्रीयताको शिखरमा पनि छ । जो कोही मान्छे तामाङ भाषा नबुझ्नेले पनि तामाङ गीत सङ्गीत बजिरहेको सुन्यो भने एकछिन टक्क अडिन्छन् र त्यसको रस्वादन लिने गर्दछ । आहा ! उनीहरूको मनै फुरुङ्ग पार्छन् तामाङ गीत सङ्गीतले । यो परिवेशको निरन्तरता दिन हाम्रो दायित्वहरू के के हुन सक्दछ हामीले सोच्नुपर्ने बेला आएको छ । चन्द्रकुमार मोक्तान यसबारे आफ्नो धारणा यसरी व्यक्त गर्छन्- ‘अहिलेसम्म हाम्रो गीत सङ्गीतलाई जगेर्ना गर्नको निम्ति कुनै ठूलो संघसंस्था निर्माण भएको छैन । यसको जगेना, सम्वर्द्धन र संरक्षण गर्नुपर्छ भन्ने बारे पनि मान्छेहरूको ध्यान त्यति जान सकिरहेको छैन । अब हामीले यसतर्फ ध्यान पुर्‍याउनु पर्दछ । यसको निम्ति हालसालै तामाङ डाजाङ गठन भएको कुरा जानकारमा आएको छ । यसप्रति म अत्यन्तै खुशी एवं आभार प्रकट गर्दछु । यसको अलवा तामाङ गीत सङ्गीत र संस्कृतिको जगेर्ना, सम्वर्द्धन र संरक्षणको निम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तामाङ संस्था हो- तामाङ घेदुङ । तर घेदुङको सोच यति दुरगामी छ भन्ने देखिन्न । मलाई लाग्छ, घेदुङले समयमा नै यस दिशातर्फ आफ्नो कदम चाल्ने छ । चाल्नु पनि पर्दछ । यसो भयो भने हाम्रो गीत सङ्गीतले एक अविभावकीय छत्रछाया पाउने छ । विकासको गति झन् तीव्र रूपमा हुन्छ । र, गुणात्मक फड्को पनि मार्ने छ ।’

प्रारम्भमा भनिएझैँ चन्द्रकुमार मोक्तानको तामाङ गीति एवं सांगीतिक क्षेत्रका बृहस्पति नै हुन् । उनको लोकप्रीयतामाथि आजसम्म कसैले धावा बोल्न सकिरहेको छैन । यस्तो सफलता पाउनुको पछाडि थुप्रै कारणहरू छन् । ती कारणहरूमध्ये एक हो उनी कहिल्यै आर्थिक प्रलोभनमा बिकेनन्, लोभ, लालच, स्वार्थ र
सामूहिक फाइदाका महत्त्वकाक्षं वाहेक कहिले पनि व्यक्तिगत महत्त्वकांक्षमा लागेनन् । सधैभरी निरन्तर समाज, समाज र समाजलाई सेवा गर्न नै आफ्नो कर्तव्य ठाने । र, निरन्तर समाज सेवामा आफूलाई लिप्त बनाए । कर्तव्यपरायणबाट कहिले पनि विचलित नभएका अविचलनका प्रतीक चन्द्रकुमार आफू तामाङ गीत सङ्गीतका क्षेत्र बन्न पाएकोमा गर्वित छ । आफूले सकि नसकि निःस्वार्थपूर्वक तामाङ समाजको सेवा गर्न पाएकोमा खुशी छ ।

आफू तामाङ कलाकार हुन पाएकोमा उनको अनुभव यस्तो छ- ‘तामाङ भाषालाई सर्वातिर हेपिन्थ्यो । तामाङ जातिलाई घृणा गरिन्थ्यो । ‘गाई खाने भाषा’ भनेर हामीलाई उपेक्षा गर्ने गरिन्थ्यो । यस्तो देख्दा मलाई दुख्नु चित्त दुख्थ्यो । मैले यी सब कुरासँग संघर्ष गर्नुपर्‍यो । मैदानमा म एक्लै भए पनि निरन्तर डटी रहेँ । आज त्यसको परिणाम सुखदपूर्ण भयो । कसैले आँट्न नसकेको बेला मैले आँटेछु त्यो नै मेरो निम्ति जीवनको सबैभन्दा सुखद क्षणको अनुभूति भइरहेको छ । मैले बाटो देखाउने काम गरेँ । त्यो बाटोमा अहिले हजारौँ तामाङहरू अग्रसर भएर लागिरहेको छ । सबै तामाङहरूले आफ्नै संस्कृति, जाति, भाषालाई माया गर्नुपर्दछ भन्ने सन्देश फिजाउन सफल भएको छ ।’

(सन्दर्भ तामाङ एल्बम दिवस, साभार : तामाङ प्रतिभा१, २०५९ बाट)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका