विवादित छवि बनाएका हरिबहादुर तामाङ क्रोएसियाका लागी पर्यटन सद्भावना दूतमा नियुक्त भएको छ । नवनियुक्त नुवाकोटका तामाङ क्रोएसियामा विवादित छवि बनाइएका मध्य एक हुन् ।
नवनियुक्त पर्यटन दूत तामाङको क्रोएसियामा बस्ने ठेगानसमेत यकिन नभएको, नेपालबाट क्रोएसिया मान्छे ल्याएर बिचल्ली बनाउने, लगायत अन्य कारण विवादित रहेको यहाँस्थित संघसंस्था, बुद्धिजीवी र सामाजिक व्यक्तिहरूको भनाइ छ । सन् २०२३ मा पनि तामाङ क्रोएसियाका लागि नेपाली पर्यटन दूत नियुक्त भएका थिए । त्यो बेला उनको पद लगभग तीन महिनामै मन्त्रालयले खारेज गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विवादित तामाङलाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सद्भावना दूत नियुक्त गरेको हो । उनलाई सद्भावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट तामाङलाई सो पदमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
नियुक्तिपछि तामाङले क्रोएसियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्ने बताए । आफुले विभिन्न सामाजिक काम गरेकाले सरकारले जिम्मेवारी दिएको नवनियुक्त तामाङको भनाइ छ ।