चौरखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई फागुन २१ गते एक कार्यक्रमबिच खानेपानी ट्याङ्कीको हस्तान्तरण गरिएको छ ।
रसुवा जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर ४ चौरखर्कमा निर्माण सम्पन्न गरिएको ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीमध्ये पृतना हेड क्वाटरका पृतनापति उपरथी प्रदिपजंग केसी र विष्णु दल गणका गणपति विक्रम थापाबाट हस्तान्तरण गरेका हुन् ।
विष्णु दल गणका अनुसार नागरिक सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले स्थानीय बासिन्दाहरूको आवश्यकतालाई पहिचान गरी विभिन्न किसिमका जनहितका कार्यहरू आइरहेको अवस्थामा यसै आर्थिक वर्षामध्ये पृतना हेड क्वाटरको निर्देशन बमोजिम चौरखर्कमा खानेपानी ट्याङ्की निर्माण गरिएको हो ।
पुरानो तथा चुहावट भई खानेपानी सङ्कलन गर्न बाधा परेको र सङ्कलन भएको खानेपानी पर्याप्त नहुने हुँदा खानेपानीको समस्यालाई समाधान गर्न ट्याङ्की माघ ४ गतेबाट बनाउन सुरु गरी फागुन २१ गते विधिवत् रूपमा हस्तान्तरण गरिएको हो ।
१४ लाख १२ हजार ८ सय ३ रूपैयाँ २४ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । नेपाली सेनाले जनतासँग नेपाली सेनाको अवधारणालाई कार्यान्वयनका लागि गणको जिम्मेवारी क्षेत्रमा विभिन्न जनहितका कार्यहरू सम्पादन गर्दे आइरहेको छ । त्यसै अनुरूप नै सेनाले पानी ट्याङ्की निर्माण गरेका हुन् । यस वडा नम्बर ४ चौरखर्कमा ५० घरधुरी र २ सय ५० जनसङ्ख्या रहेका छन् । यिनै घरधुरिलाई पानी खान सहज भएको छ ।
झोभाने खोला र भालु खोलाको मुहानबाट उक्त नवनिर्मित ५० हजार लिटरको ट्याङ्कीमा जम्मा गरिन्छ । यो भन्दा पहिले २५ हजार लिटर मात्रै पानी अटने ट्याङ्की थियो । त्यही पनि जिर्ण अवस्थामा त्यही ट्याङ्कीलाई भत्काएर ५० हजार लिटर पानी अटने ट्याङ्की निर्माण भएपछि स्थानीयले सुखको अनुभूति गर्न पाए । त्यसका लागि नेपाली सेनालाई ह्रदयदेखि धन्यवाद दिँदै वडा नम्बर ४ का वडा अध्यक्ष अमर वुलुनले आगामी दिनहरूमा नेपाली सेनाको साथ र सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मध्य पृतना हेड क्वाटरका पृतना पति,नम्बर ६ बाहिनी अड्डाका बाहिनिपति, विष्णु दल गणका गणपति, उतरगया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चौरखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष, स्थानीय पदाधिकारी, बुद्धिजीवी तथा समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो ।