सुर्तीजन्य बट्टामा चेतावनीमूलक चित्र छाप्न आनाकानी

पत्रपत्रिका
काठमाडाैं

सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानूनी व्यवस्था चार वर्ष बित्दा पनि कार्यान्वयनमा आएको छैन । सुर्तीजन्य सेवन न्यूनीकरणका लागि जनचेतना फैलाउन गरिएको व्यवस्था कार्यान्वयनमा सरकार उदासीन देखिएको विज्ञहरूले आरोप लगाएका छन् ।

उनीहरूका अनुसार नेपालमा कुल जनसङ्ख्याको करिब ३१ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । यसबाट क्यान्सरलगायत रोग लागेर बर्सेनि २७ हजारको मृत्यु हुने गर्छ । सुर्तीजन्य पदार्थ मृत्युको यति ठुलो कारक हुँदा पनि कानूनी व्यवस्था कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको विज्ञहरू औंल्याउँछन् । उनीहरूका अनुसार उत्पादकहरूले सुर्तीजन्यको बट्टालाई आकर्षक विज्ञापनका रूपमा उपयोग गर्ने क्रम यथावत् छ । यस सम्बन्धमा रिसोर्स सेण्टर फर प्राइमरी हेल्थ केएर (रेस्फेक)ले बिहीबार गरेको राष्ट्रिय परामर्श बैठकमा विज्ञहरूले कानून कार्यान्वयनमा नआउनुमा सुर्तीजन्य पदार्थ उत्पादकहरूको चासोले समेत काम गरिरहेको बताए ।

‘कमजोर शासन व्यवस्थाले गर्दा सुर्तीजन्य पदार्थको बट्टाको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश, चित्र छाप्नुपर्ने व्यवस्था लागू भएको छैन,’ रेस्फेकका निर्देशक शान्तालाल मुल्मीले भने, ‘विश्वव्यापी रूपमै चुरोट, सुर्तीजन्य उत्पादक कम्पनीले आफ्नो उत्पादन विकाउन विभिन्न तरिकाले नदेखिने गरी हस्तक्षेप गर्दै आइरहेका छन्, हामीसमेत अछुतो छैनौं ।’

प्याकेटमा लेखिने चेतावनीमूलक चित्र–सन्देशले यसको अम्मलमा पर्न थालेका युवामा सकारात्मक प्रभाव परेको विभिन्न अध्ययनले देखाएका छन् । ‘यस्ता चित्रले किशोरहरूमा चुरोट उपयोग गर्ने सङ्ख्यामा कमी आएको छ,’ विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का नेपाल प्रतिनिधि डा. जोश भेण्डलरले ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन औंल्याउँदै भने । अस्ट्रेलियामा भएको अध्ययनले चुरोटको प्याकेटमा भयानक रोगसहितको ठुलो चित्रात्मक सन्देश राखिँदा खाइरहेकाहरू धेरैले खान छोड्ने र नखाएकाहरूले सुरु नै नगर्ने देखाएको छ । हाल सञ्चारमाध्यममा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्न नपाइने भएकाले उत्पादकहरूले बट्टालाई नै विज्ञापनका रूपमा प्रयोग गरिरहेको भेण्डलरले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया