‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
63 Shares
काठमाडौं‌

रामेछाप–काठमाडौँ पत्रकार समाजले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी गराएको छ ।

रामेछापबाट काठमाडौँ उपत्यकामा आएर विभिन्न पेशा र व्यवसायमा संलग्न तथा सङ्घ संस्थामा आबद्ध जिल्लावासीहरूलाई लक्षित गरी चैत १० र ११ गते प्रतियोगिता गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रूपमा रामेछाप जिल्लावासीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका लागि टिम दर्ता हुने क्रम सुरु भइसकेको रामेछाप काठमाडौँ पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए । ‘हामीले टिम दर्ता सुरु गरिसकेका छौँ । यो प्रतियोगिता मात्र नभई रामेछापवासीबिच आपसी सद्भाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरेका हौँ । यस पटक पनि रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौँ ।’ उनले भने,‘चैत ९ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ ।’ टिम दर्ता गराउँदा खेलाडीको नागरिकता र नागरिकताको फोटोकपी अनिवार्य आयोजकलाई उपलब्ध गराउनुपर्ने महासचिव पौडेलले जानकारी दिए ।

प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको टिम दर्ता संयोजक एवम् रामेछाप-पत्रकार समाजका सदस्य घनश्याम श्रेष्ठले जानकारी दिए । उनले भने,‘रामेछाप जिल्लाबाट काठमाडौँ उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । यस पटक पुरस्कार राशि पनि दोब्बर बनाएका छौँ ।’

पहिलो रामेछाप कप फुटसल प्रतियोगितामा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राई ब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै अनेरास्ववियुले उपाधि उचालेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै डाइनामिक यूथ तेस्रो भएको थियो । गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो । अघिल्लो संस्करणमा जिल्लाका २७ टोली सहभागी भएका थिए ।

रामेछाप–काठमाडौँ पत्रकार समाज रामेछापबाट काठमाडौँ उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरूको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका