बिर्ता समस्या समाधान गर्न स्थानीय तह समक्ष माग पत्र पेस

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
182 Shares
रसुवा

२०१६ सालमै कानुनी रूपमा उन्मुलन गरेको बिर्ता जग्गाको समस्या समाधान नभएकोले सो को समाधान गर्न कालिका गाउँपालिकामा माग पत्र पेस गरेर अनुरोध गरे ।

कालिका गाउँपालिका पूर्व उपाध्यक्ष तथा जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानी न्यौपानेले तत्कालीन राजाको हुकुमी शासनमा आसेपासेलाई वितरण गरिएको र जोतभोगको आधारमा बिर्ता समस्या समाधानको सहजीकरणका लागि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटालाई गाउँपालिकालाई लिखित ६ बुँदे माग पत्र पेस गरे ।

न्यौपानेले कानुनले समेत उन्मुलन गरेको प्रथालाई जालझेलको आधारमा जीवित राख्न मिल्छ भनेर प्रश्न गरेका थिए ।

पुस्तौँदेखिको बिर्ता समस्या गणतन्त्रमा उपहास भएकोले स्थानीय सरकारले नीतिगत रूपमा पहल लिएर समाधान गर्नुपर्ने बताए । कालिका गाउँपालिकाले आफ्ना नागरिकको समस्या सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर हल गर्नुपर्ने कालिका गाउँपालिका–२ की चित्रकुमारी न्यौपानेले बताइन् ।

भूमि आयोग सदस्य भुवन मगरले आयोगको कार्यादेशभित्र बिर्ता समस्या समाधान गर्न सक्ने अधिकार नभएको तर आयोगको जिम्मेवारी क्षेत्रभित्र पार्नको लागि आफूहरूले प्रयास गरिरहेको बताउँदै किसानको समस्या समाधानमा सहयोग र ऐक्यबद्धता जनाएका छन् ।

कालिका गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष पुष्पराज न्यौपानेले काठमाण्डौका दरबार र महलमा बसेर, शक्तिको आडमा किसानलाई ठगेर बनाइएका कागजका खोस्टासरहको लालपुर्जाको कुनै अर्थ नभएको र किसानको जग्गामा किसान बाहेक अरू कसैको हक नभएको भन्दै, कथित बिर्तावालाको दलाल बनेर, सामन्ती प्रथा र कानुनका धारा, उपधाराको बखान गरेर किसानको घाटी अठ्याउनेहरुलाई सचेत रहन चेतावनी दिएका छन् । राज्यले तुरुन्तै जोतभोगको आधारमा वास्तविक किसानलाई जमिनको एकल स्वामित्व दिनुपर्ने बताए ।

कालिका गाउँपालिका–३ का वडा अध्यक्ष फणीन्द्र न्यौपानेले आफूलाई बिर्ताको इतिहास र किसानको मर्काबारे जानकारी भएको र आफू जेल जान तयार रहने तर किसानलाई रुवाएर, कथित बिर्तावालको तिरो लिने वा उनीहरूलाई सहयोग पुग्ने कार्य नगर्ने बताएका छन् ।

कालिका गाउँपालिका २ का वडा अध्यक्ष उमेश न्यौपानेले वर्षैदेखि बिर्ता समस्या रहेकोले किसानहरू समस्यामा परेको हुँदा किसानलाई न्यायोचित हुने गरी समाधानको प्रयास गरिरहेको र समस्या बाकी राख्न नहुने र टुङ्ग्याउनुपर्ने बताएका छन् ।

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले आफू निर्वाचित भएदेखि नै बिर्ता, भूमिहीन, सुकुम्वासीको समस्या समाधानको प्रयास गर्ने बताएको र प्रयासरत रहेको बताएका छन् । गाउँपालिकाले १ महिना भित्र गाउँपालिकाभित्रको बिर्ता जग्गा जोतभोग गर्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने, बिर्ता समस्या समाधानको लागि आवश्यक कार्यहरूमा पहल लिने र सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । देवकोटाले जमिनको समस्या झनझन जटिल बन्दै गएकोले समाधानमा ढिलाइ गर्न नहुने बताउँदै कि सङ्घीय सरकारले आवश्यक परेमा नयाँ कानुन बनाएर भए पनि समाधान गर्नुपर्ने कि स्थानीय सरकारलाई जिम्मेवारी दिएमा १ महिनाभित्र समाधान गर्न सक्ने बताए ।

अध्यक्ष देवकोटाले किसानको रगतपसिनाले भिजेको र प्राकृतिक रूपमै किसानको भएको जग्गा पैसा तिरेर किन्न नसक्ने र नपर्ने, समाधानको लागि गाउँपालिका लाग्ने बताएका छन् ।

माग पत्र पेस पछि नेपाली काँग्रेस पाटी प्रतिनिधि ज्ञानु तामाङ, नेकपा एमाले प्रतिनिधि विष्णु देवकोटा, टिका देवकोटा, एकीकृत नेकपा माओवादी प्रतिनिधि, पुष्पराज न्यौपानेले किसानको माग जायज भएको र किसानहरूले जोतभोग गरिरहेको जग्गा बिनाशर्त किसानलाई दिनुपर्ने भन्दै जायज माग सम्बोधनको लागि सधैँ आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

पुस्तौँदेखिको समस्याको रूपमा रहेको बिर्ता सवालमा धेरै आन्दोलन तथा छलफल भएकोले अब कालिका गाउँपालिकाले जोतभोगको आधारमा जग्गाको स्वामित्व दिनुपर्ने कृष्णबहादुर मोक्तानले बताए ।

आफ्ना पुर्खाले जोत्दै आएको जमिन मोहीलाई थाहै नदिईकन मालपोत कार्यालयको मिलेमतोमा पास भएकोले जोतभोगको आधारमा पुर्जा दिनुपर्ने स्थानीय टंकलबहादुर नगरकोटीले बताए । उनले जोतभोग गर्दै आएको रोपनी जग्गा २०७० सालमा अर्कोलाई बेचबिखन भएको उनले बताए । उनले भने ‘म बसिरहेको घर पनि त्यहाँ छ तर उपभोग गर्न आउन सकेका छैनन् मैले जोत्दै आएको जग्गा र बसिरहेको घर कसरी बिक्री भो सरासर बदनियतपुर्ण छ, बदर हुनुपर्छ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका