सामुदायिक सेवा केन्द्रको परिचयात्मक कार्यक्रम सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं‌

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा उपत्यकाभित्रका २९ वटा सामुदायिक केन्द्रहरूको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार तामाङ कल्याण गुठीको सभा हलमा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिखेदेवलका अध्यक्ष एवं पूर्व एआइजीपि डा. गोविन्द थापाले सामुदायिक आवरण २०३९ बाट सुरु भएको बताए । उनले यसरी समुदाय र प्रहरीको संयुक्त प्रयासले केही अपराधिक घट्नाको न्यूनीकरण हुँदै गएको उल्लेख गरे ।

यस्तै बौद्ध सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष जयमङ्गल लामाले बिना बर्दी समाजलाई सुरक्षाको प्रत्याभूत गराउने दायित्व बोकेको बताए । अब उपत्यकामा सामुदायिक समन्वय परिषद् गठन गरेर सशक्त बनाउनुपर्ने उनले सुझाए ।

यसै गरी महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डेले समुदाय प्रहरी साझेदारीको नीतिगत कार्यान्वयन गराउनुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवराज लामाले उपत्यकाभित्रका केन्द्रहरू सामुदायिक एकीकृत गर्नुपर्ने बताए ।

बेलाबेलामा प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा जस्ता योजनाहरू आए, हराए । तर, सामुदायिक प्रहरी, जनतासँग साझेदारी योजना भने अहिले देशैभर फैलिएको छ । वि. सं. २०३९ सालमा प्रहरी प्रधान कार्यालयको अग्रसरतामा सुरु भएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम उपत्यकाभित्र २९ शाखाबाट सञ्चालित हुँदै आइरहेको छ ।

केन्द्रका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी भण्डारीले स्वागत र वरिष्ठ साहित्यकार देवी घिमिरेले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका