लुम्बिनीमा निर्माणाधीन विश्वशान्ति धामको मन्त्री तामाङद्वारा अवलोकन‚ सरकारले सहयोग गर्ने वचन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
रुपन्देही, लुम्बिनी

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन विश्वशान्ति धामको निर्माण स्थलमा संस्कृत‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भ्रमण गरेका छन्। शनिवारको एक विशेष भ्रमणमा विश्व शान्ति धाम निर्माणका अभिभावक श्याल्पातेन्जिन रिन्पोछेसङ्ग समेत भेट गरेका हुन्। गत मङ्सिर महिनामा मात्र जगमा ढुङ्गा बिछ्याउने कार्य सुरु गरेको धामको भवन निर्माण कार्य अगाडि बढिरहेका छन् । दैनिक सयौँको सङ्ख्यामा कामदारहरू कार्यरत रहेका छन् ।

विश्वकै प्रख्यात प्राविधिकहरूको निगरानीमा निर्माण भइरहेको धाम तीव्र गतिमा भइरहेको निर्माण कार्यप्रति मन्त्री तामाङले खुसी व्यक्त गरे।

अनुगमनका क्रममा मन्त्री तामाङले विश्व शान्ति केन्द्रको निर्माणाधीन भवनको अवस्थाबारे चासो राख्दै विश्वव्यापी शान्ति अभियानका लागि सुरु गरेको उक्त अभियान ज्यादै प्रशंसनीय रहेको बताए ।

विश्वमै एक मात्र शान्ति गन्तव्यको केन्द्र देश नेपाल र त्यो बुद्धको जन्मस्थल लुम्बिनी नै रहेको र बनाउनु पर्ने भन्दै रिन्पोछेले जोड दिए । सारा नेपाली यो अभियानमा जुनसुकै तवरले जोडिनुपर्नेमा समेत रिम्पोछेले अनुरोध गरेका छन् ।

भगवान् बुद्धले प्रतिपादन गरेको धर्मका लागि लालायित भएको भन्दै उनले यसबाट नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने समेत जानकारी गराए।

स्थलगत अवलोकनको क्रममा मन्त्री तामाङले यो एउटा भवनको संरचना मात्र नभै विश्वकै शान्तिको केन्द्र विन्दु बनाउनुपर्ने र यो कार्यमा नेपाल सरकार साथमा सधैँ रहने समेत वचन व्यक्त गरे।

उक्त भ्रमणमा लुम्बिनी विकास कोष उपाध्यक्षमा ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य लगायतको पनि उपस्थिति रह्यो।

तपाईको प्रतिक्रिया