सोक्लामा रक क्लाईम्विङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
266 Shares
दोलखा

चरिकोट । सोक्ला भ्यालीमा रक क्लाईम्विङ च्याम्पियन २०८० सम्पन्न भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज (एसटिडिएस) ले चैत्र ९ र १० गते आयोजना गरिएको सोक्ला रक क्लाईम्विङ भव्यताको साथ सम्पन्न भएको हो ।

भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) को प्राविधिक सहयोगमा रक क्लाईम्विङ भएको हो ।

दोलखाको साहसिक पर्यटन प्रवर्द्धनका लागि एसटिडिएसले विगतदेखि नै सोक्ला रक क्लाईम्विङ सम्बन्धी गतिविधि गर्दै आइरहेको छ ।

मोगानका अध्यक्ष सञ्जीव गुरुङ र सगरमाथा आरोही लाल बहादुर जिरेलले रक क्लाईम्वरहरुलाई प्राविधिक सहयोग गरेका थिए ।

जिल्लाका विद्यार्थी, युवा पुस्ता, स्काउट, त्रिपुरा स्काउट ट्रप्सको टिमले रक क्लाईम्विङमा सहभागी जनाएको थियो ।

त्रिपुरा स्काउट ट्रप्सका सिर्जना श्रेष्ठले सबैभन्दा कम समयमा रक क्लाईम्विङ गरेर महिला तर्फ प्रथम भएको आयोजकले जनाएको छ । श्रेष्ठले २ मिनेट ११ सेकेन्डमा २५ मिटर आरोहण गरेका थिए भने झर्दा २९ सेकेन्ड लगाएका थिए । यस्तै सक्सेस लामाले १ मिनेट ५२ सेकेन्डमा २५ मिटरमा आरोहण गर्दै पुरुष तर्फ प्रथम भएको थियो ।

यस्तै रोशन रसाइलीले २ मिनेट ३० सेकेन्डमा २५ मिनेट पार गरेका थिए ।

प्रथम भएकी श्रेष्ठले भनिन,‘मेरो लागि यो साहसिक गेम हो । रक क्लाइम्विङले मेरो आत्मविश्वास बढाएको छ। आशा छ भोलिको दिनमा दोलखाको साहसिक पर्यटन खेलमा जोड दिने छु ।’

दुई दिन भएको रक क्लाईम्विङमा ५० जनाले आरोहण गरेको कार्यक्रम संयोजक अर्जुन तामाङले जानकारी दिए ।

एसटिडिएसले गत जेठमा पनि सोक्ला रक क्लाइम्विङ महोत्सव आयोजना गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका