मिति २०८० चैत्र ०५ गते देखि ११ गतेसम्म मनाइएको ग्लोबल मनी विक (Global Money Week 2024) अभियान अन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
ग्लोबल मनी विक २०२४ को मुख्य नारा ‘Protect Your Money, Secure Your Future’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवा वर्गमा एक सप्ताहसम्म बैङ्कले विभिन्न शाखाहरू मार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरू आयोजना गरेको हो ।
सो कार्यक्रम अन्तर्गत बैङ्कका प्रादेशिक तथा क्लस्टर कार्यालयहरू अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरू मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ्ग, बैङ्क तथा वित्तीय संस्थाका मुख्य कार्यहरू, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरू, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितो पत्र बजार, विद्युतीय ठगी, ओटिपी सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी १० वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
बैङ्कले ग्लोबल मनी विक अवधि भर बैङ्कका सामाजिक सञ्जालहरूमा विभिन्न अडियो भिज्युवल सामग्रीहरू प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरू आयोजना गरी विभिन्न वित्तीय सूचनाहरू पनि प्रवाह गरेको छ ।
फलस्वरूप बैङ्कका यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने छ । त्यस्तै सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैङ्कको विश्वास रहेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक वर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन बैङ्क सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।
बैङ्कले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।