सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ भाषामा परीक्षा सञ्चालन

स्थानीय पाठ्यक्रम र भाषा नीति कार्यान्वयनमा ल्याएको पहिलो गाउँपालिका

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
343 Shares
सिन्धुली मरिण

सिन्धुलीको मरिण गाउँपालिकाको २५ वटा विद्यालयमा तामाङ भाषामा परीक्षा लिएको छ । शैक्षिक सत्र २०८० को अन्तिम वार्षिक परीक्षामा २५ विद्यालयका कक्षा १ मा अध्ययनरत २ सय ९५ जना बालबालिकाले तामाङ मातृभाषामा परीक्षा दिइएको मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले जानकारी दिए ।  

गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि स्थानीय विषयको रूपमा तामाङ मातृभाषाको विषय लागु गरेका थिए । मरिण गाउँपालिका ७ सय ५३ पालिकामध्ये स्थानीय पाठ्यक्रम र भाषा नीति पारित गरी कार्यान्वयनमा ल्याएको पहिलो गाउँपालिका पनि हो ।

सिन्धुली जिल्लाका ९ वटा पालिकामध्ये तामाङ भाषामा पठनपाठन गरी परीक्षा सञ्चालन गरेको पहिलो पालिका हो । पहिलो पटक तामाङ भाषामा सञ्चालन भएको परीक्षाको गाउँ कार्यपालिका सदस्य निरू मोक्तान, वडा सदस्य ज्ञानबहादुर वाइबा, नेपाल तामाङ घेदुङ मरिणका अध्यक्ष मोतीलाल गोले, उपाध्यक्ष अन्जु वाइबा लगायतले अनुगमन गरेका थिए ।

तामाङ मातृभाषाको विषयगत शिक्षक, नेपाल तामाङ घेदुङको संयोजनमा पालिका स्तरीय संयुक्त परीक्षा समितिले प्रश्न पत्र तयार गरी परीक्षा लिएको परीक्षा समितिका संयोजक तथा मरिण पालिका शिक्षा समितिका सदस्य तेजबहादुर गुर्मछानले बताए ।  

एक वर्ष अघि नेपाल तामाङ घेदुङको सहजीकरणमा भाषा आयोगको प्राविधिक सहयोगमा गाउँपालिकाले तामाङ मातृभाषा तामयिक लिपिको पाठ्यपुस्तक छपाई गरी शिक्षकहरूलाई शिक्षण सिकाइका लागि तालिम प्रदान गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।

मातृभाषामा शिक्षा पाउनु मातृभाषी समुदायका बालबालिकाको नैसर्गिक अधिकार हो । यो मानव अधिकारसँग सम्बन्धित विषय पनि हो । मातृभाषामा पठन–पाठनका लागि संविधान र कानुनमा कुनै बाधा नरहेकोले मात्र मातृभाषी समुदाय तयार हुनु पर्‍यो यसमा मरिण सरकार कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मरिण पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।

निरन्तरता स्वरूप शैक्षिक सत्र २०८१ बाट कक्षा २ मा तामाङ भाषा पठन–पाठनका लागि गाउँपालिकाले आवश्यक प्राविधिक तथा जनशक्ति तयारीको प्रक्रिया अगाडी बढाइएको समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया