सङ्ग्रहणीय पुस्तक नेपालका बौद्ध तीर्थस्थलहरु

काठमाडौं

नेपाल सदिऔ देखि ज्ञानभूमि, तपोभूमि र पुण्यभूमिको रुपमा रहँदै आएको छ । यसैको गर्तमा थुप्रै चाडपर्व, उत्सव र जात्रासँग सम्बन्धित मयावी लोककथन, जनविश्वास, लोकाख्यान, ऐतिहासिक दस्तवेजहरु मूर्त र अमूर्त सम्पदाको रुपमा हामीसँग सुरक्षित छन् । जसले मानव सभ्यतालाई बुन्दै वर्तमान पुस्तासँग जोडि दिएको छ । अझ पच्चीस सय वर्षभन्दा अघि नेपालकै पावन भूमि लुम्बिनीमा शाक्यमुनि भगवान् बुद्धको जन्मले यो भूमिलाई विश्वभर उज्यालो बनाएको छ । यसैको फेरोमा अंहिसा, शान्ति र परकल्याणको पर्याय सर्वज्ञ भगवान् बुद्धसँग जोडिएका तीर्थस्थलहरुलाई समेटेर लेखक तथा सम्पादक गेसे थुप्तेन शेरब (टासी थुण्डु शेर्पा) ले नेपालका बौद्ध तीर्थस्थलहरु (आलोक प्रदीप) भाग–१ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । पुस्तकलाई लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल बौद्ध महायान केन्द्र गुम्बाले सयुक्त रुपमा प्रकाशन गरेको हो ।

पुस्तकमा बुद्ध, बोधिसत्व र बज्रयानसँग सम्बन्धित तीर्थस्थलहरुलाई तीन भागमा विभाजन गरेर वर्णन गरिएको छ । पहिलो खण्डमा बुद्धसँग सम्बन्धित तीर्थस्थलहरुमा लुम्बिनी उद्यान, तिलौराकोट, कपिलवस्तु, क्रकुच्छन्द बुद्धको नगरी­- गोटीहवा, अरौराकोट, शुद्धोदन तथा मायादेवीको जोडी स्तूप, कुदानको न्याग्रोध विहार र रामग्राम स्तुपको विषयमा रहेर वयान गरिएको छ । दोस्रो खण्डमा बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरुमा स्वयम्भू चैत्य, शान्तिपुरी गन्धकुटी, मञ्जुश्री पर्वत, वसुवन्धु स्तूप, किन्डोल गृधकुट पर्वत, नागार्जुन पर्वत, बौद्ध स्तूप, नमोबुद्ध, चावहिल स्तूप, हिरण्य महाविहार, महाबौद्ध, मच्छिन्द्रनाथ र मीननाथ, अशोक स्तूप, विक्रमशील महाविहार, तारा मन्दिर, लोकेश्वर महाविहार आदि बारेमा सविस्तार चर्चा गरेका छन् । त्यसैगरी तेस्रो खण्डमा वज्रयान सम्बन्धित तीर्थस्थलहरु गुँ विहारको वज्रयोगिनी, नयाँ र पुरानो गुह्येश्वरी, विजयेश्वरीको आकाश, योगिनी, रामदोली श्मशान, इन्द्र वज्रवारही, फर्पिङ नगर, बोधि मुहान, गोदावरी, विश्वरुप, टुँडीखेलको महाकाल, चाँगुनारायणको चर्चा गरेका छन् । अन्तमा सन्दर्भ ग्रन्थसूचि र सम्बन्धित तीर्थस्थलमा पुग्न सकिने नक्सालाई पुस्तकमा अघि सारिएको छ ।

कुनै पनि तीर्थस्थल अहंमताको विर्सजन गर्ने पवित्र स्थल पनि हो । त्यस्तै अपराधीले पनि तीर्थस्थल अघि श्रद्धाले शिर झुक्ने गर्दछ । यो नेपाली समाजको विशेषता पनि हो । यसो हुनुमा तीर्थस्थलहरु र त्यससँग जोडिएका हाम्रा बलियो आस्था र विश्वास नै हुन । पुस्तकमा लेखकले बौद्ध इतर तीर्थस्थलहरु  र त्यससँग जोडिएका ऐतिहासिक पक्षहरुलाई उत्खनन गरेर दस्तावेजिकरण गर्ने महत्वपूर्ण कार्य गरेका छन् । पुस्तकमा सम्बन्धित तीर्थस्थलको वर्णन गर्ने क्रममा लेखकले तीर्थस्थलको परिचय, त्यसको उत्पति, इतिहास, प्रमाणिक दस्तावेज र क्रियाकलाप आदि शीर्षकमा रहेर विश्लेषणसहित ब्याख्या गरेका छन् । यसले पाठकलाई सम्बन्धित तीर्थस्थलको बारेमा यथेष्ट जानकारी लिन सहयोग पुग्ने देखिन्छ । त्यति मात्र होइन सम्बन्धित तीर्थस्थलको बारेमा थप अध्ययन र अनुसन्धान गर्न इच्छुक अध्येताहरुले यो पुस्तकलाई ह्याण्ड बुकको रुपमा प्रयोग गर्न सकिन्छ । यसैले पुस्तक सङ्ग्रहणीय बनेको छ ।

बुद्ध नेपालको पावन भूमि लुम्बिनी उद्यानमा जन्मनु भर्इ उनतिस वर्षसम्म कपिलवस्तु नगरमा विराजमान भएको प्रामाणिक दस्ताबेज त्रियानका शास्त्रहरुमा उल्लेख छ । यसको बारेमा सबैभन्दा पुरानो दस्ताबेज चिनियाँ यात्री फा–शेन्द्वारा रचित बौद्ध तीर्थ वृतान्त हो । त्यसैगरी यसको सबैभन्दा विश्वासिलो प्रमाण भनेको अशोक स्तम्भ हो । जसलाई सन् १८९६ मा उत्खनन गरेर निकालिएको थियो । यद्यपि विवादको विषयहरु बनिनै रह्यो । अन्ततः त्यससँग जोडिएका अशोक स्तम्भ र प्रामाणिक तथ्यहरुले बुद्धको जन्मभूमि लुम्बिनी भएको पुष्टि भइसकेको छ । यो हामी समस्त नेपालीको लागि गौरवको विषय हो । आज पनि कतिपया पुस्तकहरुमा बुद्धको जन्मभूमिको विषयमा गलत विवरण छ । त्यो पनि सच्चिने प्रक्रियामा देखिन्छ । पुस्तकले यी यावत विषयलाई स्थापित गर्न पनि सघाउने छ ।

महायानी बौद्ध धर्ममा बोधिसत्वको धर्म अभ्यास बोधिचित्तको उत्पति गरेपछि मात्र हुन्छ । सबै सत्व हितका लागि सम्यक् सम्बुद्ध बन्छु भन्ने सङ्कल्पले युक्त भएको चित्त नै बोधिचित्त हो । यो मैत्री र अपार करुणाले युक्त भएको हुन्छ । सम्यक् सम्बुद्धता प्राप्त गर्नका लागि बोधिचित्त नै बीज हो । यो बीज सबै सत्वमा हुन्छ तापनि यो बीज नजगाएसम्म यसले सम्बुद्धताको लागि कुनै काम गर्दैन । यो जागिसकेका व्यक्तिलाई नै बोधिसत्व भनिन्छ । यसर्थ पुस्तकले बोधिसत्वले गर्ने तिनै चार्यासँग सम्बन्धित तीर्थस्थलहरुको बारेमा पनि वर्णन गरेको छ । ति सबै तीर्थ तिथिसँग सम्बन्धित छन् । विशेष तिथिमा पूजाआजासहित बोधिसत्वको महिमा गाउने प्रचलन काठमाडौँ उपत्यकाभित्रका बोधिसत्वहरुसँग सम्बन्धित तीर्थस्थलमा अझै पनि कायमै रहेको छ । पुस्तकले त्यसभित्रको आयामहरुको बारेमा पनि छोटकरीमा व्याख्या गरेको छ । बौद्ध र गैरबौद्ध समेतको अत्यन्तै पूजनिय तीर्थस्थलहरु विशेष गरी बज्रयानसँग सम्बन्धित तीर्थस्थल रहेका छन् । तिनीहरुको ऐतिहासिकता र सांस्कृतिक पक्षलाई पनि पुस्तकले प्रष्ट्याउने कोसिस गरेको छ । जुन अत्यन्तै सरहानिय छ ।

नेपाली समाजमा तीर्थयात्रा गर्ने प्रचलन सदिऔं देखि नै छ । कठिन यात्रा गरेर भएपनि तीर्थस्थलसम्म पुग्ने र असीम श्रद्धाभावले पुज्दै पुण्यको सञ्चय हुन्छ भन्ने गहिरो विश्वास छ । यसले हामीमा भएका नकरात्मक पक्षहरुको विर्सजन हुने र मनमा शान्ति मिल्ने विश्वास गरिन्छ । यस अर्थमा पुस्तकलाई पछ्याउँदै गएमा थुप्रै बौद्धसँग सम्बन्धित तीर्थस्थल मात्र पुर्‍याउँदैन त्यसभित्रको तथ्यगत जानकारी पनि लिन सकिन्छ । यससँगै अन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा पनि पुस्तकले सहयोग पुर्‍याउँछ । अर्को कुरा लेखक स्वयम् महायानी बौद्ध परम्परासँग सम्बन्धित बौद्ध विद्धान भएकाले भोट अर्थात तिब्बती पक्षबाट नेपालमा रहेका बौद्ध तीर्थस्थलहरुको बारेमा सविस्तार चर्चा गरिएको छ । यो पुस्तकको महत्वपूर्ण पक्ष पनि हो । यति हुँदाहुँदै पुस्तकले बौद्ध तीर्थस्थलहरुको वर्णन गर्ने क्रममा ऐतिहासिक तथ्यलाई बढी जोड दिएको पाइन्छ । तर, काठमाडौँ उपत्यकाभित्र रहेका सम्बन्धित बौद्ध तीर्थसँग जोडिएको थुप्रै मिथक तथा जनश्रुति रहेका छन् । त्यसलाई पनि फुटनोटमा छोटकरीमा समेटिएको भए अझ राम्रो हुने थियो । किनभने त्यस स्थानमा पुस्तौ देखि बसोबास गर्दै आएको समुदायले सुन्दै आएको विवरणमा भावनात्मक रुपमा जोड्न यसले मद्दत पुग्ने थियो । यो कुरामा पुस्तक मौन देखिन्छ । अन्त्यमा, सबैजसो तीर्थस्थलहरु दान, धर्म र पुण्य सञ्चयसँग सम्बन्धित हुन्छन् । ति पवित्र तीर्थस्थलहरुको भ्रमण गर्नाले श्रद्धाभावको उत्पति र श्रद्धाको नविकरण मात्र होइन जीवनलाई आध्यात्मिक चिन्तनबाट अघि बढाउन पे्ररित गर्दछ । साथै सम्बन्धित तीर्थस्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न पुस्तकले सहयोग गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

तपाईको प्रतिक्रिया