हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
बरहथवा

प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठुलो परिमाण स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घर भई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट १० लाख रुपैयाँ र लक्ष्मी सनराइज बैङ्कको खातामा नौ लाख ९० हजार रुपैयाँ जम्मा गर्ने दुई वटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमा समेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७०रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, रुपैयाँ पाँच सय दरका छ सय २२ थान, रुपैयाँ एक सय दरका एक सय नौ थान, रुपैयाँ ५० को एक थान र रुपैयाँ २० को एक थान नेपाली नोट बरामद गरेको हो ।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरूले अवैध हुन्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरूलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहान मात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका