दशैंको शुभमकामना आदानप्रदान गर्दै राइनास साहित्य पदयात्रा सम्पन्न

सैलुङअनलाइन संम्वाददाता
लमजुङ
तस्बिर : जनक श्रेष्ठ

नेपाली हिन्दूहरुको महान चाड बडादशैंको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ आयोजना गरिएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैंको शुभकामना दिँदै पदयात्रा गरेको हो ।

फूलपाती अर्थात् शनिबारदेखि नगरपालिका ४ सातबिसे बजारबाट शुरु भई भलायोखर्क, राइनासकोट, तीनपीप्लेलगायत स्थान हुँदै सातबीसे बजारमा नै आएर आज साहित्य पदयात्रा टुङ्गिएको छ । सहभागी करीब ५० जनाले कविता, मुक्तक, गजल, गीतमार्फत दुई दिनसम्म नगरवासीको सुखशान्तिको कामना गरी नगरका १० वटै वडा परिक्रमा गरेका थियो । साहित्य पदयात्राका टोलीबाट नगरवासीलाई प्रत्यक्ष रुपमा दशैंको शुभकामना दिन र एक अर्का बीच शुभभावना साटासाट गर्नका लागि सहयोग पुगेको नगर प्रमुख सिंहबहादुर थापाले बताए ।

कलासाहित्यको जगेर्ना गर्दै दशैंको शुभकामना सन्देश दिनका लागि पदयात्रा आयोजना गरिएको सौभाग्यदेव पूर्वविद्यार्थी समाजका नवराज पौडेलले बताए । आगामी वर्षमा समेत यस्ता अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया