यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो ।
मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ ।
खैरहनी नगरपालिका वडा नं १२ का नवीनकुमार श्रेष्ठले एक बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको खुर्सानीमा यो रोगको सङ्क्रमण देखिएको छ । उनले भने “रोगका कारण फल नलाग्ने, बोटमा फूल नखेल्ने भएर समस्या भयो ।” रोगका कारण यसवर्ष उत्पादनमा पनि कमी आउने उनले बताए ।
खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेमा खुर्सानीखेती गर्दै आएका अर्जुन भुसालले यतिखेर खुर्सानीको बोट उखालेर फाल्न थालेको बताए । उनले भने, “अघिल्लो वर्ष वैशाखसम्म उत्पादन लिएको थिएँ । अहिले रोगका कारण समस्या भएर चाँडै नै फाल्नुपर्यो ।”
विगतमा एक कठ्ठामा ३२ क्विन्टलसम्म उत्पादन भएको खुर्सानी अहिले घटेर २२ क्विन्टल हाराहारीमात्रै सीमित भएको उनले बताए । फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको उनले गुनासो गरे । रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उनले बताए ।
व्यावसायिक कीट विकास फार्म भण्डाराकी वरिष्ठ बाली विकास अधिकृत पूर्णिमा क्षेत्रीले यो रोग लागेपछि उत्पादनमा ६० देखि ९० प्रतिशत गिरावट आउने बताए । उनले भने, “नेपालमा नै पहिलोपटक यो रोग देखिएको छ । यसलाई नियन्त्रण गर्न नसक्ने हो भने एक सय चार प्रकारका बोटबिरुवामा प्रभाव पार्ने देखिन्छ ।”
यस कीराले खुर्सानी, सिमी, भण्टा, मेवा, आलु, स्ट्रवेरीलगायतका बोटबिरुवामा आक्रमण धेरै गर्ने उनले बताए । यस कीराका कारण एक चौथाइसम्म उत्पादन घट्ने गरेको छ । जिल्लामा एक सय ६५ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिने गरेको उहाँले बताए । पूर्वी चितवनमा देखिएको यो समस्या अहिले जिल्लाभरि नै फैलिएको उनको भनाइ छ ।
प्लान्ट क्वारेन्टिइ तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत डा देवराज अधिकारीले कीराबाट बचावटका लागि बाली चक्र अपनाउनुपर्ने बताए । गर्मी समयमा गहिरो खनजोत गरी माटोमा रहेका थ्रिप्सका प्युपाहरूलाई नाश गर्ने, निरन्तर गोडमेल गर्ने, एकैपटक बाली लगाउने, चरणबद्ध रोपाइँ नगर्ने, नाइट्रोजन र फस्फोरस मलको साथै पोटासयुक्त मलखादको सन्तुलित मात्रामा प्रयोग गर्न उनले सुझाव दिए । यसैगरी कीराले क्षति गरेको पात, फलहरू सङ्कलन गरी नष्ट गर्ने, कीराबाट साह्रै आक्रान्त भएमा बोट उखाल्ने र जलाउने गर्नुपर्ने उनले बताए ।
स्प्रिङ्गलर सिँचाइ प्रणाली अपनाउने, मित्र कीराहरूको संरक्षण हुने गरी निमजन्य विषादी प्रयोग गर्ने गरेमा बाली जोगाउन सहज हुने उनले सुझाव दिए । रासायनिक विषादी प्रयोग गर्नुपरेमा प्राविधिकको परामर्शअनुसार मात्र काम गर्नुपर्ने उनको भनाइ थियो ।