एमाले झापाको अध्यक्षमा प्रेम गिरी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
झापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक टङ्क दङ्गालले आज घोषणा गर्नुभएको हो ।

पार्टीको उपाध्यक्षमा शिवकुमार ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दङ्गालले जानकारी दिए । उनका अनुसार जिल्लामा अधिवेशनबाट एक सय ४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।

पार्टीका झापा इञ्चार्ज तथा पोलिटब्यूरो सदस्य विशाल भट्टराईका अनुसार पदाधिकारी पाँच, १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसङ्ख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् ।

चयन भएको समितिलाई आजै शपथग्रहण गराइएको छ । उनले बाँकी १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने जानकारी दिए । एमाले अधिवेशनको उद्घाटन चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको थियो ।

तपाईको प्रतिक्रिया