हेटौँडामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
बागमती

बागमती प्रदेशको राजधानी हेटौँडामा सरकारीस्तरबाट गुणस्तरीय माछाका भुरा उत्पादनले यसको माग बढ्दै गएको छ । साथै यहाँ उत्पादित विभिन्न विकासे जातका माछाका भुराको बिक्रीसमेत बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रको कार्यालय हेटौँडाको पोखरीमा अत्यन्त सतर्कता तथा सुरक्षाका साथ विभिन्न जातका माछाका भुरा तथा माछा उत्पादित भई किसानलाई बिक्री भइरहेको छ ।

मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले राम्रो नश्लका सो भुरा खरिद गरी लैजाने गरेको त्यहाँका कर्मचारी तथा प्राविधिकले जनाएका छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालू आर्थिक वर्षको चैत १५ गतेसम्ममा एक करोड ५० लाख मसिनो ह्याचलिङ भुरा, १० लाख फ्राई भुरा तथा तीन लाख फिङ्लिङ भुरा बिक्री गरिएको तथा उक्त भुराको बिक्रीबापत रु सात लाख राजस्वसमेत सङ्कलन भएको जनाइएको छ । आउँदो तीन महिनामा थप अझै माछाका भुरा बिक्री हुने अनुमान गरिएको छ ।

यसअघि उक्त कार्यालयबाट गत आर्थिक वर्ष चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरिएको थियो । कार्यालय प्रमुख सरोज यादवका अनुसार विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि गत आर्थिक वर्षदेखि माछा र भुराको उत्पादनमा वृद्धि भएको बताइएको छ । त्यसका लागि कार्यालयमा भएका पोखरीको मर्मत तथा सुधार गरिएको छ ।

प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणको कामलाई निरन्तरता दिइएको बताए । सो कार्यालयको हातामा रहेको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गदै आएको सो कार्यालयले हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दी जातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीवितरणका क्रममा रहेको छ ।

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा रहु, नैनी, माकुर तथा विदेशी माछा कमनकार्प, सिल्भरकार्प, बिगहेडकार्प, ग्रप्सकार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्रीवितरण गरिएको छ ।

गत आर्थिक वर्षमा सो कार्यालयले रु ३१ लाखभन्दा बढी रकमका माछा र भूरा वितरण गरेको छ । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठ जीर्ण अवस्थामा रहेका पोखरीको मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताए ।

मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना तथा लिभफिस म्युजियमको स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख यादवले बताए । आर्थिक वर्ष २०७५÷७६ देखि राप्ती नदी, श्यार्फुताल, वाग्मती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी कर्णाली नदी र बेगनाश ताललगायतका नदी तथा तालमा माछाको विविधता जाँच तथा अभिलेख राखिएको छ ।

त्यसबाट ४५ प्रजातिका माछा नमुना सङ्कलन गरिनुका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ । ग्रासकार्प माछाको आहारका रुपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस नेपियर वर्षीम, केरा, सुडान र जै घाँस आदिको तुलनात्मक अध्ययन भइरहको छ ।

जलीय विविधता एवं प्रवद्र्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोलानालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठीसभालगायका कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।

काठमाडौँ तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उदेश्यले २०२४ सालमा स्थापित सो कार्यालयको समयसापेक्ष काम र नाममा परिवर्तन हुँदै आएको छ । सो कार्यालयअन्तर्गत ४७ दशमलव शून्य नौ हेक्टर क्षेत्रफलमा माछा पोखरी छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका