सुदूरपश्चिमेली समाज क्रोएसिया भलिबल प्रतियोगिता: विजेता बने भराजदिन

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
238 Shares
क्रोएसिया

क्रोएसियाको भराजदिन कोका नेपाली भलिबल टोलीले दुईदिने खुला भलिबल प्रतियोगिताको विजेता बनेको छ । भराजदिनले जाग्रेबस्थित रहेका काठमाडौँ मार्टका भलिबल टोलीलाई पराजित गर्दै विजेता बनेको हो ।

आइतबार भएको फाइनल खेलमा भराजदिनले काठमाडौँ मार्टलाई सोझो सेटमा पराजित गरेको थियो । सुदूरपश्चिमेली समाज क्रोएसियाद्वारा आयोजित खुला भलिबल प्रतियोगिताको तृतीय स्थानमा भने आयोजक स्वयं भएको छ ।

प्रतियोगिताका विजेता, उपविजेता र तृतीय भएकालाई कार्यक्रमका प्रमुख अतिथि एनआरएनए क्रोएसियाका अध्यक्ष साइमान लामाले शिल्ड,मेडल, प्रमाणपत्र वितरण गरेको थियो । प्रमुख अतिथि लामाले प्रतियोगिताका सहयोगीहरूलाई सम्मान पत्र समेत हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि क्रोएसिया एनआरएनका अध्यक्ष लामाले सुदूरपश्चिमेली समाज क्रोएसियाले खेलकुद जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिए । खेलकुदले यहाँ कार्यरत नेपालीहरुलाई मानसिक तनाव कम गराई मनोबल बढाउने उनको भनाइ थियो ।

प्रतियोगिताको खेल जाग्रेब भलिबल सङ्घको जरुनस्कास्थित (jarunska 5,zagreb) खेलमैदानमा भएको थियो । प्रतियोगितामा आयोजक ए, बी, भराजदिन कोको ए, बी, ब्लु ह्यामार ए,बी, काठमाडौँ मार्ट,मोना क्रोएसिया, टिम गण्डकी, सगरमाथा (MT. 8848) र इएलडब्लू (ELW) गरी ११ टिम सहभागी थिए ।

कार्यक्रमका मुख्य प्रायोजक हिमालयन करी रहेकाछन् । त्यस्तै सहप्रायोजक एभरेष्ट टुर्स, एड्रायटिक एम्पोलाइमेन्ट रहेको थियो । प्रायोजक भने हाम्रो कफी बार, काठमाडौं मार्ट, बुद्ध मार्ट, साभोर्या स्टोर, योञ्जन ट्राभल एण्ड टुर, आकृति कलेक्सन, काठमाडौं लाइभका रहेका छन् । त्यसैगरी गैर आवासीय नेपाली संघ क्रोएसिया, मोना क्रोएसिया, जाग्रेब भलिबल संघ लगायतले भने सहयोग गरेका हुन् ।

नयाँ वर्ष र अन्तर्राष्ट्रिय शान्ति एवं विकासका खेलकुद दिवस पारेर आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ सय ५ युरो उपविजेताले ४ सय ५ युरो र तृतीयले २ सय ५० युरो नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका थिए ।

भलिबल प्रतियोगिताले क्रोएसियामा रहेका नेपालीहरूबिच प्रगाढ सम्बन्ध बढाउने समाजले दाबी गरेका छन् । समाजले यसअघि गौरा पर्व मनाएको, क्रोएसियामा मृत्यु भएका मिनिसिह डडालको परिवारलाई गरेका ९ लाख ३३ हजार रुपैयाँ सङ्कलन गरेको र काम नपाएर बसेकाहरूलाई सहजीकरण गरिँदै आइरहेका छन् ।

औपचारिक रूपमा पहिलो पटक भलिबल खेलको आयोजना भएको समाजका प्रमुख सल्लाहकार सुनिल बमको दाबी छ । प्रमुख सल्लाहकार बमका अनुसार जाग्रेबस्थित भलिबल सङ्घले ग्राउन्ड उपलब्ध गराएका हुन् । ग्राउन्ड लगायत अन्य सहयोगका लागि प्रमुख सल्लाहकार बमले जाग्रेब भलिबल सङ्घसँग सहकार्य गरेका हुन् ।

अस्ट्रियामा रहेका नेपाली दूतावासले हेरिरहेका क्रोएसियामा सिजन भिसा, कामदार भिसा, पारिवारिक भिसा गरी झन्डै २३ हजारभन्दा धेरै नेपालीहरू रहेको क्रोएसिया पुलिससँगै डाटा छन् । पछिल्ला वर्ष व्यक्तिगत भिसाबाट नेपाली ल्याउनेमा क्रोएसिया पहिलो नम्बरमा पर्छन् ।

तपाईको प्रतिक्रिया