बछौलीमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना

सैलुङअनलाइन संम्वाददाता
भरतपुर, चितवन

चितवनको रत्ननगर नगरपालिका- ६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो ।

संग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा संग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन ।
लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गरे । अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १६१ रुपैयाँ सहयोग गरेको थियो । यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट १० लाख रुपैयाँ, साविक बछौली गाविस (रनपा वडा नं. ५, ६ र ७ बाट चार लाख रुपैयाँ, थारु सांस्कृतिक संग्रहालयको आन्तरिक स्रोतबाट पाँच लाख रुपैयाँ, स्वयंमसेवी विद्यार्थी फ्रान्सबाट दुई लाख रुपैयाँ र अन्य संघसंस्थाबाट सहयोग प्राप्त भएको संग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिए ।

कार्यक्रममा थारु सांस्कृतिक संग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका सभापति रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चितवनको पर्यटन थारु समुदायसँग जोडिएकोले थारु संस्कृति जोगाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा थारु सांस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले थारु समुदायको बारेमा चासो राख्ने र अनुसन्धान गर्नेका लागि अनुसन्धान केन्द्र सहयोगी बन्ने बताए ।

बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक संग्रहालयको स्थापना भएको थियो । अहिले यो संग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक संग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।

कार्यक्रममा नेपाल जर्मन फ्रेण्डसिपका अध्यक्ष तथा एनआरएनएका पूर्वउपाध्यक्ष रामप्रताप थापा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख रामकुमार अर्याल, रनपा ५ का वडाध्यक्ष कृष्ण महतो, थारु कल्याणकारिणीसभाका पूर्वकेन्द्रीय सदस्य, थारु संग्रहालयका सल्लाहकार सत्यनाराण चौधरी, संग्रहालयका संरक्षक वासु चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया