तामाङ को–अप्रेशन सोसाइटी अफ क्यालिफोर्निया परिवारले क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्क्को बे एरियामा आफ्नै संस्थाको लागि जमिन र घर जोडेको छ ।
एक एकड अर्थात् नेपाली ८ रोपनी क्षेत्रफलमा फैलिएको सो जमिनमा तामाङ सांस्कृतिक सामुदायिक केन्द्र निर्माण गर्ने संस्थाले जनाएको छ । पदाधिकारीहरुले आफ्नो संस्थाले जमिन र घर जोड्न पाएकोमा खुशी व्यक्त गरेको छन् ।
‘आजको ऐतिहासिक दिनको सफलताको श्रेय तपाई सम्पूर्ण चन्दा दाताहरु, तामाङ समुदाय, पूर्व अध्यक्षज्यूहरु, संस्थापकज्यूहरु, वर्तमान कार्य समितिका पदधिकारी र सल्लाहकारज्यूहरुलाई दिन चाहन्छु’ संस्थाका अध्यक्ष सुरज पाख्रिनले भनेको छन् ।
खुशी व्यक्त गर्दै संस्थाका महासचिव ग्याल्पो योन्जनले भनेका छन्, ‘आफू, आफ्नो परिवार, जाति, धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि अप्रवासमा पनि तामाङहरुले पहिलोपल्ट सांस्कृतिक केन्द्र स्थापनाको लागि जमिन र घर जोड्न सकेकोमा हामी सबै नेपाली र तामाङ जातिसँग खुशी साट्न चाहन्छौं ।’
संस्थाका अनुसार यो जमिनमा बन्ने सांस्कृतिक केन्द्र तामाङ जातिका साथै नेपाली र स्थानीय समुदायको लागि सधैं खुल्ला रहने जनाईएको छ ।
सन् २०१० मा स्थापना भएको यस संस्थाका हालका कार्यसमितिले आफ्नो योजना सफल हुने वित्तिकै संस्थापक र यसअघिका कार्यसमिति पदाधिकारीहरुलाई सम्मान व्यक्त गरेका छन् । स्थापना कालदेखि हालसम्म रतु लामा, प्रकाश लामा, कुमार दोङ्, प्रेम लामा दोङ, शेरबहादुर लामा अध्यक्ष रहिसकेका छन् । साथै संस्थापक सदस्यहरु राजेन्द्र लामा पाख्रिन, विद्यासागर योन्जन, ज्ञानदीप लामालाई पनि सम्मान व्यक्त गरेको छ ।
कार्यसमिति बाहिर रहेर पनि निरन्तर संस्थालाई सहयोग गर्ने व्यक्तिहरु ज्ञान लोप्चन, बुद्धिमान तामाङ, बिजय लामा, आनि याङ्जि लामा, रेनु लामा योन्जन, कल्पना लामा, पार्वती लामा थोकर, सरिता स्याङ्बो, सुनिता लामा, फुलम योन्जन, निराज लामालाई संस्थाले धन्यवाद ज्ञापान गरेको छ । यस्तैगरी, निना लामा, सन्तोष ब्लोन, डिएस लामा, तिर्थ दोङ, बुद्ध लो तामाङ, राजेश मोक्तान गोबिन लोप्चन, श्रद्धा मोक्तान, रविश वाईबालाई पनि धन्यवाद ज्ञापान गरेको छ ।
जमिन र घर खरिद गर्नको लागि ठूलो आर्थिक सहयोग गर्ने साइतमान तामाङ, निरु राई, माइली दोङ, सन्दिप के.सी., मनिश थापा, पल मोक्तानलाई संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ ।