विषय प्रवेश
महायानी सम्प्रदायको निङमापा शाखाका बौद्ध धर्मावलम्बी तामाङ जातिको सांस्कृतिक अध्ययन गर्दा हरेक पूर्णिमाको दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव वा पूजा परेको पाइन्छ । यस्ता थुप्रै चाडपर्व, उत्सव वा पूजामध्ये तामाङ समुदायले परम्परागत रुपमा प्राचीनकालदेखि मनाउँदै आइरहेको एउटा प्रमुख पर्व हो तेमालजात्रा ।
जात्रा प्रारम्भ र अन्त्य
तेमाल जात्रा दुई दिने जात्रा हो । त्यसैले चैत्र पूर्णिमाको अधिल्लो दिन यस जात्रा बौद्ध स्तूपमा सूर्यास्त भएपछि आकाशमा पूर्ण चन्द्र देखिए शुरु हुन्छ । भोलीपल्ट चैत्र पूर्णिमाको दिनमा सूर्यदयोसँगसँगै यस जात्रा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्णचन्द्र देखिए पछि समाप्त हुने प्राचीन परम्परा छ ।
तेमाल जात्राको नामाकरण
चैत्र पूर्णिमाको दिनमा बौद्ध स्तुप, नार्गाजून स्तुप, बालाजुको २२ धारा र स्वयम्भू चैत्यमा एकीकृत रुपमा तीर्थाटन र दीप प्रज्वलित गरेर लाग्ने यस जात्राको नामाकरण भने तेमाल जात्रा भनेर प्रचलनमा आएको छ । यसो हुनुमा काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी भेग तेमालका भेगका तामाङहरुको यस जात्रामा हुने अत्याधिक सहभागीता हुनुलाई लिन नै सकिन्छ । यसका साथै जात्राको नाम तेमाल रहनुको अन्य कारणहरु पनि रहेका छन । जसमा अन्य भेगको तुलनामा तेमाल भेगका तामाङहरु अरनिको राजमार्ग बन्नुभन्दा पहिला यस जात्रा मनाउन आउँदा सल्लाको खोटो अर्थात् म्हेदाङ बाल्दै रातारात भर हिँडेर आउने गर्दथे रे । यसरी जात्रामा आउने तेमाले पुरुषहरुले आफूले वर्षभरि कमाएको धन खर्च गर्दथे रे भने महिलाहरु जात्रामा आउँदा बाटोधाटा पर्ने बनेपा र भक्तपुरजस्ता प्राचीन शहरमा आफ्ना सुनका गरगहनामा पाइन हाल्दै आउँथे रे । जसका कारण यस जात्राप्रति तेमाले तामाङहरुको रौस, सद्भाव, लगाव नै होला देखेर जात्रा हुने बौद्ध र स्वयम्भू क्षेत्रका तामाङ वा गैह्र तामाङहरुले यस जात्राको नाम नै तेमालका तामाङहरुको जात्रा रहेछ भनेर भन्दाभन्दै रहन गएको हो भनिन्छ । वास्तवमा चैत्र पूर्णिमाको दिन लाग्ने यस जात्राको नाम बौद्ध स्तुपमा लाग्दा बौद्ध जात्रा, नागर्जुन स्तुपमा लाग्दा नागर्जुन जात्रा, बालाजू २२ धारामा लाग्दा २२ धारा जात्रा र स्वयम्भू महास्तुपमा लाग्दा स्वयम्भू जात्रा हुनु पर्ने हो । तर तामाङहरुले नै समग्रमा यस जात्रालाई तेमाल जात्रा भनेर सम्बोधन गरेर गर्व गर्ने गर्दछन् ।
तेमालको इतिहास
काभ्रेपलाञ्चोकको दक्षिण पूर्वी भेगमा तेमाल पर्दछ । तेमाल तामाङहरुको धार्मिक, सांस्कृतिक र ऐतिहासिक थलो हो ।
धार्मिक दृष्टिकोणले हेर्दा तेमालमा भारतको उडिसाबाट नेपाल हुँदै तिब्बतमा बौद्ध धर्म स्थापना गर्न हिडेका वखत गुरु पद्मसम्भवले केही समय तिमाल (याङ्वेल) मा बसेर तप गर्नु भएको थियो । सोही कारण गुरु पद्मसम्भवले तेमालमा रहँदा बौद्ध धर्मको ज्ञानका नीधिहरु गुप्त रुपमा राख्नु भएको थियो । सोही कारण तेमाल क्षेत्रलाई तेरमाल भनिन्थ्यो । वास्तवमा यही तेरमाल शब्द नै अपभ्रश भएर तेमाल भएको हो भन्ने तेमाल क्षेत्रका तामाङहरुको विश्वास रहेको छ ।
सांस्कृतिक दृष्टिकोणले हेर्दा तेमाल मौलिक तामाङ संस्कृतिको उद्गम स्थलमात्र नभई तामाङ संस्कृतिको अभ्यास भएको थलो हो । जसका कारण नेपाल,भारतका साथै विश्वका जुनसुकै देशमा रहेका तामाङहरु आफ्नो तामाङ संस्कृति भूले तेमालमा सोध्न जानु पर्दछ भन्ने कहावत नै छ तामाङ समाजमा ।
ऐतिहासिक दृष्टिकोणले हेर्दा तेमाल भेग तामाङ जातिका अन्तिम राजा रेन्जिन दोर्जे बलले राज्य सञ्चालन गरेको स्थल पनि हो । तेमाल बि.सं. १८१९ असोज २ गते मङ्गलबार दिन गोर्खा राज्यको विस्तारको क्रममा गाभिनु पूर्व स्वतन्त्र राज्य रहेको थियो भन्ने इतिहास छ । जहाँ राजा रेञ्जिन दोर्जे बल नामक तामाङ राजाले स्वशासन चलाउथे भन्ने तेमालका तामाङहरुको भनाई रहेको छ । गोर्खाली सेनाले मकवानपुर राज्य सर गरेपछि पटक पटक युद्ध गर्दा समेत तेमाल राज्यलाई कब्जामा लिन नसकेपछि गोर्खाका खस/क्षेत्रिय सेनाले हाम्रा तेमालका तामाङ राजा रेन्जिनलाई सुनकोशीको तिरमा मितेरी लगाई सन्धि सम्झौता गर्ने निहुँमा निशस्त्र रुपमा बोलाएर षडयन्त्रपूर्वक मारेका थिए । गोर्खाली खस सेनाले षडयन्त्र गर्न बार्ता गर्ने दिनभन्दा एक दिन अघि नै बगरमा हातहतियारहरु लुकाएर राखेका थिए रे भनिन्छ । लामो बार्ता हुँदा पनि कुराकानी नमिलेपछि खस सेनाले बालुवामा लुकाएको हतियार झिकेर तामाङ राजा रेन्जिन दोर्जेको टाउको काटेर हत्या विभत्स रुपमा हत्या गरेर सुनकोशीमा फालिदिएका थिए । जहाँ रेन्जिनको काटिएको टाउको घुमिरहेको थियो । आफ्ना पतिको हत्याको खबर सुनेर रेन्जिनको जेठी धर्मरानी विह्वल भएर सोही सुनकोशी नदीमा आउँदा पतिको सीर नदीमा घुमिरहेको देखेर सोही ठाउँमा हाम फालेर आत्महत्या गरेकी थिइन । जसलाई आज पनि रानी दह भनेर भन्ने गरिएको छ ।
माथि उल्लेखित यस मौखिक कथनरुपी घटनालाई नेपालको इतिहास लेखनका ऐतिहासिक सामग्रीहरुसँग भिडाएर हेर्दा गोरर्खाका राजा पृथ्वीनारायण शाहका केही चिट्ठीपत्र, हस्तलिखित वंशावली र विद्वानहरुले लेखेका पृथ्वी गाथाहरुमा तेमालसम्बन्धी केही विवरणहरु पाइन्छ । जसमध्ये एउटा सामग्रीमा यस्तो विवरण लेखिएको छ :
“…तिमाल फत्ये गर्न मन्त्री वर्र्गसित सल्लाह गरे ।सोही सल्लाह भोलीका दिनमा सर्दार दलजित् शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबूढा, रामकृष्ण कुँवरप्रभृति नजिकी द्वार्या, उमराउ, थरघर, भलामानिससमेतको एक टुकडी फौज निर्माण गरेर विदा गर्नु भयो । सोही लश्कर लिई भाइभारदारले तिमाल कोट हान्याको र तिमाल कोट हान्दा ३०० गिंड पर्या…”
(भाषा वंशावली)
यसबाट पति तेमालमा गोर्खाली सेना र तेमाले सेना बीचमा ठूलो लडाइँ चलेको प्रष्ट हुन्छ ।
त्यस्तै अर्को एक पृथ्वीनारायण शाहले आफ्ना सेना नायक सरदार रामकृष्ण कुँवरलाई लेखेको पत्रमा उनका भाइ अमरसिंह कुँवरको मृत्य भएको उल्लेख छ । जसमा यस्तो व्यहोरा लेखिएको छ ः
“…किरात फत्ते गर्न तिम्रै भर परेको छु । काँलु पाँडे मारिदा साह्रै दुःखी भएको थिए । यति खेर मलाई तिम्रै बुद्धि र तरबारको भर रहेको छ । धुलीखेलमा जस्तै सिम्बुमा जग्गा दिन्छु । तिम्रो भाइ तिमालमा मारिएकामा म धेरै दुःखी छु । …आश्रिवन वदि ५ रोज ४ संवत् १८२०…”
(पृथ्वीपत्र सङ्ग्रह)
त्यसै गरी एउटा गोर्खाली वीर गाथामा तेमालको विषयमा यस्तो व्यहोरा उल्लेख गरिएको पाइन्छ ।
“…संवत् १८१९ आश्रिवनवदि…रोज ३ तिमालकोट अब्बल…”
(त्रिरत्न सौन्दर्य गाथा)
तेमाल राज्यको अध्ययन अनुसन्धानका सिलसिलामा गोर्खाका राजा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवर लगायतलाई तिमाल कब्जा गर्न थुप्रै चिट्ठी पत्रहरुका साथमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले दिएका ताम्रपत्र पनि भेटिएका छन् । जसको प्रकाशन र व्याख्या पछि विस्तार विस्तार गर्दै गरौला । स्मरण रहोस् माथि उल्लेखित र हालसम्म यस लेखकले अनुसन्धानको क्रममा प्राप्त ऐतिहासिक सामग्रीहरुमा तेमाल भनेर उल्लेख भएको पाइएको छैन । जताततै ऐतिहासिक सामग्रीमा तिमाल, कोट तिमाल भनेर भनेर उल्लेख गरिएका छन् ।
यस आलेखमा माथि उल्लेख गरिएका पत्रबाट पनि तेमाल-गोर्खा युद्धमा सरदार रामकृष्ण कुँवरसहित उनका दुई भाइ जयकृष्ण कुँवर र अमरसिंह कुँवर पनि संलग्न थिए । युद्ध कै क्रममा रामकृष्ण कुँवरका प्रिय भाइ अमरसिंह कुँवर तेमाले तामाङ सेनाबाट विभत्स रुपमा मारिएका थिए । आफ्ना प्रिय भाइ तेमाल युद्धमा मारिएको, तर लास भने तेमालमा नै रहेको र सद्गद गर्न पलाञ्चोकमा ल्याउन नसकिएकोले रामकृष्ण कुँवर दुखी, पीडित र चिन्तामा परेका थिए । जसका कारण तेमालका राजा रेन्जिनलाई आफ्नो कब्जामा रहेको तेमाल ब्यासीका खेतहरु दिने र जसको वदलामा तेमालेहरुले गोर्खालीहरुलाई रामकृष्ण कुँवरका भाइ अमरसिंह कुँवरको लास बुझाउने शर्तमा सुनकोशी नदीको किनारमा बिना हातहतियार सन्धी सम्झौता गर्न तेमाले राजालाई वि.सं. १८१९ अशोज २ गते मङ्गलबार बोलाइएका थिए । यसै क्रममा माथि भनिए झै गोर्खाली खस सेनाहरुले एक दिन अघि नै सुनकोशीको बगरमा हातहतियार लुकाएर राखेका थिए भने सोझा, इमान्दार एवम् शान्तिप्रिय बौद्ध धर्मावलम्बी तेमालका तामाङ राजा रेन्जिन दोर्जे आफ्ना तीन भाइ र केही सेनाका टुकडीका साथ बिनाहातहतियार सुनकोशीको बगरमा आइपुगेका थिए । जहाँ दुवै पक्षबीच बार्ता भए पनि कुराकानी भने मिल्न नसकेपछि खस सेना रामकृष्ण कुँवरको निर्देशनमा र गोर्खाली सेनाले रेन्जिन दोर्जे र उनका साथ आएका तामाङ सेनाहरुलाई बालुवामा लुकाएर राखेका हात हतियारमध्ये तरवारले टाउको काटेर हत्या गरेर मारि सुनकोशीमा फालिदिएर तामाङ तेमाल राज्य माथि कब्जा जमाएका थिए ।
तामाङ राजा रेन्जिनको नाममा दीप प्रज्वलित गर्ने परम्परा
यसरी गोर्खाली सेनाको षडयन्त्रमा मृत्यु वरण गरेका तेमालका अन्तिम तामाङ राजा रेन्जिन दोर्जेको मुक्तिका लागि उनका परिवार र तेमालवासी तामाङहरु वि.सं. १८१९ चैत्र पूर्णिमाको अघिल्लो दिन तेमाल नै रित्तो पारेर बौद्ध स्तुपमा भेला भएर दीप प्रज्वलित गरेका थिए । चैत्र पूर्णिमाका दिन नागर्जुन पर्वतको चैत्य र स्वयम्भू महाचैत्यको स्वयम उत्पन्न ज्योतिमा राजा रेन्जिन दोर्जे बालको अस्तुद्धारा तयार गरिएको दीप प्रज्यालन र श्रद्धाञ्जली पूजा प्रकट गर्न तीर्थाटन गर्दै आइ पुगेका थिए । भनिन्छ, आजभन्दा २६१ वर्षअघिको सोही भिडलाई देखेर बौद्ध र स्वयम्भू क्षेत्रका तामाङ र गैह्र तामाङबासिन्दाहरुले यस जात्रालाई कस्को जात्रा भनेर प्रश्न गर्दा तेमालका तामाङ जनताहरुको जात्रा भनेका थिए । तेमालेहरुको जात्रा भन्दाभन्दै अपभ्रश भएर समग्र जात्राको नाम नै तेमाल जात्रा भनेर भनि आएका थिए भनिन्छ । हाल यस जात्रामा हुने सहभागीत, जात्राको लोकप्रियता व्यापक र प्रख्यात हुन पुगेको हो भनिन्छ ।
जात्राका ऐतिहासिक सामग्रीहरु
तेमाल जात्राको उत्पत्तिका सम्बन्धमा खोजीनिती गर्दा ठोस प्रमाणहरु पाउन नसकिए पनि बौद्ध धर्म ग्रन्थ स्वयम्भू पुराणमा उल्लेखित कथा र तामाङ समाजमा मौखिक रुपमा अवशेषका रुपमा रहेका सामाजिक र ऐतिहासिक किंवदन्तीहरु मात्र पाइएका छन् । किंवदन्तीअनुसार काठमाडौँ उपत्यका दहको रुपमा रहेको समयमा बन्धुमति नगरबाट आउनुभएका विपश्वी बुद्धले जामाचो (नार्गजून)को पर्वतको टुप्पोमा बसी तप गर्दा दहको अवलोकन गरी चैत्र पूर्णिमाको दिन कमलको फूलको बीज (हालको पुरानो गुहेश्वरी रहेको ठाउँ) रोप्नु भएको स्मरणार्थ यस जात्रा मनाएका कुरा प्रष्ट हुन्छ । पछि सो कमलको बीजबाट फुलेको कमलको फूलमा आश्विन शुक्ल पूर्णिमाको दिन स्वयम्भूको अलौकिक महाज्योति उत्पन्न भएको र कमलका फूलका पातहरुमा पञ्च बुद्धहरु उत्पन्न भएका कुरा उल्लेख छ ।
जसको दर्शन गर्न काठमाडौँ उपत्यकामा विभिन्न कालमा अरुण नगरबाट शिखी बुद्ध, अनपम नगरबाट, विश्वभू, क्षेमावतिबाट क्रकुच्छन्द, बनाशकस्यपलगायतका बुद्धहरु विभिन्न दक्षिण भारतका देशदेशावरबाट र महाचीनको पंचशीर्ष पर्वतबाट बोधिसत्व महामुनी मञ्जुश्रीसँग अनेकौ शिष्यका साथ आएको पाइन्छ । सोही मध्ये केही शिष्यहरु तामाङ जातिका पनि थिए । बोधिसत्व महामुनी मञ्जुश्रीले स्वयम्भू महाज्योतिको अवलोकन गरे पश्चात नजिकै गएर ज्योतिको दर्शन गर्न सकिन्छ भनेर दहको पानी बाहिर पठाउने जुक्ति खोजे । जुक्ति दहको चारैतिरको पहाडबाट अवलोकन गरेपछि पत्ता लगाए । अनि उनले आफ्नो नेतृत्वमा शिष्यहरु मार्फत उपन्यहखहहखे दहको पानी बाहिर पठाउन गोकर्ण, पशुपति र चौभारको पर्वत खड्गद्धारा काटेर पानी बाहिर पठाए । अनि स्वयम्भू महाज्योतिको दर्शन नजिकै गएर कात्र्तिक शुक्ल पूर्णिमाको दिनमा दीप प्रज्वलित गर्नु भएको थियो ।
त्यसपछि उहाँले मञ्जुपत्तन नामक शहर निर्माण गरेर एक शिष्य धर्माकरलाई राजा बनाएर महाचीन फर्कनु भएको थियो । यसपछि क्षमावती देशबाट क्रकुच्छन्द बुद्ध, शोभावती देशबाट ककमुनी बुद्ध र बनारसबाट कश्यप बुद्ध स्वयम्भू महाज्योतिको दर्शन गर्न आउनु भएको थियो । बनारस देशबाट आएका कश्यप बुद्ध मार्फत गौड देशका राजा प्रचण्डदेवले स्वयम्भू महाचैत्यको ज्योतिको महिमा सुनेर उनी पनि नेपाल उपत्यका आएर स्वयमभू ज्योतिको दर्शन गरेका थिए । स्वयम्भू महाचैत्यको ज्योतिलाई कसैले पनि बिटुल्याउन नसकोस भनेर राजा प्रचण्डदेवले महाचैत्य बनाएर गर्भमा राखेका थिए । यसरी निर्माण भएको स्वयम्भू महाचैत्यको प्राण प्रतिष्ठा चैत्र पूर्णिमाको दिनमा भएको कारण स्वयम्भू महाज्योतिको दर्शन चैत्र पूर्णिमाको दिनमा गर्ने परम्परा नै बसेको हो भन्ने कथन रहेको छ । महाचीनबाट बोधीसत्व महामुनी मञ्जुश्रीका साथ नेपालमा नेपाल प्रवेश गरेका तामाङ जातिहरुले हालसम्म पनि स्वयम्भू स्तुपको निर्माण भएको खुसीयालीमा स्वयम्भूमा पुगेर दीप ज्योति प्रज्योलित गरेर महाज्योतिको स्मरण गर्ने परम्परालाई अद्यापी निरन्तरता दिइरहेका छन् । त्यसै गरी पछि बनारसका कस्यप बुद्धको मृत्युपश्चात उनको अस्तु राखेर निर्माण गरिएको बौद्ध स्तुपको निर्माण सम्पन्न भएपछिको सोही स्तूपको प्राण प्रतिष्ठा पूजा (राप्ने पूजा) पनि चैत्र पूर्णिमाकै दिन भएको कारणबाट द’वै स्त’प अनि चैत्यलाई चैत्र पूर्णिमा कै दिन लागेको यस जात्रामा दीप प्रज्योलन गर्ने परम्परा बसेको हुनसक्छ भन्ने मेरो अनुमान रहेको छ ।
विभिन्न कालखण्डमा तिमालजात्रा
यसरी हेर्दा प्राचीनकालमा काठमाडौँ दहकै रुपमा रहेको समयबाट तेमालजात्रा पहिचान आरम्भ भएको देखिन्छ । लिच्छविकालको प्ररम्भमा स्वयम्भू चैत्यको निर्माण र मध्यमा बौद्ध स्तुपको निर्माणपछि यस जात्राको लोकप्रियता व्यापक भएर तिब्बतको राजधानी ल्हासासम्म पुगेको देखिन्छ । मल्लकालमा शासकहरु हिन्दू भएकोले यस जात्राको लोकप्रियता शुसुप्त हुन पुगेको देखिन्छ । सेनकालमा भने तेमाल मकवानपुर राज्य अन्तर्गत रहेकाले यसको लोकप्रियतामा खुम्चिएको पाइन्छ । शाहकालमा भने तेमालका तामाङ राजाको गोर्खाली सेनाहरुले विभत्स रुपमा हत्या भए पछि भने यस जात्राले जात्राको स्वरुप लिएको देखिन्छ । तत् पश्चात भने यस जात्रा नेपालमा मात्र नभई नेपाल बाहिर रहेका तामाङ जातिमा उत्कर्ष रुपमा पुगेको देखिन्छ ।
चैत्र पूर्णिमाको अधिल्लो दिन बौद्ध स्तुप
तेमालजात्रामा सहभागी हुन आउनेको भीड चैत्र पूर्णिमा को अधिल्लो दिनदेखि बौद्ध स्तुपमा लाग्ने गर्दछ । यसरी आपुगेका तामाङहरुले साँझपख पूर्ण चन्द्र देख्ने वित्तिकै बौद्ध स्तुपको माथिल्लो तल्लामा पुगी आफ्ना मृत्तकको मुक्ति र स्वधर्मका लागि स्तुपलाई दाहिने पारी घुम्दै घरबाट नै निर्माण गरेर तयार गरेर ल्याइएका घ्यूका काँचो धागोका बत्तीहरु (नाङसाल म्हारमेन) १०८ वटा बत्तीहरु एक सय आठ खोपामा रहेको बौद्ध तान्त्रिक देवीदेवताको मूर्तिसमक्ष बत्ती बाल्ने गर्दछन् । त्यसपछि आफूसँग आएका वा स्तुप परिशरमा रहेका लामा पुरोहितद्धारा श्रद्धाञ्जली (ङोवा) पूजा गर्ने गर्ने गर्दछन् । तामाङहरुले बौद्ध स्तुपालाई आमा अर्थात् माताको रुपमा हेर्ने हुँदा त्यसैले यहाँ स्वर्गीय आमाको स्मरणमा छोराछोरीहरुले दीप प्रज्योलित र श्रद्धाञ्जली पूजा गरेमा आमा आत्मा भड्किरहेको भए पनि अमिताभ लोकमा पुग्दछ भन्ने मान्यता पनि रहेको छ ।
अनि रातभर स्तुपको परिसरमा जाग्राम बसेर दुख सुख, मायापिरती र जीवनजगतका गीतहरु गाउने गर्दछन् । जात्रामा बौद्ध क्षेत्रमा तिमालका तामाङहरुको अपार सहभागीता, रौश, अगाध श्रद्धा र प्रेमबाट प्रभावित भएको देखेर बौद्धलीहरुले बौद्ध स्तुपको जात्रालाई तेमाल जात्रा भनेर नामाकरण गरिदिएका हुन भनिन्छ । साथै माथि उल्लेखित क्रियाकलापबाट तामाङहरु रौशे, गीताङ्गे र मनोरञ्जनात्मकका साथै बौद्ध धर्मप्रतिको कट्टरताको प्रतिनिधित्व प्राचीनकालदेखि हालसम्म देख्न सकिन्छ ।
पूर्णिमाको अधिल्लो दिन बौद्ध स्तुपमा जात्रा भर्नुको इतिहास पनि छुट्टै रहेको छ । बौद्ध क्षेत्रमा रहेकी झ्याझीमा (दिछ्योक्पा) ले पशुपंक्षीको व्यापारबाट मनग्ये धन कमाए तापनि आफ्ना चार पतिहरु घोडा, सुँगुर, कुकुर र कुखुरा व्यापारी पतिहरुबाट क्रमश: एकएक छोराहरुको जन्म दिनासाथ मृत्यु भएकाले चिन्तित थिइन । यसो हुनुमा आफूले पूर्व जन्ममा अवश्य पनि अकुशल कर्म गरेकोले हुन सक्छ भनेर सोचिन । फलस्वरुप आगामी जन्म अर्थात् पुर्नजन्म शुभ रहोस् भनेर तत्कालीन राजासँग बौद्ध स्तुप निर्माण गर्नका लागि जग्गा माग्न गइन । राजाले पनि हुन्छ बनाउनु भने झ्याझीमाले पनि आफूसंग रहेको मनग्य धनबाट स्तुप अजङ्गको बनाइन । स्थानीयहरुको विरोधका बाबजुद स्तुप करीवकरीब निर्माण हुने बखतमा झ्याझीमाको मृत्यु भयो । फलस्वरुपमा उनका चार पुत्रहरुले स्तुप निर्माण सम्पन्न गरे । यसपछि झ्याझीमाको मनोकामनाले निर्माण भएको बौद्ध चैत्यको प्राण प्रतिष्ठा पूजा र माताको मुक्ति र अमिताभ लोकमा बास होस् भनेर उनका छोराहरुले १०८ वटा बत्तीहरु स्तूपको पादमा प्रज्योलित गरेको इतिहास छ ।
साथसाथै सोही पूजामा मागेको मनोकामनाका कारण गुरु पद्मसंभवको जन्म मधेस (ग्यागर) मा भएको र भोट (भोइ) को राजधानी ल्हासामा बौद्ध धर्मको प्रचारप्रसार गर्न जाने क्रममा केही समय तेमालको याङवेलमा रहेका थिए । सोही वखत बौद्ध धर्मावलम्बी तामाङहरुलाई पाँचौ शताब्दीमा आफनो पूर्व जन्म नेपालको बौद्ध स्तुपको निर्मात्री झ्याझीमाको पुत्रको रुपमा भएको र आफू स्वयं पनि बौद्ध स्तुपको निर्माण कार्यमा संलग्न रहेकोे बताएका थिए । यसै क्रममा उनले चैत्र पर्णिमाको दिन बौद्ध स्तूपको दर्शनपर्सन गरेर दीप प्रज्योलित गरेको खण्डमा आमाको मुक्तिका साथै मनले चिताएको कार्य पुरा हुने भनेर ज्ञान दिएका थिए । सोही कारणबाट चैत्र पुर्णिमाको दिनमा सर्वप्रथम बौद्ध स्तूप दर्शन पूजन गरेर आफ्ना मृतजनको मुक्तिका लागि श्रद्धाञ्जली पूजा गर्न आएको हुन सक्ने मेरो अनुमान रहेको छ ।
चैत्र पुर्णिमाको दिन
तेमालजात्रामा सहभागी हुन आउनेको भीड चैत्र पूर्णिमाको दिन सूर्यदय हुने वित्तिकै सुरु भएर साँझ चन्द्रोदय नभएसम्म हुने गर्दछ भनिन्छ । तर चैत्र पूर्णिमाको दिन तामाङहरु बौद्धबाट सवेरै हिडेर सर्वप्रथम नागर्जुन पर्वतमा रहेको स्तुपामा पुग्ने गर्दछ भने नसक्नेहरु बालाजुको २२ धारामा पुगेर स्थान तीर्थ गर्ने गर्दछन् ।
यसरी नागर्जुन पुग्नुको कारण काठमाडौँ उपत्यका दहको रुपमा रहेका बखत विपश्वी बुद्धले नागार्जुन पर्वतमा तप गर्न बस्दा चैत्र पूर्णिमाको दिनमा कमलको फूल रोपेको र सो फूलको महाज्योतिमा भगवान स्वयम्भूको ज्योति र फूलका पातहरुमा पञ्चबुद्धको उत्पति हुनु नै हो । तर नसक्नेहरु पूर्णिमाको दिन बालाजु २२ धारामा स्नान गरेर स्वयम्भू स्तुपमा पुग्ने गर्दछन् । तामाङहरु बालाजु २२ धारा पुग्नुहो अर्थ नागर्जुन पर्वतको मूलबाट आउने जरुवा पानीलाई नै एकीकृत गरेर बालाजुका २२ धारामा खसालिएकोले स्नान तीर्थ गरेका हुन भनेर बुझुनु पर्दछ ।
नागर्जुन पर्वतको चैत्यमा पुग्नेहरु बालाजुको २२ धारामा फर्केर र नागर्जुन नपुग्नेहरु २२ धाराको स्नान तीर्थ गरेपछि उनीहरु स्वयम्भू पुग्ने गर्दछन् । जहाँ पुगेर उनीहरुले आफ्ना मृत्तकको मुक्ति र स्वधर्मका लागि स्तुपलाई दाहिने पारी घुम्दै घरबाट नै निर्माण गरेर तयार गरेर ल्याइएका घ्यूका काँचो धागोका बत्तीहरु (नाङसाल म्हारमेन) १०८ वटा बत्तीहरु स्तुपको प्रदक्षिणा पथमा पञ्चबुद्ध मूर्तिका अग्रभागमा राखिएका एक सय आठ वटा धातुका पालामा बत्ती बाल्ने गर्दछन् । त्यसपछि आफूसँग आएका वा स्तुप परिशरमा रहेका लामा पुरोहितद्धारा श्रद्धाञ्जली (ङोवा) पूजा गर्ने गर्ने गर्दछन् । तामाङहरुले स्वयम्भू स्तुपालाई बुवा अर्थात् पिताको रुपमा हेर्ने हुँदा त्यसैले यहाँ स्वर्गीय पिताको स्मरणमा छोराछोरीहरुले दीप प्रज्योलित र श्रद्धाञ्जली पूजा गरेमा पिताका आत्मा भड्किरहेको भए पनि अमिताभ लोकमा पुग्दछ भन्ने मान्यता पनि रहेको छ ।
अनि दिनभर स्वयम्भू स्तुपको परिसर र पर्वत भर छरिएर बसेर दुख सुख, मायापिरती र जीवनजगतका गीतहरु गाउने गर्दछन् । अनि साँझपख स्वयम्भुबाट आफ्नो प्राचीन थलो काठमाडौँको याम्बु भेगमा रहेका मुख्यमुख्य बजारहरु हनुमान ढोका, इन्द्रचोक, मखन, सेतो मच्छिन्द्रनाथको बहाल, असन, ठैहिटीसम्मका क्षेत्रहरु इतिहास नजाने पनि घुमेर गीतहरु गाउँदै घरबास स्थान तर्फ फर्कने गर्दछन् । यसरी फर्कदा पनि तामाङहरुको डम्फू बजाउँदै गीतहरु सामुहिक रुपमा गाउने गर्दछन् । जसले तेमाल जात्राको नाउँमा काठमाडौँ उपत्यकाको प्राचीन स्तुपा स्वयम्भु र स्वयम्भूको इतिहाससँग उनीहरुको आदिम सम्बन्ध रहेको कुरा अप्रत्यक्ष रुपमा प्राचीनकालदेखि हालसम्म रहेको स्पष्ट रुपमा देख्न सकिन्छ ।
तेमाल जात्राको विश्लेषण
तेमालजात्रालाई धार्मिक आधारमा विश्लेषण गर्दा प्रत्येक वर्ष स्वधर्म र पितृ उद्धारका लागि पश्चिमका बाह्र लच्याङ तामाङहरुले नार्गाजून, बौद्ध र स्वयम्भू र पूर्वी भेगका बाह्र तेमालका तामाङहरुले नमोबुद्ध, बौद्ध र स्वयम्भू नेसोम (तीन तीर्थ) को तीर्थाटन गर्ने तामाङ परम्परामा केन्द्रीत जात्रा हो जस्तो लाग्छ ।
ऐतिहासिक रुपमाभन्दा तामाङहरु काठमडौँ उपत्यका ङ्याम्बु/याम्बु (नाग रहेको खेत) लाई आफ्नो आदि भूमि र पुख्यौली थलो मान्दछन् । विभिन्न कालखण्डमा भएको ऐतिहासिक र राजनीतिक घटना र कारणबाट काठमाडौँ उपत्यकाबाट विस्थापित भएर उपत्यकाभन्दा पूर्व र पश्चिम भेगका पहाडी जिल्लाहरुमा बिस्ताफित हुन पुगेका छन् । तापनि तामाङहरु चैत्र पूर्णिमाको अवसरमा आफ्नो पुख्यौली थातथलोमा रहेका आफ्नो कुलदेवता रहेको स्तुपा/चैत्यहरु क्रमशः स्वयम्भनाथ (सिङगुन), बौद्धनाथ (ज्यारुङ खस्योर ) र सेतो मच्छिद्रनाथ/लोकेश्वर (छ्योवो जाम्लिङ कार्पो ) को स्तुप र विहारमा तीर्थाटन गरेर स्वधर्म कमाउछन् भने आफ्ना परिवारका सदस्यहरु कोही मृतजन भएका भए तिनको मुक्तिका नाममा तिनका अस्तुहरु मिहिन ढङ्गबाट घोटी ध्यूमा भिजाएर काचो धागोमा मुछी बत्ती निर्माण गरेर नागर्जुन, बौद्ध, स्वयम्भूको स्तुपमा रहेको पञ्च तत्वका प्रतिनिधि पञ्चबुद्धको मूर्तिहरु सामु १०८ दीप प्रज्योलित गरेर भष्म गर्ने गर्दछन् ।
तेमाल जात्राका पदमार्गहरु
झन् महाचीनबाट आएका बोधिसत्व मञ्जुश्रीले स्वयम्भुदेखि गुहेश्वरसम्म नेपाल उपत्यकामा मञ्जुपतन नामक नगर स्थापना गरी बौद्ध सभ्यता र संस्कृतिको स्थापना गरेको ठाउँ एकातिर रहेका छन् । अर्कोतिर पूर्वतिरबाट नेपाल उपत्यका दह रहेको याम्बुमा तामाङहरुले प्रवेश गर्दा तिमाल, नमोवुद्ध, धुलिखेल, बनेपा, साँगा, भक्तपुर, ठिमी, बानेश्वर, बौद्ध, चावहिल, ठमेल, बालाजु, नागर्जुन र स्वयम्भू र पश्चिमका नेपाल उपत्यका दह रहेको याम्बुमा तामाङहरुले प्रवेश गर्दा तामाङहरुले बाह्र लच्याङ, त्रिशुली, चतुराले, ककनी, नागार्जुन, बालाजु, चावहिल, बौद्धबाट बालाजु र स्वयम्भू सम्मका बाटाधाटाको प्रयोग गरेर वर्तमानसम्म पनि भव्यताका साथ तामाङहरुले बौद्ध र स्वयम्भू जात्रा अर्थात् मञ्जुश्री पद मार्गमा तेमाल जात्रामा तीर्थाटन गर्न आउदा र जादा तामाङहरु तीर्थ यात्रीहरु एकातिर मौलिक भेषभूषामा भरिरहेका हुन्छन् भने अर्कोतिर गीत सङगीतमा पनि रमी रहेका हुन्छन् । यसबाट पनि तामाङहरु काठमाडौँ उपत्यकामा स्वयम्भू ज्योति उत्पन्न हुनुभन्दापूर्व मात्र नभई विपश्वी बुद्धको उपत्यकामा आगमन हुनुपूर्व नै पश्चिमका तामाङहरु भने आवाद रहेका थिए भने मञ्जुश्री बोधिसत्वका साथमा महाचीनबाट उनका शिष्य तामाङका रुपमा नेपाल उपत्यकामा पूर्वका तामाङहरु प्रवेश गरेका थिए भन्न कि भनेर भन्न सकिन्छ ।
उपसंहार-निष्कर्ष
यसरी धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको तेमालजात्राको उत्पतिका कथा, सामाजिक परम्परा र नेपाल प्रवेशको मौखिक कथनकासाथै प्राचीन बौद्ध तीर्थ नागर्जुन, नमोवुद्ध, स्वयम्भु र बौद्ध स्तुपसँग गासिएको भावनात्मक सम्बन्ध, महिमा र तिनको अभ्यास र सम्बन्धले तामाङ जातिहरु काठमाडौँ उपत्यकाको आदिवासीमात्र मूलबासी नै भएको सङ्केत गर्दछ । जसबाट नेपालका इतिहासकारहरुले अड्कल काटेका उपत्यकाको प्रथमबासी नाग जाति अरु कोही नभई कतै तामाङहरु त होइनन् भन्न सकिन्छ । साथै, काठमाडौँ उपत्यका र यसका वरिपरिका पहाडी प्रदेशमा आवाद रहेका आदिवासी बौद्ध धर्मावलम्बी तामाङहरुले काठमाडौँ उपत्यकामा विभिन्न कालखण्डमा विकास भएको बौद्ध धर्मको अभ्यास र यहाँका बौद्ध सम्पदासँग हार्दिक सम्बन्ध गासि रहेका पाइन्छ । उद्हारणको रुपमा पञ्चबुद्ध, मानव बुद्ध, सिद्धार्थ गौतम बुद्ध, लोकेश्वर, गुरु पद्मसम्भव र नागर्जुनद्धारा प्रतिपादित महायान अन्तर्गत निङ्मापा, लामावाद, बज्रयान शून्ययानका दर्शनको प्रभावहरु तेमालजात्रा मनाउदै आएका तामाङ जातिको सामाजिक जीवन पद्दति र बौद्ध धर्मको परम्परागत अभ्यास गरेका कारण उनीहरुको जीवनमा शान्ति, मैत्री, करुणा र सद्भाव रुपी गहनाहरुका गहिरो प्रभाव पारेको प्रष्ट रुपमा देखिन्छ भन्दा फरक पर्दैन ।
स्रोत : र जात्राको अवलोकन र विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख र लेखकका पुस्तकहरु ।
rabindratamang@gmail.com
(लेखक तामाङ तामाङ संस्कृति र इतिहास लेखनमा संलग्न हुनुहुन्छ ।)