राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्नु पर्ने बताएकी छन् ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उनले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भनिन् ।

“नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नु प¥यो,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “नेपाली कम्युनिष्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ ।”

विसं २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले बितेका साढे सात दशकमा जहानियाँ राणा शासनको अन्त्य गर्न, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था समाप्त पारी बहुदलीय व्यवस्था बहाली गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

“नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान प्रवद्र्धन गर्न, देश प्रेमको भावना जागृत गर्न तथा राष्ट्रियताको संवद्र्धन गर्न महत्वपूर्ण दायित्व बहन गर्दै आएको छ,” उनले भनिन्, “यसले जनताको जनजीविका, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाएको छ र आफूले सरकार सञ्चालन गरेका बेला तथा संयुक्त सरकारमा सहभागी बनेका बेला राष्ट्र र जनताका जल्दाबल्दा यी विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै आएको छ, यसबाट कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोसा बढेको छ ।”

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा जनताको श्रम, सीप र प्रतिभाको सदुपयोगमार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने र यसरी मात्र देशलाई समृद्ध र जनतालाई सुखी बनाउने उनको भनाइ थियो ।

नेपालका निकट छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेको हुँदा दुई मुलुकसँगको सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई दृष्टिगत गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्ने उनको भनाइ थियो ।

“मित्रराष्ट्रहरू र विकासका साझेदार अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्धलाई समेत थप कसिलो बनाएर आपसी हितका निम्ति अग्रसर बन्नुपर्दछ,” उनले भनिन्, “परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु सङ्कट, अन्तर्राष्ट्रिय सीमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरीय शिक्षा, रोजगारी प्रवद्र्धनजस्ता विषयमा साझा धारणा बनाएर देशका राजनीतिक दलहरू तिनको कार्यान्वयन गर्न अग्रसर हुनु पर्दछ ।”

तपाईको प्रतिक्रिया

पत्रपत्रिका