चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
भरतपुर (चितवन)

चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् ।

पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । अब एक महिनाभित्रमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ ।

“घडेरी सम्म्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, अध्यक्ष गुरुङले भन्नुभयो, “अरू सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो । पालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छ वटा घर निर्माण गरिएको छ ।

इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए । उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएको बताए। “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छ जनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उनले भने । इच्छाकामना गाउँपालिकामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

तपाईको प्रतिक्रिया