रित्तो गाउँ

868 Shares
दक्षिण कोरीया

अचेल–
सैलुङ, कभरकाजी र नाचङ्घारको भन्ज्याङहरुमा
लालीगुराँस सिउरी हिँड्ने मैच्याङहरु
वन, पाखा र कन्दराहरुमा
फापारे व्हाइ गाउँदै
घाँस, दाउराका भारी कस्ने हातहरु
कबिर, विरबहादुर र साया आखेहरुको
शताब्दी औं पुराना चौतारामा
थकानका सास फेर्दै
सेलो रागमा नाच्ने
पिङ चरीहरु देखिँदैनन् ।

जात्थर र मेलापात
देउराली अनि पानी पँधेरोमा
सेलो र घाँसे गीत गाउने
म्रावाइ जोडी दोस्तीहरु
चौँरी र भेडी गोठालाहरु
ढिँडोसँग गुन्द्रुकको सोल्दोर खानु छोडेर
खर्सु र ह्रोङ्सिङको आगोको खराङलाई निभाएर
जम्बुलिङको उर्वरा माटोको
एक सिर्को टीका लगाएर
सहर, परदेश पसेका छन् ।

आखे–मामहरुको हिगिको खज्याममा
लुङ्ता, धर्ज्यु फरफराएर
आत्मा शान्तिको लागि
म्हाने, छ्योर्तेन, दुर्सामा
छ्याक र ङोवा गर्ने
थेबा, साइँला र च्याङ्बाहरु,
युरोप–अमेरिका र कोरिया–जापानका
व्यस्त बजारको गल्ली अनि
मेसिनको सहरमा
रोबर्टको बटन थिच्न बाध्य छन् ।

अनि–
पसिनाले लुत्रुक्क भिजेका शरीरलाई
थचक्क भुँईमा बजारेर
निकोटिनको अन्तिम भट्टी सल्काएर
धुवाँ उडाउँदै थेबाले सुनाउँछ,
गाउँ रित्तो भयो रे
सयौं वसन्त फुलेका आखे–मामहरु
कोन्ज्योसोमको देवलोकमा उड्यो रे
खित्का छोड्दै बग्ने सैलुङ खोलाका
जोर घट्ट खिइएर ढल्यो रे
डम्फु माथिको चरीले
काइरन गाउँन छोड्यो रे
डम्फुरेहरु कम्मर मर्कै नाच्ने,
टुङ्नाको धुन बजाउने औंलाहरुले विश्राम लियो रे
कोलमखान, अन्तर डाँडाको गोरेटो उकालोहरुमा
पटपट फुटेका पाइलाका डोपहरु
माटोमा विलीन भयो रे ।

ए, च्याङ्बा, साइलाहरु !
कति सुन्नु आइफोनमा बिहानको भाले बासेको ?
कति पुछ्नु भाग्यरेखाको पसिना ?
कति बस्नु मान्छेको भिडमा पनि एक्लो र सुनसान भएर
अब गाउँ फर्किऊ
आजै कुम्लो कसौं
हामी आफ्नै ह्युल्साको झुपडीमा
समृद्धिको सपनाहरु फुलाउँला ।

०००
दुधपोखरी, सैलुङ , दोलखा
हाल–दक्षिण कोरिया ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया