अनुसन्धानदाताले नेपालका विश्वविद्यालयहरूले अनुसन्धानात्मक शिक्षालार्ई प्राथमिकता दिनुपर्ने बताएका छन् । विश्वविद्यालय अनुदान आयोग र अथर्व बिजनेस कलेजले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानात्मक लेखन तथा सीप विकास कार्यक्रम’का वक्ताले नेपाली विश्वविद्यालयले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
सरस्वती क्याम्पसका सहप्राध्यापक डा खोमराज खरेलले नयाँ अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने भएकाले नेपालका विश्वविद्यालयले अनुसन्धान र खोजलाई प्राथमिकता दिनुपर्ने बताएको हो । “विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकलाई अनुसन्धानले व्यावहारिक ज्ञानलाई विद्यार्थीसम्म पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ”, उनले भने ।
कार्यक्रममा डा दशरथ न्यौपानेले अनुसन्धान क्षेत्रको विकासका लागि बहुविषयक अनुसन्धान आवश्यक रहेको बताए । उनले गाउँ तहसम्म पुगेर गहन ढङ्गले अनुसन्धान गर्नुपर्ने बताए ।
नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी)का अध्यक्ष डा तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताए । उनले देशको विकासका लागि अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा सहप्राध्यापक डा सञ्जीवकुमार श्रेष्ठ, डा राजनविलास बज्राचार्य, डा दीपक महतलगायतले अनुसन्धान क्षेत्रले मात्र नयाँ कुरा निर्माण गर्ने भएकाले नयाँ पुस्ता अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिएको थियो ।
तीन दिनसम्म चल्ने तालिममा अथर्व बिजनेस कलेज, मल्पी इन्टरनेशनल कलेज, राजधानी मोडल कलेज, काठमाडौँ कलेज अफ सेन्ट्रल स्ट्रेट र प्राइम सिए कलेजमा अध्यापनरत ३८ प्राध्यापकको सहभागिता छ । उक्त तालिममा अनुसन्धानका क्रममा आवश्यक विषयवस्तुको उठान, उद्देश्य, अनुसन्धान विधि, तथ्याङ्क प्रस्तुतीकरणबारे प्रशिक्षण प्रदान गरिएको थियो ।