‘माछीमा काँडे नि हौ, खुकुरी मेरो’ लोकगीतको सन्दर्भपरक अध्ययन

भोजपुर

१. विषय परिचय

माछीमा काँडे नि हौ खुकुरी मेरो अरुण उपत्यका तथा अरुणपूर्वमा प्रचलित पूर्वीय लोकगीत हो । लोकसाहित्यका विभिन्न विधामध्ये लोकगीत लोकप्रिय र समृद्ध विधा हो । श्रुतिपरम्परामा विकसित लोकगीतभित्र लोकजीवनका दु:खसुख, आँसुहाँसो, प्रेमविछोड, आशानिराशा लगायत विभिन्न चालचलन, रीतिथिति तथा धार्मिक आस्था र विश्वास जस्ता कुराहरू समेटिएका हुन्छन् । सरल, स्वाभाविक र मौलिक विशेषताले युक्त लोकगीतमा मानिसहरूका रहनसहन, चालचलन लगायत जीवनका विविध अनुुभूूति र जीवानभोगाइ अभिव्यक्त भएको हुन्छ भने यसका पनि विभिन्न प्रकार हुन्छन् । तीमध्ये यो पूर्वमा प्रचलित विभिन्न लोकभाकामध्ये हाक्पारे भाकामा हाटबजार तथा मेलापर्वमा गाइने गीत हो । किरात सभ्यता अन्तर्गत लिम्बूवान क्षेत्रमा गाउने हाक्पारे भाकाका विभिन्न भाकामध्ये यो निकै पुरानो भाका हो । उक्त क्षेत्रका सबै जातजातिका मानिसहरूले खासगरी घाँसदाउरा गर्दा, गोठाला र मेलापात जाँदा यस भाकाका गीत गाउने गरेको पाइन्छ । हाक्पारे अन्तर्गतका अन्य भाकामा प्रशस्त लोकगीतहरू रेकर्ड भइसकेको पाइए पनि यस गीतलाई पूर्वी नेपालका भोजपुरमा जन्मिएर हाल भक्तपुरमा बसोबास गरिरहेका सन्तोष योञ्जनले गत वर्षको असोज महिनामा पूर्वाञ्चल रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरेका हुन् । उनका अनुसार यस गीतका सङ्कलक उनी स्वयम् हुन् भने स्रोत व्यक्ति तेह्रथुम, सम्दु फेदाप गाउँपालिकाका वर्ष ७० का दधिराम श्रेष्ठ हुन् । प्रस्तुत लेख योञ्जनद्वारा गाइएका यिनै गीतको सन्दर्भपरक अध्ययनमा केन्द्रित रहेको छ ।

माछीमा काँडे नि हौ खुकुरी मेरो पूूर्वीय लोकगीत हो । लोकसाहित्यका विभिन्न विधामध्ये लोकगीत लोकप्रिय र समृद्ध विधा हो । यसका पनि विभिन्न प्रकार हुुन्छन् । तीमध्ये यो नेपालको पूर्वी क्षेत्रमा प्रचलित हाक्पारे भाकामा गाइने गीतमध्ये एक हो । प्रस्तुत गीत गाउँघरमा हाटबजार तथा मेलापर्वमा गाइने गीत हो । प्रस्तुत लेख यसै गीतको सन्दर्भपरक अध्ययनमा केन्द्रित रहेको छ । सन्दर्भले रचना वा कृतिभित्र प्रयोग भएको विषय, पात्र, परिवेश र खास खास विचारधारालाई बुुझाउँदछ ।

कुनै पनि साहित्यिक रचना वा सिर्जना कुनै खास सन्दर्भमा गरिएको हुन्छ । रचना वा कृतिभित्र प्रयोग भएको विषय, पात्र र परिवेशलाई सन्दर्भ भनिन्छ । जुन भाषिक संरचनाभन्दा पृथक् हुन्छ । भाषिक संरचना व्याकरणिक पक्षसँग सम्बद्ध हुन्छ भने सन्दर्भ सम्प्रेषण कलासँग सम्बद्ध हुन्छ । भाषामा आधारित भएर त्यसभित्र अन्तर्निहित अर्थ सन्दर्भको खोजी गर्नु नै सन्दर्भ विश्लेषण हो । सन्दर्भ विश्लेषणमा भाषिक सामग्रीद्वारा पाठभित्र प्रयोग भएका सहभागी, तिनका विचार, आपसी सम्बन्ध तथा परिवेश के कसरी अभिव्यक्त भएको छ भन्ने कुराको अध्ययन गरिन्छ । यस अन्तर्गत भौतिक सन्दर्भ, कालगत सन्दर्भ, परिस्थितिगत सन्दर्भ, वैयक्तिक सन्दर्भ वा सहभागी सन्दर्भ, संज्ञानात्मक सन्दर्भ, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, वैचारिक सन्दर्भ आदि पर्दछन् ।

लोक साहित्यको आरम्भ र विकास मानव सभ्यताको विकासको प्रारम्भकालदेखि नै हुँदै आएको भए पनि यसको विश्लेषणका लागि आफ्नै स्वतन्त्र सिद्धान्त भने ज्यादै कम छन् । तसर्थ लोकसाहित्यको सामग्रीको विश्लेषण पनि लिखित साहित्यको सिद्धान्तकै आधारमा गरिँदै आएको पाइन्छ । यद्यपि पछिल्लो समयमा लोक साहित्यको अध्ययनका लागि केही नयाँ सिद्धान्तको पनि प्रतिपादन भएको छ । तीमध्ये सन्दर्भवादी सिद्धान्त पनि एक हो । यसको विकास लोकसाहित्यका विधाहरूको अध्ययन सामाजिक–सांस्कृतिक सन्दर्भमा गर्ने अध्ययन पद्धतिको रूपमा पाश्चात्य मुलुकबाट भएको हो । लोकसाहित्यले परम्परागत विधारूपीभन्दा पनि स्थानीय समुदाय, तिनीहरूका बिचको सम्बन्ध, सामाजिक–आर्थिक संरचना, भौतिक सजावट र स्थानीय इतिहास आदिको विवरण दिने हुनाले यसको अध्ययन सन्दर्भपरक हुनुपर्छ भन्ने अवधारणाको विकास भएको हो । यिनै कुरालाई आधार मानेर यहाँ प्रस्तुत पूर्वीय लोकगीतको सन्दर्भपरक विश्लेषण गरिएको छ ।

२. अध्ययन विधि

प्रस्तुत लेखका लागि मूल सामग्रीका रूपमा सन्तोष योञ्जनद्वारा स्वरबद्ध गरिएको माछीमा काँडे नि हौ खुकुरी मेरो  बोलको लोकगीतलाई लिइएको छ भने सहायक सामग्रीका रूपमा लोकसाहित्य सम्बन्धी विभिन्न पुस्तक तथा सन्दर्भ विश्लेषण गरिएका पुस्तक तथा समालोचनात्मक कृतिहरूको उपयोग गरिएको छ । सामग्रीको सङ्कलन द्वितीयक विधिद्वारा पुस्तकालय कार्यमार्फत गरिएको हो । सामग्रीको विश्लेषण गुणात्मक ढाँचा अनुरूप पाठविश्लेषण विधिबाट गरिएको छ ।

३. सामग्रीको विश्लेषण

माछीमा काँडे नि हौ खुकुरी मेरो  नेपालको पूूर्वीभेगमा प्रचलित हाक्पारे भाकाको हाटबजार तथा मेला पर्वमा गाइने गीत हो । यस गीतमा पूर्वी नेपालका ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरूका जीवनशैली जीवन्त रूपमा प्रकट भएको छ । उक्त जीवनशैलीको अभिव्यक्ति विभिन्न सन्दर्भबाट भएको हुनाले लोकगीत विश्लेषणका विभिन्न आधार वा प्रकारमध्ये यहाँ सन्दर्भपरक विश्लेषणलाई चयन गरिएको छ । सन्दर्भ विश्लेषण अन्तर्गत भौतिक सन्दर्भ र संज्ञान सन्दर्भ र त्यस अन्तर्गत अन्य विभिन्न सन्दर्भहरूको अध्ययन गर्न सकिने भए पनि यहाँ प्रस्तुत गीतमा निहित सहभागीगत सन्दर्भ, स्थानगत सन्दर्भ, समयगत सन्दर्भ, सामाजिक सन्दर्भ र आर्थिक सन्दर्भको मात्रै विश्लेषण गरिएको छ ।

३.१ भौतिक सन्दर्भ

पाठमा प्रयुक्त स्थान, समय र सहभागी भौतिक सन्दर्भ हुन् । यस्ता सन्दर्भहरूले अर्थ सम्प्रेषणमा सुराक वा सङ्केत प्रदान गर्दछ (पौडेल र पोखरेल, २०८०, पृ.५०) । अर्थात् यस्ता सन्दर्भले समाख्याताले कुन भौगोलिक क्षेत्र, कुन परिस्थिति र कुन समयमा रहेर आÏनो विचार वा भाव तथा दृष्टिकोणलाई अभिव्यक्त गरिरहेको छ भन्ने कुराको बोध गराउँछ । यसैले कुनै पनि कृतिको सन्दर्भ विश्लेषणमा भौतिक सन्दर्भलाई महत्त्वपूर्ण मानिन्छ । प्रस्तुत सन्दर्भको चर्चा यहाँ भिन्नाभिन्नै शीर्षकमा गरिएको छ ।

३.१.१ स्थानगत सन्दर्भ

समाख्याता रहेको भौगोलिक परिवेश नै स्थानगत सन्दर्भ हो । यस्ता सन्दर्भले समाख्याताले कुन भौगोलिक क्षेत्रमा रहेर आÏनो विचार वा भाव तथा दृष्टिकोणलाई अभिव्यक्त गरिरहेको छ भन्ने कुराको सङ्केत गर्दछ ।

प्रस्तुत गीतमा स्थानगत सन्दर्भका रूपमा नेपाली ग्रामीण समाज प्रमुख बनेर आएको छ । गीतमा आएको कम्मरमा खुकुरी कस्ने, गाईबस्तु पाल्ने, बार बान्ने, गोठ सार्ने, गोठाला जाने, कागजको ताउ मारी चिठी लेख्ने, उकालो बाटो हुने, वरपिपलको रुखले शीतल हुने, रसको लागि मौरीले वन घुम्ने, सिकारीले बन्दुक बोकेर सिकार गर्ने, चौतारीमा बसेर थकाइ मार्ने तथा समाख्याता प्रेमीले प्रेमिकासित अनेक प्रकारले मायाप्रीतिको याचना गर्ने गरेको स्थान ग्रामीण नेपाली समाजको हो । प्रस्तुत सन्दर्भले नेपालको पूर्वी पहाडी ग्रामीण समाजमा बसोबास गर्ने मानिसहरूका रहनसहन, काम गर्ने तौरतरिका, खानपान तथा आर्थिक उपार्जनका क्रियाकलापहरू लगायत युवायुवतीबिच हुने आपसी प्रेम सम्बन्धलाई समेत जनाएको छ ।

https://youtu.be/AZLyeAyHlzA

३.१.२ समयगत सन्दर्भ

सन्दर्भ विश्लेषणमा समयगत सन्दर्भलाई पनि महत्त्वपूर्ण मानिन्छ । पाठमा वर्णित घटना कुन समयमा घटेको हो भन्ने कुराको सङ्केत समयले गर्दछ (पौडेल र पोखरेल, २०८०, पृ.५२) । प्रस्तुत गीतमा कहीँ पनि समयको किटान नगरिए पनि दिन र रातको प्रसङ्गले समयलाई जनाएको छ भने फूलको जोवन बारबार आए पनि मान्छेको जोवन एकैबार मात्रै आउने प्रसङ्गले जीवन र मृत्युको लामो चक्रलाई सङ्केत गरेको छ र मान्छेको जीवनको यथासत्य कुरालाई प्रकट गरेको छ । त्यसै गरी गाईबस्तु पाल्ने, सिकार गर्ने, थकाइ मार्ने प्रसङ्गले समयको अनेक कालखण्डलाई प्रस्तुत गरेको छ ।

३.१.३ सहभागी सन्दर्भ

सहभागी भनेको पाठमा प्रयुक्त कुनै व्यक्ति, पात्र वा चरित्र हो (गौतम, २०६६, पृ.५१३) । यस सन्दर्भले पाठमा वर्णित वा घटित घटना कोद्वारा घटित भएको हो भन्ने कुराको बोध गराउँदछ भने यसै सन्दर्भका आधारमा सम्पूर्ण पाठको आशय पत्ता लगाउन सकिन्छ । सहभागी सन्दर्भ सम्बोधक र सम्बोधित गरी दुई प्रकारले पाठमा आएका हुन्छन् । तीमध्ये सम्बोधकले पाठमा समाख्याताको भूमिका निर्वाह गरेको हुन्छ भने सम्बोधित श्रोता वा बोद्धाको रूपमा आएको हुन्छ (पौडेल र पोखरेल, २०८०, पृ.५३)

प्रस्तुत गीत एकालापीय शैलीमा संवेगात्मक अभिव्यक्तिको रूपमा प्रकट भएको छ । यस गीतका समाख्याता पुरुष हो । उसले आÏनो आत्मकथन एकोहोरो रूपमा प्रकट गरेको छ । गीतभरि उसले मायाप्रीतिका कुरा गरेर कुनै स्त्रीलाई सम्बोधन गरेको भए पनि उक्त स्त्रीको सहभागिता यहाँ प्रत्यक्ष रूपमा भएको छैन । तसर्थ यहाँ सम्बोधित स्त्री निष्क्रिय सहभागीका रूपमा आएकी छ ।

समाख्याता पुरुषले आफूले मन पराएकी स्त्रीसँग रात गए पनि दिन गए पनि बात मारेर बस्न आग्रह गरेको छ । धेरैपछि मायालाई भेट्दा आÏनो मन शीतल भएको पनि बताएको छ र नलाउनु माया लाइसकेपछि सम्पूर्ण रूपमा समर्पित भएर लाउन पनि अनुरोध गरेको छ । यसबाट उसले मन पराएकी स्त्रीले पनि उसलाई माया गरे पनि ऊ निश्चित हुन नसकेको बुझ्न सकिन्छ । यसैले उसले आफ्नी प्रेमिकालाई आफ्नो प्रेमलाई स्वीकार गर्नका लागि बारम्बार अनुरोध समेत गरेको छ । यसका लागि उसले  मान्छेको जुनी फूलको जस्तो बारबार नआएर एकैबार आउने कुरा पनि बताएको छ रे आफू मायाले वरिपरि घुम्ने गरेको यथार्थ पनि प्रकट गरेको छ । आफूले कति माया गर्छु भन्ने अरू प्रमाण दिन नसके पनि बोलीलाई पक्का ठान्न अनुरोध गरेको छ । लाएको माया नछुटोस् भन्दै अन्त्यमा नमरी बाँचे फेरि भेट्ने बाचा गर्दै गीतबाट बिदा लिएको छ ।

गीतको सहभागी सन्दर्भलाई अर्को दृष्टिकोणबाट हेर्दा समाख्याता पुरुष र निष्क्रिय रूपमा रहेकी स्त्रीबिच मायाप्रीति बसेको भए पनि विभिन्न कारणवश उक्त स्त्रीले अलिक सङ्कोच मानेकीले आफ्नो प्रेमलाई लक्ष्यसम्म पुर्‍याउनका लागि पुरुषले हरसम्भव प्रयत्न गरेको बुझ्न सकिन्छ । यसरी गीतमा प्रत्यक्ष सहभागी पुरुषको विचार र दृष्टिकोण यहाँ स्पष्ट रूपमा अभिव्यक्त भए पनि निष्क्रिय रहेकी स्त्रीको विचार भने स्पष्ट भएको छैन । तसर्थ प्रस्तुत गीतमा आएको उक्त भौतिक सन्दर्भले ग्रामीण नेपाली लोकसमाजका नर नारीबिच एकापसमा मायाप्रीति भए पनि पुरुषले सरह नारीले आÏनो भावनालाई सहज रूपमा व्यक्त गर्नुका लागि खुला परिवेश नभएको कुराको सङ्केत पनि पाउन सकिन्छ । साथसाथै जीवनमा आइपर्ने अनेक बाधा व्यवधानका कारण पनि त्यो सहज नहुने भएकाले त्यसको प्राप्तिका लागि अनेक प्रयत्न गर्नुपर्ने भावलाई समेत अभिव्यक्त गरेको छ ।

३.२ संज्ञान सन्दर्भ

संज्ञान सन्दर्भ भनेको पाठभित्र निहित ज्ञानात्मक सन्दर्भ हो । पाठमा प्रस्तुत भएका सहभागीको विचार र धारणाबाट त्यस्तो सन्दर्भ प्रकट भएको हुन्छ । संज्ञान सन्दर्भले समाख्याता वा लेखक र पाठक वा स्रोतामा रहेको साझा सामाजिक सांस्कृतिक ज्ञानको बोधलाई प्रस्ट पार्दछ (पौडेल र पोखरेल, २०८०, पृ.५५) । यस अन्तर्गत सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक आदि सन्दर्भहरू पर्दछन् । तीमध्ये यहाँ गीतमा प्रयुक्त सामाजिक र आर्थिक सन्दर्भको चर्चा गरिएको छ ।

३.२.१ सामाजिक सन्दर्भ

पठमा निहित सामाजिक चालचलन, क्रियाकलाप र मूल्यमान्यता जस्ता पक्षहरूलाई सामाजिक सन्दर्भ भनिन्छ । यस्ता सन्दर्भबाट सामाजिक संज्ञानको पहिचान हुने गर्दछ । प्रस्तुत गीतमा नारीहरू समाजबाट जहिल्यै त्रसित भएकाले उनीहरू अलिक सङ्कोच मान्ने र प्रेममा आनाकानी गर्ने, अनेक किसिमका बाधा अड्चन देखाएर टाढा भाग्न खोज्ने हुँदा प्रेमपरक अभिव्यक्तिका लागि सदा पुरुष अर्थात् प्रेमी नै अघि सर्नुपर्ने सामाजिक संज्ञानात्मक अभिव्यक्ति भएको छ । यसबाट ग्रामीण लोकजीवनका युवायुवतीबिचको आपसी सम्बन्धलाई बुझ्न सकिन्छ । यीबाहेक प्रस्तुत गीतमा समाख्याताले ग्रामीण भेगका मानिसले जीविकोपार्जनका लागि गर्ने अनेक क्रियाकलाप र तिनका जीवन शैलीलाई पनि सँगसँगै प्रस्तुत गरेको छ । कम्मरमा खुकुरी बाँध्ने, गोठाला जाने, गाईबस्तु पाल्ने, उकाली ओराली गर्ने, थकाइ मार्ने साथसाथै मायाप्रीति पनि लाउने कुराले उक्त सन्दर्भलाई प्रस्तुत गरेको छ । मान्छेको जीवन एकवार मात्रै आउने हुनाले त्यस क्षणिकताले मान्छेलाई सधैँ सताइरहने प्रसङ्ग पनि यहाँ उल्लेख छ । मान्छेको जीवन जस्तै मायाप्रीति पनि क्षणिक नहोस् भन्नाका खातिर मान्छेले अनेक युक्ति गर्ने गरेका प्रसङ्गहरू नै जीवनजगत्का खास गरी ग्रामीण लोकजीवनका मानिसका जीवनशैलीको यथार्थ संज्ञानात्मक पक्ष हुन् ।

३.२.२ आर्थिक सन्दर्भ

आर्थिक पक्षसँग जोडिएर आउने सन्दर्भलाई आर्थिक सन्दर्भ भनिन्छ । प्रस्तुत गीतमा प्रेमाभिव्यक्ति सँगसँगै आर्थिक पक्ष पनि जोडिएर आएको छ । नेपाली ग्रामीण लोकजीवनका मानिसहरूको आर्थिक उपार्जनको मुख्य स्रोत खेती किसानी र पशुपालन हो । वर्तमान समयमा आयआर्जनका अन्य माध्यम भए पनि विगतलाई हेर्ने हो भने कृषि कर्म र पशुपालन नै उनीहरूको जीवन धान्ने महत्वपूर्ण माध्यम हो । प्रस्तुत गीतमा पनि आयआर्जनको मुख्य स्रोत कृषि कर्म र पशुपालन नै देखिन्छ । गोठाला दाइले नि हौ ज्यान गोठै सार्यो बार्‍यो है छेकै बार र उकाली ज्यानको नि हौ रमिते ढुङ्गा थकाइ मारौँला भन्ने अभिव्यक्तिबाट यस कुराको पुष्टि गर्न सकिन्छ । यसका साथै सिकार गरेर पनि केही हदसम्म आर्थिक जोहो गर्ने सन्दर्भले पनि गीतको मूल प्रवाहलाई नै जोड दिएको छ । यदि समाख्याता आर्थिक दृष्टिकोणले सम्पन्न थिए भने सायद उसले यति धेरै प्रेमको याचना गर्नुपर्ने थिएन । आर्थिक रूपमा अलिक विपन्न भएकै कारण उसले अनेक प्रकारले आफूले मन पराएकी स्त्रीलाई सम्झाई बुझाई गर्नुपरेको देखिन्छ । यसरी प्रस्तुत सन्दर्भद्वारा ग्रामीण मानिसका आर्थिक स्तर र जीवनशैलीलाई चिनाउनुका साथै आर्थिक कारणले पनि प्रेम सम्बन्धमा कसरी प्रभाव पार्न सक्दछ भन्ने अभिव्यक्ति पनि गरिएको छ ।

४. निष्कर्ष

माछीमा काँडे नि हौ खुकुरी मेरो पूर्वीय लोकगीत हो । लोकसाहित्यका विभिन्न विधामध्ये लोकगीत लोकप्रिय र समृद्ध विधा हो । यसका पनि विभिन्न प्रकार हुन्छन् । तीमध्ये यो नेपालको पूर्वी क्षेत्रमा प्रचलित हाक्पारे भाकामा गाइने गीतमध्ये एक हो । प्रस्तुत गीत गाउँघरमा हाटबजार तथा मेला पर्वमा गाइने गीत हो । प्रस्तुत लेख यसै गीतको सन्दर्भपरक अध्ययनमा केन्द्रित रहेको छ । सन्दर्भले रचना वा कृतिभित्र प्रयोग भएको विषय, पात्र, परिवेश र खास खास विचारधारालाई बुझाउँदछ । यो खास गरी लोकसाहित्यका सामग्रीको अध्ययनका लागि विकसित पद्धति हो भने यसको विकास पाश्चात्य मुलुकबाट भएको हो ।

सन्दर्भपरक अध्ययन अन्तर्गत पाठमा प्रयुक्त सहभागी पात्रको सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, तथा भौगोलिक र कालगत परिस्थिति आदिको अध्ययन गरिन्छ । प्रस्तुत अध्ययन गीतले सङ्केत गर्ने यिनै विविध सन्दर्भमध्ये भौगोलिक अथवा स्थानगत, कालगत, सहभागीगत, सामाजिक र आर्थिक सन्दर्भको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त सन्दर्भ विश्लेषणबाट पूर्वी नेपालका ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरूको दिनचर्या र उनीहरूको आर्थिक उपार्जनका माध्यम, तथा माया र प्रेम सम्बन्धी अनुभूतिहरूको प्रकटीकरण भएको छ ।

सन्दर्भ सामग्रीसूची

गौतम, देवीप्रसाद, (२०६८), ‘गीतिसंरचनाको सङ्कथन विश्लेषण’, रत्न बृहत् नेपाली समालोचना प्रायोगिक खण्ड, सम्पा. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौं : रत्न पुस्तक भण्डार ।
गौतम, लक्ष्मणप्रसाद, (२०६६), समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौं : पैरवी प्रकाशन ।
पौडेल, माधवप्रसाद र पोखरेल, गोकुल, (२०८० दोस्रो सं.), सङ्कथन विश्लेषणः सिद्धान्त र प्रयोग, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार ।
पौड्याल, शिवप्रसाद, (२०७९), ‘लोकसाहित्यको अध्ययनका प्रमुख पद्धति’, रत्न बृहत् नेपाली समालोचना (भाग ३), सम्पा. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौं: रत्न पुस्तक भण्डार ।
बन्धु, चूडामणि, (२०६६), नेपाली लोकसाहित्य. काठमाडौं: एकता बुुक्स ।
बन्धु, चूडामणि, (२०७२), ‘लोकसाहित्यका सिद्धान्त र अध्ययन पद्धति’, नेपाली लोकवार्ता, सम्पा. जीवेन्द्रदेव गिरी, काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठान ।
बन्धु, चूडामणि, (२०७९), अनुसन्धान तथा प्रतिवेदन लेखन, काठमाडौं : रत्न पुस्तक भण्डार ।
भट्टराई, धु्रवप्रसाद, (२०७९), ‘लोकसिलोकको सन्दर्भपरक अध्ययन’, रत्न बृहत् नेपाली समालोचना (भाग ३). सम्पा. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौं : रत्न पुस्तक भण्डार ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद, (२०६३), लोकवार्ता विज्ञान र लोकसाहित्य, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार ।
लुइटेल, खगेन्द्रप्रसाद, (२०६८), लोकसाहित्य परिचय, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार ।
गीतको लिङ्कः https://youtu.be/AZLyeAyHlzA?si=x5BN9LtYVGPeDLCh

(लेखक तामाङ त्रिभुवन विश्वविद्यालय, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, नेपाली विभागकी उपप्राध्यापक हुन् । हाल एमफिलपिएच्डी गर्दै ।)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका