खास्टे ताल किनारमा जीवन र जगतको खोजी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
गण्डकी

गण्डकी पोखरेली साहित्यकारहरूले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आउनुभएको छ । अभियानका क्रममा दुई सय १० औँ श्रृङ्खला लिएर शनिबार साहित्यकारहरू पोखरा महानगरपालिका–२६ स्थित खास्टेताल किनार पुगे ।

साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गतको यस श्रृङ्खलामा कविहरूले खास्टे ताल किनारमा साहित्यीक रचनाका माध्यमबाट जीवन र जगतको यथार्थ खोजी गर्ने प्रयासमा गरेएको थियो ।

खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा अभियानका परिकल्पनाकारमध्येका एक स्वर्गीय प्रकट प¬ङ्गेनी शिवप्रति सम्मान र सम्झना गर्दै सुरूभएको श्रृङ्खलामा २६ जना कवि तथा कवयत्रीले आफ्ना रचनामार्फत जीवन र जगतको खोजी गरेको थियो । त्यसक्रममा नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारी, साहित्यकारहरू शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुँइकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, बसन्तमोहन भट्टराईलगायत २६ जनाले आफ्ना रचनामार्फत जीवन र जगतका विविध आयाममाथि चर्चा परिचर्चा गरे ।

उनिहरूका रचना सुनिसकेपछि कार्यक्रममा सहभागी पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नरेन्द्र थापाले साहित्यिक व्यक्तित्वको उपस्थितिले तालको महिमा र गरिमा अझै बढाएको बताए । उनले साहित्य समाजको ऐना भएकाले साहित्यकारको उपस्थितिले खास्टे तालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमा साहित्यकार तथा साहित्यीक सङ्स्थासँगको सहकार्यमा राष्ट्रियस्तरको गजलसँग सम्बन्धित कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साहित्यकार तीर्थ श्रेष्ठले खास्टेमा लगाइएका कमलका फूलको संरक्षण गर्दै ज्येष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढावा दिन सकिने धारणा राखे । साहित्यकार गणेश पौडेलले स्रष्टाले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको धारणा राखे ।

पोखरा महानगरपालिका–२६ तथा खास्टेताल टोल विकाश संस्थाको व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय हरिप्रसाद अधिकारी, बुद्धिराज अधिकारी, ईश्वरराज भण्डारीलगायतले खाष्टे तालका साथै बाराही मन्दिरको महत्वबारे चर्चा गरेएको थियो ।

विसं २०६२ असार १८ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्यसागरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको अक्षरयात्रा तत्कालीन समयमा साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी ‘शिव’, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा सुरू गरिएको थियो । ‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ हरेक श्रृङ्खलामा साहित्यिक रचनाका माध्यमबाट कवि तथा कवयत्रीहरूले समाजका यथार्थलाई प्रस्तुत गर्नु नै यस अभियानको विशिष्टता हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका