चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण तालिका सार्वजनिक

सैलुङअनलाइन संम्वाददाता
काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनफिङले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उनको नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुना सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिनियाँ राष्ट्रपतिसँग नेपालका विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

सुरक्षा व्यवस्थामा कडा

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार जिनपिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौं, उनको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ,’ उनले भने । प्रहरीले सी जिनपिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया