बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ समारोहका लागि समिति गठन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
399 Shares
काठमाडौं

बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयनको औपचारिक घोषणाको तयारी भएको छ । त्यसको लागि बागमती प्रदेश सरकारले सोमबार मूल समारोह समिति गठन गरी घोषणा गरेको छ । यही वैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तीव्र पारिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए । मन्त्री बज्राचार्यको संयोजकत्वमा समारोह सम्पन्न गराउन ३०३ सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । काठमाडौँको खुसीबुमा आयोजित एक कार्यक्रममा ३०३ सदस्यीय मूल समारोह गठन गरी घोषणा गरिएको हो । समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ सङ्घसंस्थाहरू र नेपाल भाषाको समुदायको तर्फबाट नेवा: देय् दवुकाहरु सदस्य रहेका छन् ।

प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने र सोही दिन काठमाडौँको वसन्तपुरमा एक समारोह गरी कार्यान्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रञ्जना) मा लेखिएका राखिनेछन् ।

त्यस दिन बागमती सरकारले भाषा ऐन कार्यान्वयन आउने दिनको रूपमा सार्वजनिक बिदासमेत दिएकोले खुसीको दिनको लिँदै आफूहरू घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमारसिं घिसिङले बताउनुभयो । उहाँका अनुसार २४ गते घोषणा समारोह अघि काठमाडौँका विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकालिनेछ । संविधानले दिएको अधिकार कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यान्वयन गर्न लागेकोमा धन्यवाद दिँदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध पनि गर्नुभएको छ । बागमती प्रदेश सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।

तपाईको प्रतिक्रिया