कञ्चनपुरको बेदकोट नगरपालिका-३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ । विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो । मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ । यहाँका स्थानीय कोही घर बनाउने मिस्त्री र कोही कोही मजदुरी गर्थे । तर अहिले धेरैजसो मुक्त कमैयाका परिवार तरकारी खेतीमा सक्रिय छन् ।
कमैयामुक्तपछि जानकी चौधरीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । “कमैयामुक्तिपछि तरकारी खेतीको तालिम लियौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ”, उनले भने, “सिजनमा रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।”कमैयामुक्तिपछि सरकारले एक परिवारलाई पाँच कट्ठाको दरले जमिन उपलब्ध गराएको थियो ।
जानकीले आधा बिघा जमिन अधियाँमा लिएर धान/गहुँ खेती गरे। नौ कट्ठा जमिनमा चाहीँ काँक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत तरकारी खेती गरेकी छन् । उनले च्याउ खेती पनि गरेका छन् । ४० वर्षीय मानबहादुर डगौँराले १० कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् । तरकारी बेचेरै उनले घरखर्च चलाउँदै आएको छ । वार्षिक रु दुई देखि तीन लाख आम्दानी हुने गरेको उनले बताए ।
“अटो रिक्सामा राखेर तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ, सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ”, उनले भने, “थोरै सिँचाइको असहजता छ, नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।” कमैया बस्दा मानबहादुरले पढ्न पाएन । कमैयामुक्ति भएपछि लिएको तालिमले तरकारी खेतीमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । तरकारी खेतीबाटै कमाएको पैसाले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्दै हुन् ।
आशापुरकै विक्रम डगौँरा पनि तरकारी खेती गरे । कमैयामुक्त भएपछि उहाँ तीन पटक वैदेशिक रोजगारीमा गए । मथनर, दुबई र साउदीमा मजदुरी गरे। श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम अहिले गाउँमै तरकारी खेती गरेर आम्दानी गरिरहेका छन् । “आठ/नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे, अहिले राम्रो आम्दानी भइरहेको छ”, उनले भने, “स्वदेशमै मेहनत गरे कमाइ हुने रहेछ ।”