‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ वसन्तपुरबाट घोषणा गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
105 Shares
काठमाडौं‌

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० यही वैशाख २४ गतेदेखि व्यवहारमा लागु हुने भएको छ ।

बुधवार बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरी वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा सार्वजनिक समारोहमा सम्बोधन गर्दै प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा आएको घोषणा गर्ने जानकारी दिए ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले यस ऐतिहासिक उपलक्ष्यमा उक्त अवसरलाई राष्ट्रिय महत्वका साथ विशेष स्मरणीय बनाउन वसन्तपुरको हनुमानढोका दरबार परिसरमा एक विशेष समारोह आयोजना गर्न लागिएको बताए ।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्नेछ । त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल लगायतका अतिथिहरूको उपस्थित हुनेछ ।

कार्यक्रमको व्यवस्थापन नेवा: समुदायको राष्ट्रिय सङ्गठन नेवा: देय् दबू र तामाङ समुदायको राष्ट्रिय सङ्गठन तामाङ घेदुङले गर्नेछ ।

वैशाख २४ गते बिहान ७:०० बजे ऱ्याली र लगत्तै सभा आयोजना गरिनेछ । सभाअघि वसन्तपुरबाटै स्थानीय नेवा: र तामाङ समुदायको सांस्कृतिक भेषभुषा एवं बाजागाजा सहित भव्य सांस्कृतिक र्‍याली हुनेछ । सांस्कृतिक र्‍याली काठमाडौँको कुमारीको रथयात्रा परिक्रमा गरिने सांस्कृतिक मार्ग हुँदै पुनः वसन्तपुरमै पुगी सभामा परिणत हुनेछ ।

गत २०८० असोज २२ गतेका दिन बागमती प्रदेशसभा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष पहलमा तत्कालीन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ प्रस्तुत गरिएको थियो ।

संसदबाट सर्वसम्मत रूपले पारित भएको उक्त ऐन गत २०८० कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा विधेयक परिपक्व भई कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरूप आउँदो वैशाख २४ गते यो ऐन कार्यान्वयनमा जान लागेको हो ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका