चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे

0 Shares
दमौली

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ । यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका- ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका- ४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका- २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका- २ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप १०/१० लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ ।

सामुदायिक वनमा खोर राखिने

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका लागि केही खोर राखिएको थियो । भानु नगरपालिका-२ स्थित सामुदायिक वनमा राखिएको खोरमा असोज १५ गते एउटा चितुवा परेको थियो । उक्त खोर प्रभावकारी देखिएपछि भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा खोर थपिने भएको छ ।

स्थानीयवासीको सहयोग र भानु नगरपालिकाको आर्थिक लगानीमा खोर निर्माण गरी चितुवा नियन्त्रणका लागि सामुदायिक वनमा राखिने डिभिजन नगरप्रमुख गौलीले जानकारी दिए ।

साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहभागितामा सर्च अभियानसमेत सञ्चालन गरिनेछ । बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिले गोली हान्ने आदेश दिइसकेको छ ।

राहत प्रदान

चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ ।

मङ्गलबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका- १ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँका परिवारलाई कार्यालयले आज किरियाखर्चस्वरुप रु ५० हजार उपलब्ध गराएको हो ।

मृतक बालकको घरमा पुगेर डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उक्त रकम मृतकका काका रामचन्द्र बानियाँलाई हस्तान्तरण गरेको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने डिभिजन प्रमुख बरालले जानकारी दिनुभयो । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्दे्शिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा रु एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो । बालकको घर वरपर अत्यधिक झाडी रहेकाले झाडीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण गरेको थियो ।

घर नजिकै झाडी भएको ठाउँमा र साँझको बेला चितुवाले बालबालिकालाई आक्रमण गरेकाले चितुवाको आक्रमणबाट बच्न सचेत हुनुपर्ने भानु नगरपालिकाका प्रमुख गौलीले बताए । ‘घर वरपरको झाडी सरसफाइमा विशेष ध्यान दिनुपर्ने र साँझको बेला घर बाहिर बत्तीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ’, नगरप्रमुख गौलीले भने, ‘साँझको बेला परिवारले बालबालिकाको विशेष ख्याल गर्नुपर्छ ।’

डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए । बरालले घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने भएकाले सर्वसाधारण यसप्रति सचेत हुनुपर्ने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका