काभ्रेमा पक्की बनाइँदै सडक सञ्जाल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
63 Shares
काभ्रेपलान्चोक

काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–११ स्थित फेदी–चण्डेनी सडक पक्की बनाउने कार्य सुरू गरिएको छ । नगरको वडा नं १० र १२ को माथिल्लो (चण्डेनी) क्षेत्रका स्थानीय आवतजावत गर्ने मुख्य मार्गका रूपमा रहेको उक्त सडक यस वर्ष करिब डेढ किलोमिटर कालोपत्रे हुने जनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबाले करिब सात किमी सडक क्रमशःपक्की बनाइने बताए । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको समपूरक बजेट रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता भएर यस वर्ष सडक कालोपत्रे गर्न थालिएको उनले जानकारी दिए ।

यस्तै, पाँचखाल नगरपालिकास्थित अरनिको राजमार्गबाट तामाघाट–बोहेरेदोभान सडक खण्डअन्तर्गत नागबेली–बोहोरेदोभान सडकखण्ड निर्माण सम्झौता समयसीमाको १० महिना अगावै निर्माण सम्पन्न भएको छ । करिब चार किलोमिटर सडकखण्ड विस्तार एवं स्तरोन्नति भई सम्झौताअनुसार तीन किमी चार सय मिटर कालोपत्रेको काम सम्पन्न भएको हो । विसं २०८० असार २४ गते १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएअनुसार आगामी पुस २३ गतेभित्र समयसीमा थियो । प्रदेश पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत सञ्चालित सडकखण्ड कुल रु १४ करोड २० लाख १३ हजारमा पिएसके/दिव्यश्वरी बिआइएस जेभीले ठेक्का सम्झौताको १० महिना अगावै कालोपत्रेसहितको काम सकेको हो ।

त्यसै गरी पाँच सेन्टिमिटर बाक्लो कालोपत्रे गरिएको सो सडकखण्डमा तीन सय मिटर ढलान र चार सय मिटर ड्रेनसहित ग्राभेलको काम सकिएको जनाइएको छ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले निर्माण सम्पन्न भएको सडकखण्डको अनुगमन गर्दै बोहोरे दोभानसम्मै सडक पक्की बनाउन क्रमशः बजेटको व्यवस्थापन गर्दै जाने बताए ।

तपाईको प्रतिक्रिया