उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल जापान सम्बन्ध

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौँ

काठमाडौँ जापानका विदेश मन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछ ।
भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापानका लागि प्रस्थान गर्नेछ ।
विश्वमा विकसित र समृद्ध एसियाली मुलुकका रुपमा स्थापित जापानसँगको नेपालको सम्बन्ध अठारौं शताब्दीको अन्त्यतिर सुरु भएको हो । सन् १९५६ सेम्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापनासँगै यो सम्बन्ध औपचारिक बनेको हो ।
कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियोे भने जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध निरन्तर मित्रता, सद्भावना र सहयोगले चिनिएको छ । जापान नेपालको लामो समयदेखिको मित्रराष्ट्र र प्रमुख विकास साझेदार हो ।
दुवै देशले सन् २०१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक जयन्ती विभिन्न कार्यक्रम आयोजनाका साथ उच्चस्तरीय भ्रमण आदानप्रदान गरी मनाएका थिए । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको बताए । उनका अनुसार जनस्तरमा बढ्दो संलग्नताले यी सम्बन्धलाई थप बिस्तार गर्न योगदान दिएको छ ।
नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध
जापानी बौद्ध भिक्षु, रेभ। एकाइ कावागुची पहिलो पटक सन् १८९९ मा तिब्बत जाने क्रममा पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा नेपाल आउनुभएको थियो । उनले नेपाललाई चिनाउने र लुम्बिनीको महत्व जापानी जनतालाई आफ्ना लेख र प्रकाशनमार्फत उजागर गरेको थियो । यसैगरी नेपालमा राणा शासनकालमा सन् १९०२ देखि १९०५ सम्ममा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए, जसले गर्दा नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक हुन थालेका थिए ।
त्यस्तै पछिल्लो समय तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखि ५ सम्म जापानको औपचारिक भ्रमण गर्नुभएको थियो । तत्कालीन कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पनि सन् २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरेको थियो । त्यसैगरी जापानका तर्फबाट पछिल्लो समय विदेशमन्त्री तारो कोनोले सन् २०१९ जनवरी ९ र १० मा नेपालको भ्रमण गरेको थियो ।
जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । नेपाली समुदाय जापानमा सातौँ ठूलो विदेशी समुदाय हो । हरेक वर्ष हजारौँ नेपाली विद्यार्थी उच्च शिक्षा र जापानी भाषा अध्ययन गर्न जापान जाने गर्छन् । नेपाली विद्यार्थीको विदेश अध्ययनका लागि जापान दोस्रो सबैभन्दा मनपर्ने गन्तव्य हो । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।
नेपाल जापानी पर्यटकका लागि आकर्षक गन्तव्य पनि हो । लुम्बिनी, हिमालय, सदियौं पुरानो परम्परा र सांस्कृतिक कलाकृति, मन्दिर र नेपाली जनताको मिलनसार शैली जापानी पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । सन् २०१५ सेप्टेम्बरमा दुई प्रख्यात युनेस्को विश्व सम्पदा स्थल लुम्बिनी र जापानको कोयासानबीच भगिनी सहरको सम्बन्ध स्थापित भएको थियो ।
द्विपक्षीय संयन्त्रले सहयोगमा योगदान
नेपाल र जापानका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ । संयन्त्रले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्ने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका बारेमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ । संयन्त्रको पहिलो र दोस्रो बैठक मार्च २०१५ र जुन २०१६ मा क्रमशः टोकियो र काठमाडौँमा भएको थियो । त्यस्तै जापानका विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र जापान सरकारबीच सन् २०१९ जनवरी ९ मा काठमाडौँमा द्विपक्षीय परामर्श गर्ने समझदारीमा हस्ताक्षर भएको थियो ।
नेपाल र जापानबीच विद्यमान आर्थिक तथा प्राविधिक सहयोगलाई थप सुदृढ र सुदृढ बनाउने उद्देश्यले दुई देशले सन् २००३ सेम्टेम्बर ३ मा प्राविधिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपाल र जापानबीच सन् १९९३ फेब्रअरी १७ मा हवाई सेवा सम्झौता (एएसए) मा हस्ताक्षर भएको थियो ।
यसैगरी नेपाल सरकारको श्रम तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिटको) सँग जापानमा नेपाली औद्योगिक श्रमिकलाई तालिम दिने सम्बन्धमा सन् २००३ डिसेम्बर ३ मा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । जापानको परिमार्जित अध्यागमन ऐनअनुसार जापान सरकारले नेपाललाई श्रम बजारको स्रोत देशको रुपमा समावेश गरेको छ । नेपाल र जापानले आपसी सरोकारका विषयमा नजिकबाट काम गर्दै आएका छन् । संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय मञ्चहरूमा एकअर्कालाई आफ्नो क्षमताले सक्दो सहयोग गर्दै आएका छन् ।
आर्थिक सहयोग तथा व्यापार र लगानी बढ्दो
जापानले सन् १९५४ देखि नै नेपालको सामाजिक–आर्थिक विकासमा योगदान गर्दै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगको रूपमा सहयोग गर्दै आएको छ । जापानले नेपालको शान्ति र लोकतन्त्रको प्रवद्र्धनमा पनि सहयोग गर्दै आएको छ । जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्छन् ।
जापानले नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउँदै आएको छ । यस योजनाअन्तर्गत तनहुँ जलविद्युत आयोजना, नागढुङ्गा सुरुङमार्ग, खानेपानी सुधारलगायतका आयोजना सञ्चालित छन् ।
मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडीएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । जापान सरकारले कोलम्बो योजनामा सामेल भएदेखि सन् १९५४ नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम दिन थालेको हो । नेपालमा सन् २०१५ को भूकम्पपछि जापान सरकार र जनताले स्वस्फूर्त सहयोग गरेका थिए । जापान सरकारले नेपालको पुनःनिर्माणका लागि  २६ अर्ब रुपैयाँअनुदान दिने घोषणा गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जापानी विदेशमन्त्रीको भम्रणका अवसरमा नेपालका लगानी सम्भावित क्षेत्र जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायतमा जापानको लगानी आर्कषित गर्न थप पहल गर्नुपर्ने सुझाव दिए । साथै उनले काम र अध्ययनका लागि नेपाली विद्यार्थी जापान गइरहेको सन्दर्भमा जापानमा हाल वृद्ध जनसंख्या धेरै भएकाल दक्ष जनशक्ति पठाउन सके थप लाभ हुने धारणा समेत व्यक्त गरे । जापान नेपालको एक महत्वपूर्ण व्यापारिक साझेदार हो ।
नेपालबाट जापानतर्फ हुने प्रमुख निर्यातमा पश्मिना उत्पादन, तयारी पोशाक, ऊनीका सामान, गलैँचा, हस्तकला, नेपाली कागज र कागजका सामान, छालाका सामान, चाँदीका सामान र गरगहना छन् । त्यसैगरी जापानबाट नेपालको प्रमुख आयातमा सवारी साधन तथा पार्टपुर्जा, इलेक्ट्रोनिक सामान, मेसिनरी तथा उपकरण, फलाम तथा स्टिलका उत्पादन, फोटोग्राफिक सामान, चिकित्सा उपकरण र कपडा पर्दछन् । जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रमुख स्रोत देश हो ।

तपाईको प्रतिक्रिया