मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा

सैलुङअनलाइन
सैलुङअनलाइन
14 Shares
काठमाडौँ 
दिवङ्गत आमाको सम्झनामा मातातीर्थमा दर्शन गर्दै सर्वसाधरण काठमाडौँ, २५ वैशाख ः काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ मन्दिर मङ्गलबार मातातीर्थ औँसीको अघिल्लो दिन दिवङ्गत आमाको सम्झनामा सर्वसाधारण आमाको प्रतिमामा दर्शन गर्दै । तस्बिर ः हरिराम भेटुवाल÷रासस

प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ । आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ ।

संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिए । मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र भोलि बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्नेको सङ्ख्या बढ्दो छ ।मन्दिरमा दैनिक आठदेखि १० जना श्राद्ध गर्नका लागि आउने गरेका छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवङ्गत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका