मह सिकार ! पिता पुर्खाको सीप पछ्याउँदै

सैलुङअनलाइन
सैलुङअनलाइन
70 Shares
गण्डकी

पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिर मौरीको मह सिकार । सिकारीहरू पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ ।

टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भीमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पिता पूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् ।

मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको तारा खोला गाउँपालिका–५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिर मौरीको मह काढ्दै आएको बताए । “हाम्रा बाउ बाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ”, उहाँले भने, “हरेक वर्ष तारा खोलामा मह सिकार हुँदै आएको छ ।”

घर्तीका अनुसार ताराखोला–५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिर मौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए । “मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ”, ५१ वर्षीय घर्तीले भने, “१४ घारको मह काढ्न अझ एक/दुई दिन लाग्न सक्छ ।”

तारा खोलाका अन्य भिरमा पनि एक/दुई घार मौरी रहेको उनले बताए । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए ।

“मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ”, उनले भने, “पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।” मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ (भर्याङ मह) सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरू भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाबाट बनाउने गरिएको सचिव घर्तीले बताए ।

“पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घार नजिक पुग्छन्”, उनले भने, “निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्याइन्छ र तलपट्टि डालीमा थापिन्छ ।” मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताउनुभयो । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ । “संस्कृति र परम्पराका रुपमा घर गाउँमा भिर महको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ”, सचिव घर्तीले भने ।

तारा खोलाकै मपेसमा रहेको तीन घार भिर मौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिर महलाई जोड्दै आएको गलकोट नगरपालिका–१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’कै आयोजना गरेको छ । वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताए ।

पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उहाँको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् । मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताए । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का अध्यक्ष भक्तबहादुर काउचाले बताए।

गाउँलेले पुस्तौंदेखि मह सिकार गर्दै आएको उनको भनाइ छ । “अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन्” वडाध्यक्ष काउचाले भने, “पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।” मह सिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उनले बताए ।

तारा खोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका–४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका