मोलम युवा क्लबले असोज २० गते सिन्धुपाल्चोक लिसङ्खुपाखर-१, स्थित ब्यार्सामा बृहत सांस्कृतिक कार्यक्रम-२०७६ सम्पन्न गरेको छ ।
गाउँपालिकास्तरीय प्रतिभालाई प्रोत्साहनका साथै कला र संस्कृति संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले श्रीसिद्धार्थ प्राथमिक विद्यालयका प्राङ्गणमा कार्यक्रममा गरेको जानकारी क्लबका अध्यक्ष सङ्गम लामाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले शुभकामना दिदै बृहत साँस्कृतिक कार्यक्रम गरी गाउँपालिकालाई प्रचार गरेकोमा धन्यवाद दिए ।अध्यक्ष नेपाल थपे- सांस्कृतिक कार्यक्रम भनेको कला, संस्कृतिको जगेर्नासँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सकिने मेरुदण्ड हो । अन्य वडाका क्लब तथा सङ्घसंस्थाहरुले समेत पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम गर्नुपर्छ, अध्यक्ष नेपालले भने ।
समारोहमा गाउँपालिका उपाध्यक्ष हेम गङ्गा मोक्तान, १ नम्बर वडाका अध्यक्ष पासाङ लाल तामाङ, २ नम्बर वडाका अध्यक्ष हस्त बहादुर तामाङ, ४ नम्बर वडाका अध्यक्ष कुमार लामा, ताङ्जो ला महाँकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा लगायत विभिन्न सङ्घसंस्थाका प्रमुखले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुले झाँक्री प्रदर्शनका साथै लामा, बोम्बोले आआफ्ना प्रस्तुति राखेका थिए । तम्बा फुर्बा मोक्तान र वीरबहादुर मोक्तानले तम्बा गीतबाट उपस्थितिहरुलाई स्वागत गर्दै डम्फू गीत, काइरन, लगायत प्रस्तुत गरेका थिए ।
स्थानीयको बाक्लो उपस्थित रहेका कार्यक्रममा गायिका जितु लोप्चन र गायक तथा सङ्गीतकार प्रयास दोङले दोलखा फेदा गाएर थप मनोरञ्जनात्मक बनाएका थिए ।
त्यसैगरी कार्यक्रममा आमन्त्रित कलाकारहरु बसन्ती लामा, रोस्ना लुङ्बा, प्रतिक मोक्तान, बैरागी च्याङ्बा, राजु लामाका साथमा स्थानीय कलाकार फुर्बा योञ्जन,पासाङ योञ्जन लगायतले बेजोड प्रस्तुति दिएका थिए ।