चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिगअन्तर्गत समूह ‘बी’ का आज भएका दुई खेलमा वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । वीरगञ्जले नेपालगञ्ज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौँडालाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् ।
लुम्बिनीको यो लगातार दोस्रो जित हो भने वीरगञ्जको पहिलो जित हो । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्ठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित २० ओभरमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ५० रनको झिनो स्कोर खडा गर्यो ।
उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न नसक्दा टिम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा वीरगञ्जका सुरज जोशीले ४ तथा केयल र पियुस शर्माले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वीरगञ्जले ४ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि सुमित कदमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगञ्जका अभी अग्रवालले १ विकेट लिए । खेलमा सुरज जोशी प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ५४ रनमात्रै बनाउन सक्यो । उसका लागि दिवेश शर्माले १५ रन बनाए पनि अन्य ब्याटर्सले दोहोरो अङ्कमा रन बुटल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले ४, शुभम अग्रवालले ३, दामोदर शर्माले २ र सोमेस अग्रवालले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५ ओभर ६ बलमा २ विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जित दर्ज गर्यो । उसको जितमा शुभम् अग्रवालले सर्वाधिक २७ रनको योगदान दिए । बलिङमा शिवम् वारियर्स हेटौंडाका आर्यन अग्रवालले २ विकेट लिए । खेलमा शुभम् अग्रवाल म्यान अफ द म्याच भए ।
प्रतियोगितामा १४ टिम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेल विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौँमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।