किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले टोलमा कुलतजन्य निषेधित क्षेत्र घोषणा गरेकोमा स्वागत गरेका छन् । यसले गाउँमा विकृति विसंगतिजस्ता कार्य हट्ने बताएका छन् ।
दशैको नवमीको दिन ताजी तामाङ एकता समाजले आयोजित कुलतजन्य वस्तु निषेधित घोषणा एवं सांस्कृतिक कार्यक्रममा अध्यक्ष लामाले यो कार्यक्रम सरकारको पनि रहेको बताउँदै सबै ठाउँमा सरकार नपुगे पनि युवाहरुले गरेको कार्य सह्रनीय रहेको बताए । उनले भने, ‘यो कार्यक्रम गाउँपालिका सहयोग गर्न तत्पर रहेको छ ।’
‘स्वच्छ, सक्षम र विकसित समाज निर्माणको लागि कुलत रहित समाज निर्माण गरौं, किस्पाङ गाउँपालिकामा रहेका महत्वपुर्ण स्थानहरुलाई पर्यटन क्षेत्रको रुपमा विकास गरौं भन्ने नाराका साथ गाउँपालिका वडा नं. २ स्थित उपल्लो ताजीमा आयोजना कार्यक्रममा जाँड, रक्सी, गाँजा जस्ता कुलतजन्य पदार्थ निषेध गरेको आयोजकले जानकारी दिए ।
पर्यटन बर्ष २०२० लाई सफल पार्न यो कार्यक्रम पनि महत्वपूर्ण रहेको सह आयोजक महादेव महिला जागरण केन्द्रले जनाएको छ ।
किस्पाङमा पर्यटकका लागि नाताङ घर, फ्युकह्री, उत्तर पखा, मुन्तलै हङकङ, लुम्बुगङ, ज्याकुता, टुँडी गङ लगायतका स्थानहरु परिचित छन् ।
यस्तै कार्यक्रममा उपाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधहरूले यो कार्यका लागि स्वागत र बधार्इ दिएका थिए ।
कार्यक्रममा म्हेन्दोमाया, दोरा लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।