फापारे गीतको महत्व


यतिखेर हाम्रो तामाङ समाजमा फापारे गीत अरु भन्दा हल्का गीतको रुपमा लिइदैछ । जात्रामात्रा, अन्य जमघट, मेलापात, घाँस दाउरा गर्दा बिना बाजा सजिलै गाइने यो गीतको गाम्भीरर्यता खासै नरहेको देखिदैछ । ठट्यौली र छेडछाडमा केन्द्रित हुँदै गएको यो गीत फापार जस्तै हलुका भएका कारण फापारे भनिएको हो भन्ने जमात पनि बढ्दै गइरहेको देखिदैछ । तामाङ समाजमा कुनै बेला अत्यन्तै महत्व दिइने यस गीत अहिले हेयको दृष्टिले हेरिदैछ र यस्तो गीत त जसले पनि गाइ हालिन्छ नि भन्ने मानसिकताको विकास भइरहेको छ । सरसर्ती हेर्दा यो कुरो स्वभाविक देखिए तापनि वास्तविक इतिहासको पृष्ठभूमि भने फरक छ ।

पृथ्वीको बनौट, जीवको विकास र मानव उत्पत्ति जादुमय तरीकाबाट एक्कासी भएको होइन । यो निकै लामो प्रक्रियाबाट बनेको कुरा भूगर्भ तथा जीव बैज्ञानिकहरुले बताएका छन् । विभिन्न धार्मिक दर्शनहरुले पनि आफ्नो दृष्टिकोणले भ्याएसम्म मानव विकास क्रमको गतिलाई समेट्न खोजेको देखिन्छ । ढुङ्गे युगबाट सामन्त युगसम्म आइपुग्दा मानिसहरु चारमूलबाट विभाजन मात्र भएनन्, थरकरणको चरणमा समेत पुगे । यसरी हेर्दा मंगोलमूलमा रहेका एक मूल मध्येका तामाङ पनि एक हो । अहिले नेपालको हिमाली तथा काठमाडौं उपत्यका वरपर लामो युग बिताए पछि थर र स्वागेभाइ संस्कारको विकास गरी तामाङका पुर्खाले अन्य जातभन्दा आफूलाई छुट्टै पहिचान दिलाउनको लागि आफ्नै समाज गठन गरे । आफ्नै नीति नियम, कानुन, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा, बाजागाजा बनाए । पुर्खाले बनाई दिएको यही पहिचानकै आधारमा आज तामाङ भनेर चिनिन सकेका छन् । तामाङलाई चिनाउने मध्येमा एक हो फापारे गीत ।

लिखित इतिहासको विकास भएको धेरै लामो समय भइसकेको छैन । जुन जुन राज्यमा लिखित इतिहास सुरु भयो त्यहाँ पनि राजनीतिक द्वन्द्व, राज्यसत्ता पलटमै इतिहास लेखनको समय केन्द्रित रह्यो । यसकारण पृथ्वीमा रहेका देशहरुमा बसोबास गर्ने जातजातिहरुको इतिहास लेखन कार्य त निकै ढिला गरी थालनी भयो । हाम्रो जस्तो अविकसित र ३ दशक अघिसम्म एकतन्त्रीय शासन व्यवस्था रहेको यो देशमा राजनैतिक इतिहास त ठिकढंगले हुन सकेको छैन भने जात जातिकोबारे इतिहास लेख्ने कुरा त परै रह्यो । प्रजातन्त्रको पुनःबहाली, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासँगै जातीय अधिकारबारे चर्को बहस उठ्ने क्रममा मात्र विभिन्न जात, जाति, आदिवासी र जनजातिहरुको इतिहासप्रति चासो पुगेको देखिन्छ । तर जात, जातिको इतिहासको खोजीमा लागेका केही अभियन्तहरुले द्वन्दात्मक भौतिकवादी दृष्टिकोण भन्दा आतिवादी दृष्टिकोणका कारण मनोगढन्ते र अतिरञ्जित ब्याख्या गरेर वातावरण नै अन्यौलमा पार्न खोजिरहेको छ । यसप्रति हामी सचेत हुन आवश्यक छ । यसले जात, जातिको विगतको उपलब्धमूलक इतिहासलाई संरक्षण र सम्बद्र्धन हैन ध्वशं गर्ने कार्यलाई बढवा दिनेछ । हामी तामाङ जातिका इतिहासप्रति चासो राख्ने अभियन्ताहरुमा पनि यस्तै समस्या छ र उनीहरु मानव र राज्यसत्ता विकास प्रणालीलाई बुझ्दै नबुझी वा बुझपचाएर आफूखुशी ब्याख्या गरिरहेका छन् । हामीले जातीय इतिहास, संस्कृति, संस्कार र नीति नियमलाई केलाउँदा कहिल्यै पनि वर्तमान समय र त्यसका केही सय वर्षअघिका समयको वरपर रहेर मात्र निष्कर्षमा पुग्नु हुन्न । फापारे गीतलाई हेर्ने दृष्टिकोण पनि यही आधारमा बनिनु पर्छ भन्ने मलाई लाग्दछ । आजको विषय पनि मैले यसैतर्फ केन्द्रित गर्न चाहन्छु ।

केही दिन अघि मात्र तेज योन्जनज्यूले फापारे गीतको पुस्तक निकाल्न तामाङ डाजाङका सम्पादक इन्द्र घिसिङज्यूसँग भेट गर्नुभएको रहेछ । इन्द्रज्यूले यो गीतको सन्दर्भबारे मसँग छलफल गर्नुभयो । यो एकदमै ऐतिहासिक कदम रहेको कुरा मैले उहाँलाई बताएँ । सम्पादन जिम्मा उहाँले पाएको हुनाले त्यसको पाण्डुलिपीका बारेमा हेर्ने मौका मैले पनि पाएँ । तर त्यो मैले सोचे जस्तो गम्भीर ऐतिहासिक थिएन । अहिले बजारमा बुझिएझैं फापारजस्तै हल्का फापारे संग्रह थियो । लेखकसँग यसबारे केही विचार विमर्स गर्न पायौं । उहाँले पनि यसको ऐतिहासिक महत्वलाई स्वीकार्दै आगामी दिनका संस्करणहरुमा परिमार्जन गर्दै लैजाने बाचा गर्नुभयो । यो अत्यन्तै सकारात्मक पक्ष हो । उहाँ सच्चिन किन तयार हुनु भयो भने उहाँ आफै जीवनको लामो समयसम्म जात्रामात्रामा घन्टा, दिन र तीनदिनसम्म गीत गाउने मान्छे हुनुहुन्थ्यो । त्यो बेला गीतमा के के विषयहरु हुनेगर्दछ भन्ने कुरा उहाँलाई छलफलले ताजा स्मरण गराई दियो ।

फापारे ह्वाई तामाङ गीत निर्माणको इतिहासकै पुरानो गीत हुनुपर्दछ । मातृसत्ताताका र तामाङ जातिमा बाजागाजा निर्माणअघि यो गीतको परम्परा सुरुभएको हुनुपर्दछ । हुनु त ०४७ को प्रजातन्त्रको पुनस्थापना अघिसम्म पनि गाउँघरका तामाङहरु मातृसत्ता पारिवारिक संरचनामा अन्तरगत नै चल्ने गर्दथ्यो । यसले गर्दा नेपालमा अन्य जातको तुलनामा तामाङको मातृसत्ता युगको गन्ति धेरैपछि हुन जान्छ कि भन्ने मेरो अनुमान छ । यसो त तामाङ भाषा पनि कति पुरानो हो, यसबाट पनि यो गीतको जन्मसमय अनुमान लगाउन सकिन्छ । तामाङले सिर्जना गरेको डम्फू बाजाको प्रारम्भिक युगभन्दा अहिले बोलीचालीमा रहेको भाषा पछि देखियो भने सायद त्यसभन्दा अगाडि तामाङहरु अरु नै भाषा बोल्दथ्यो भन्ने पनि प्रमाणित हुनेछ । ताम्बा, बोम्बो र फापारेमा रहेको कतिपय वाक्यांशहरु आजको चलनमा रहेको भाषासँग मेल नखानुबाट पनि यो प्रमाणित हुनेछ । यति मात्र होइन, गीतमा कुनै बाजागाजा, नाचगान नहुनु र जीत हारको बाजी हुँदा लोग्ने मान्छे हारे स्वास्नी मान्छेले आफू विवाहित भए पनि श्रीमान बनाए लान पाइने र त्यसलाई समाजले सहर्ष स्वीकार्नुबाट पनि यो मातृसत्ता ताकाकै गीतको अंश रहेको पुष्टि हुन्छ । फापारे गीत तामाङ जातिको यस्तो गीत हो जुन गीतमा पृथ्वीको सृष्टिदेखि देवीदेवता, जन्मदेखि मृत्यसम्मको संस्कार, म्हाने र चिहान दिने (गाउँखाने कथा), उखान टुक्का, गाउँठाउँ र मान्छेको प्रवृत्ति अनि तरुनी तन्नेरीको ख्यालठट्टा, प्रेम, समर्पण र रोमान्स, दुःख र पीडाको बयान, अभाव र गरिबी, सम्पन्नता र सुखको बयान एकै ठाउँमा अटेको हुन्छ । तामाङ जातिको सिङगो दर्शन नै अटेको हुनाले बिना बाजा पनि यो गीतले सात दिन सात रातसम्म बालक, युवायुवती, अधवैंशे र बुढाबुढीलाई मात्र नभई जात्रा हेर्न आउने हुललाई नै मन्त्रमुग्ध पारी बाँधी राख्न सकेको हो । तर, अहिले आएर लामो सयमसम्मको जात्रामात्र हराइसकेको छ । हाट बजार वा एकराते दुइराते जात्रा पनि जीवनजगतलाई बुझ्ने गीतभन्दा यौनिक र रोमाञ्चक गीतको बाजागाजा तथा नाचगानले ढाक्दै गएको अवस्था छ । अंग्रेजी, हिन्दी त्यसपछि नेपाली गीतले बजार पिटेको छ । यसबाट बचेखुचेका डाँडापाखामा सेलो र डम्फूरे गीतहरुले ठाउँ ओट्ने र बल्ल मात्र हल्का बन्दै गएको फापरे गीतले ठाउँ पाउने गरेको छ । यो तामाङ गीति दर्शनको महान इतिहासको दुखद् अवसानको संकेत हो ।

‘चरिला कामाइ दोङला नाइ, एसेमा ङ्यान्गो पाङला ङाइ…’ बोलबाट आफूलाई चरीजस्तै स्वतन्त्र बनाएर गाउनेले आरम्भ गरिने यो गीत दौतरी खोज्दै बजारमा भाका फ्याल्दा गाउन खोज्नेको परिचय मागिन्छ । आफ्नै ह्रुइ र स्वाँगे भित्रको नपरुन् भनेर यसो गरिएको हो । फापारे हुनुपूर्व सायद यो गीत फापा हुनुपर्दछ । फापारे ह्वाइ पुस्तकका लेखक तेज योन्जन पनि यस विचारप्रति सहमत देखिन्छन् । लामो दिन होस् या छोटो दिन चल्ने जात्रामात्रा यसमा गाउँदा अनुशासनको व्यापक घेरो हुन्छ । गायक विवाहित हो भने छेवैमा आफ्ना श्रीमति, आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, गाउँले, नाता कुटुम्बा र चिनेजानेकाहरु बसेका हुन्छन् । श्रीमतिका पनि आमा बाबु, दाजुभाइ, दिदीबहिनी वा अन्य आफन्तजनहरु हुन्छन् । गायिकाको पनि यसरी विवाहित भए श्रीमान सहति र नभए माथि उल्लेखित उपलब्ध आफन्तजनहरु रहने गर्दछन् । ती आफन्तजनहरु रमिते, स्रोता मात्र होइनन् साक्षी समेत हुन् । गायक वा गायिका हारेमा तिनै आफन्तहरुको रोहबरमा सगुन राखेर जित्नेलाई हाँसि खुशीसाथ सुम्पेर पठाउने प्रचलन थियो । अहिले भने मानव जीवनको बदलिदों परिस्थिति, राज्यको कानुनी दायरा र आधुनिक जीवन पद्दतिले यस कुरालाई अस्वीकृत गर्दछ । यसरी समाजलाई साक्षी राखेर हार्नेले सशरीर दिनुपर्ने वा तिर्नु पर्ने भएकोले गीत गाउँदा नै उसले आफूलाई चरीको तुलना गरेको हुनुपर्दछ । जसको घरबारको ठेगान हुँदैन । तिर्नै पर्ने गीत भएका कारणले उसले आफ्नै ह्रुइ र स्वाँगेभाइसँग गीत नगाएको पनि हुनसक्दछ । पुराना बुढापाकाका अनुसार यो गीत युवायुवती मात्र नभई युवा युवाबीच पनि गाइन्थ्यो । हार्ने युवा जित्नेको दास बनेर गएको थुप्रै उदाहरणहरु आज पनि जनश्रुतिमा रहेको छ । ऊ बेला ज्ञानको विशाल भण्डार नभएकाहरु यो गीत गाउने आँट गर्दैनथे । यसलाई समयमै लिपीबद्ध गर्न सकेको भए सायद तामाङमा महाभारत, रामायण भन्दा विशाल पुस्तकको सिर्जना हुनेथियो । अब त यो सम्भव छैन । फापारे गीत गाउन सक्ने बुढाबुढी बितिसकेका छन् । नयाँ निस्केकाहरु र अहिले सिक्दै गरेकाहरुले यसको यति ठूलो विरासत बोकेको इतिहासलाई बिर्सेर केटाकेटी बीचको ठट्यौली गीत मात्र हो भन्ने बुझेका छन् ।

तपाईको प्रतिक्रिया