संयुक्त राष्ट्रसङ्घले सोमबार युद्धग्रस्त यमनमा हैजाका कारण बिग्रँदै गएको प्रकोपको बारेमा चिन्ता व्यक्त गरेको छ । यसमा मुख्यरूपमा हुथी विद्रोहीद्वारा नियन्त्रित क्षेत्रमा अक्टोबरयता ४० हजारभन्दा बढी संदिग्ध मामिला देखिएका छन् ।
“हामी द्रुतरूपमा बिग्रँदै गएको हैजाको प्रकोपका बारेमा गहिरो चिन्तित छौँ । अहिलेसम्म ४० हजार संदिग्ध मामिला र एक सय ६० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरिएको छ । गत महिना हाम्रो अद्यावधिकपछि तीव्र वृद्धि भएको छ”, राष्ट्रसङ्घीय मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषदलाई भने, “अधिकांश हुथी नियन्त्रित क्षेत्रमा हरेक दिन सयौँ नयाँ मामिला देखिएका छन् ।”
ती क्षेत्रहरूमा अक्टोबरदेखि ३४ हजार संदिग्ध मामिला रिपोर्ट गरिएका छन् । यसको तुलनामा सरकार नियन्त्रित क्षेत्रमा छ हजार संदिग्ध घटनाहरू रिपोर्ट गरिएका छन् । सन् २०२४ को लागि यमनको लागि राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया योजनाको लागत दुई अर्ब ७० करोड डलर अनुमान गरिएको छ । अहिलेसम्म १६ प्रतिशत मात्र वित्त पोषित भएको छ ।
सन् २०१४ मा इरान समर्थित हुथीहरूले राजधानी सानामाथि कब्जा जमाएपछि यमन द्वन्द्वको चपेटामा परेको छ । यसबाट अर्को वर्ष सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य हस्तक्षेप सुरु भएको थियो । राष्ट्रसङ्घका अनुसार लडाइँमा वा खाद्यान्न अभाव जस्ता अप्रत्यक्ष कारणले लाखौँको मृत्यु भएको छ ।