नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भएको कम्पनी एनसेलले फाइभजी योजना डाटा ‘सधै अन’ घोषणा गरेको छ । काठमाडौंको म्यारिट होटेलमा एक कार्यक्रमको आयोजना गरी फाइभजी भिजनमा आधारित हुँदै आकर्षक डाटा ‘सधै अन’ योजना ल्याएको घोषणा गरेको हो।
‘सधै अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो व्यालेन्स सक्किने डर नगरी डाटा सधैं अन राख्न सकिने एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले बताएका छन् । ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु नपर्ने बताइएको छ ।
‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधै अनु अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।
इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग वापत व्यालेन्स कटाइदिई रहेको हुन्छ । यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको एनसेलले बताएको छ। ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पांच दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको पनि कम्पनिले बताएको छ ।
फाइभजी, द्रुत इन्टरनेट मात्र नभएर अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता भएको जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्ने कम्पनिले जनाएको छ । मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ। सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ।