उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग आज विविध विषयमा कुराकानी भएको छ । काठमाडौँको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गरे ।
उनले भने, “नेपाल र युरोपियन युनियनबीच सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ, युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ ।” मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयमा नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताए । उनले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न सङ्कटलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहायताको आवश्यकता रहेको उल्लेख गरे ।
“नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा सन् २०२६ सम्ममा स्तरोन्नती हुने जमर्को गरिरहेको छ, यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको छ”, मन्त्री भण्डारीले भने । नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने उल्लेख गरे । उनले सहकार्यलाई अझै गहिरो बनाउँदै पारस्पारिक सम्बन्धलाई अगाडि बढाउने बताए । “हामी कोरोनापछिको आर्थिक पुनरूत्थान र विकासशील राष्ट्रको स्तरोन्नतीको प्रयासमा रहेको हुनाले विभिन्न विकास निर्माणमा थप लगानीको आवश्यकता छ”, उनले भने । सो क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरे। उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरोपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरे ।