हालै अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको तामाङ कोअप्रेसन सोसाइटी अफ् क्यालिफोर्नियाले सानफ्रान्सिस्कोको बे एरियामा एउटा भवन सहितको ८ रोपनी (एक एकड) जग्गा किनेर ‘तामाङ सांस्कृतिक भवन’ स्थापना गरेको समाचार (अप्रिल १०, २०२४) सार्वजनिक भएको छ । तामाङहरू जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँ गुठी वा संस्था स्थापना गरेर आफ्नो पूर्खाको सांस्कृतिक धरोहरलाई पुस्तौं पुस्तासम्म जोगाइ रहेका हुन्छन् । तामाङ सांस्कृतिक धरोहर भनेको तामाङ ‘सामुदायिता’ अर्थात् तामाङ ‘सामुदायिक जीवन दर्शन’ हो । आज म यस लेख मार्फत् विश्वभरिका तामाङ सङ्घ संस्थाको इतिहासको पाना पल्ट्याउने प्रयास गर्दैछु ।
हो तामाङ[1] जातिले सामाजिक संस्था स्थापना गरेको एक शताब्दी नाघी सकेको छ । दार्जिलिङका तामाङहरूले सर्वप्रथम सन् १९२२ मा नै नेपाली तामाङ बौद्ध एसोसिएसन स्थापना गरेका थिए (कुमार प्रधान, सन् २००४:) ।[2] भारतमा स्थापित नेपाली संस्थाहरू मध्ये यो संस्था सबैभन्दा जेठो हो । यो संस्था स्थापना भएको दुई वर्ष पछि अर्थात् सन् १९२४ मा दार्जिलिङमा नेपाली भाषा तथा साहित्य संस्था नेपाली साहित्य सम्मेलन स्थापना भयो । अनि तीन वर्ष पछि जुलाई २६, १९२५ का दिन कालेबुङमा लिम्बु जातिले आफ्नो जातीय संस्था याक्थुङहाङ चुम्लुङको स्थापना गर्यो (अमर तुम्याहाङ, २०६९:१०) । त्यस ताका भारतमा ब्रिटिस सत्ता (सन् १६००-१९४७) निकै उत्कर्षमा थियो । नेपाली तामाङ बौद्ध एसोसिएसन भन्दाअगाडि कुनै संस्था थिएन ।
तामाङ जातिको संस्थागत सक्रियता यसभन्दा पनि अगाडि अर्थात् १०९ वर्ष पुरानो देखिन्छ । यस जातिले सन् १९१५ मा नै दार्जिलिङको तकलिङ बस्तीमा फुन्छोक छ्योइलिङ गुम्बा निर्माण गरेको आधिकारिक अभिलेख पाइन्छ (प्रताप बल, २०६६:३३) । यसरी सक्रियताको दृष्टिबाट हेर्दा पहिलो विश्वयुद्ध ताका नै विदेशमा पुगेर तामाङ जातिले ठोस कार्यको लागि क्रियाशील भएका रहेछन् भन्ने सङ्केत गर्दछ ।[3]
सन् १८६६ मा वर्तमान आकारको दार्जिलिङ जिल्ला बन्यो ।[4] दार्जिलिङमा चियाखेती सुरु भएपछि कामको लागि नेपालीहरूको प्रवेश तिब्र गतिमा हुन थाल्यो ।[5] सन् १८७२ मा नेपाली जनसङ्ख्या ९४,७१२ रहेकोमा ३० वर्ष पछि नै सन् १९०१ मा २४९,११७ पुग्यो अनि सय वर्ष पछि सन् १९७१ मा ७८१,७७७ पुग्यो ।[6] यस तथ्याङ्कले दार्जिलिङमा नेपाली जनसङ्ख्या वृद्धि तिब्रतर गतिमा भएको रहेछ भन्ने पुष्टी गर्दछ ।
इतिहासकार कुमार प्रधानले आफ्नो लेखमा नेपाली तामाङ बौद्ध एसोसिएसन संस्थाको मुख्य उद्देश्य ‘बौद्ध धर्मको प्रचार र प्रसार’ थियो (प्रधान, २००४:९) भनेता पनि मेरो विचारमा सो होइन ।[7] नाममा ‘बौद्ध’ शब्द जोडिँदैमा बौद्ध धर्म प्रचार प्रसार हो भन्न भुल हुन सक्दछ । उदाहरणको लागि अखिल भारतीय तामाङ बौद्ध सङ्घको उद्देश्य बौद्धधर्मको प्रचार गर्नु होइन, तामाङ जातिको हकहित र पहिचान उद्बोधन गर्नु हो । धर्म त जातिसँग गाँसिएर आउने एउटा पाटो हो । ‘हामी बौद्ध हौँ, अन्य धर्मालम्बी होइनौँ’ भन्ने अर्थमा पनि यस्तो नामकरण गरेको हुनसक्दछ । नेपाल तामाङ घेदुङको स्थापना गर्ने क्रममा पनि ‘नेपाल तामाङ बौद्ध घेदुङ’ नाम प्रस्तावित थियो।
भारत स्वतन्त्र (सन् १९४७) हुनु भन्दा निकै अगाडि अङ्ग्रेज शासन कालमा नै तामाङ लगायतका सङ्घ संस्था स्थापना भएको देखिन्छ तर नेपालमा भने राणा शासनकाल (१९०३-२००७) मा कुनै जातीय संस्था स्थापना भएको जानकारी हालसम्म बाहिर आएको छैन। निरङ्कुस राणाकालको अन्त्य गर्दै २००७ (सन् १९५०)[8] मा नेपालमा प्रजातन्त्रको स्थापना भएपछि मात्र तामाङ लगायतका समुदायहरू सल्बलाउन थालेको देख्न सकिन्छ ।
१. नेपालका तामाङ सङ्घ-संस्था
नेपालमा सर्वप्रथम कार्तिक १, २००९ मा अखिल नेपाल बुद्ध धर्म सङ्घ स्थापना गर्न तामाङहरू जुटेको प्रमाण पाइन्छ । र, यसैगरी नेपाल तामाङ समाज सुधार समिति गठन गर्न पनि उनीहरूले विधानको प्रारम्भिक ड्राफ्ट तयार गरेका थिए । अनि प्रजातन्त्रको स्थापना भएको छ वर्ष पछि तामाङहरूले २०१३ सालमा नेपाल तामाङ समितिको स्थापना गरे। सो समितिका घोषणापत्र र विधानको मस्यौदा तयार गरिएका थिए । यस समितिले आफ्नो उद्देश्यमा ‘संस्कृति, भाषा र धर्म सम्बन्धिका वस्तुहरूको तलास गरी जातीय सुरक्षाको लागि यसको अनुसन्धान गरी समाजमा भएका पूराना नचाहिँदा रूढीवादीलाई हटाई समाजमा सुहाउँदो व्यवहारमा परिणत गराउने’ र ‘सामाजिक एकता, आर्थिक, सामाजिक, मानसिक ज्ञान र जातीय सुधार अनि शिक्षामा जोड दिइने’ अठोट व्यक्त गरेको देखिन्छ ।[9]
अनि सदस्यताको परिच्छेदमा ‘यो समितिमा तामाङ, भोटे, शेर्पा, थकाली, लाप्चे, गुरूङ र अरू जाति पनि सदस्य बन्न चाहेमा १६ वर्ष माथिका पुरूष अथवा स्त्री समितिको सदस्य बन्न सक्नेछन्’ (दफा ३.क) भनी सदस्य वितरण खुला राखिएको देखिन्छ । आउँदा दिनहरूमा किन गैरतामाङहरूलाई पनि सदस्यता दिन चाहेका होलान् भनेर हामीले यसका कारणहरू खोतल्नु पर्छ भन्ने मलाई लाग्दछ ।
नेपाल तामाङ समितिका सदस्य मध्येका एकजना पि.एस. वाइबासँग स्योम्हेन्दो पत्रिकाका सम्पादकको हैसियतले मैले २०४६ मा एउटा लामो अन्तर्वार्ता लिएको थिएँ । सो अन्तर्वार्तामा व्यक्त विचार अनुसार नेपाल तामाङ समितिले चाड पर्व, मेला, उत्सव आदिमा पानी वितरण गर्ने जस्ता सामाजिक काम गर्ने गरेको बताएका छन् । स्योम्हेन्दो पत्रिका (२०४६) भन्दा अगाडिका तामाङ पत्रपत्रिका र पुस्तकहरूमा यस समितिका काम र सेवाबारे के कस्ता समाचार तथा जानकारी छापिएका छन् त्यसतिर अनुसन्धाताहरूको ध्यान जान सके तामाङ संस्थाको इतिहासले एउटा ठोस आकार लिने देखिन्छ ।
नेपाल तामाङ समितिमा प्रथम तामाङ पुस्तकका लेखक बुद्धिमान मोक्तान, सन्तवीर लामालगायतका तामाङ हस्तीहरू थिए । तत्कालीन राजा महेन्द्रले २०१७ मा प्रजातन्त्रलाई ‘कु’ गरेर पञ्चायती व्यवस्था स्थापना गरेसँगै राजनीतिक दलहरू प्रतिबन्धित भए र तामाङ लगायतका जातीय संस्थाहरू पनि यसको मारमा परे अनि सामाजिक गतिविधिहरू बन्द भए । यसका साथै रेडियो नेपालबाट प्रशारण भइरहेको नेवाः भाषाको समाचार र कार्यक्रम पनि २०२२ मा बन्द गरिएको थियो ।
क्रुरतम् पञ्चायतीकाल (२०१७-२०३६) मा पनि नेपालका तामाङहरू सामाजिक उत्थानको लागि उकुसमुकुस देखिन्छ । गणेशबज्र लामा, चन्द्रसिंह लामा, पारिजात, माननीय छेवाङ सोनाम तामाङ, माननीय आङदण्डी लामा र दावा फिन्जो तामाङको संरक्षकत्व र टाशी फिन्जो लामा ‘टुल्कु’ र इमानसिंह लामाको सम्पादन तथा प्रकाशनमा ‘थ्विन्डेल’ पत्रिका (मङ्सिर २०३३) प्रकाशित भएको थियो। सम्पादकीय र प्रकाशकीय नभएकोले यस पत्रिकाको उद्देश्य, तत्कालीन परिस्थितिको बारेमा केही भन्न सकिन्न । यस पत्रिकामा सीताराम तामाङको ‘भोटे जातिको इतिहास’ र तामाङ परम्परागत लोकगीतहरू सङ्कलित छन् ।
एक दिन म न्युलाइट साप्ताहिक पत्रिकामा कार्यरत् रहेको समयावधिमा (२०३७) सो पत्रिकाका पुरानो अङ्कहरू पल्टाइ रहँदा एउटा समाचार शीर्षकमा मेरो आँखा पर्यो- ‘पहिलो राष्ट्रिय तामाङ सम्मेलन’। सो समाचार अनुसार प्रवुद्ध तामाङहरूले तामाङ सेवा गुठी (२०३६) को स्थापना गरेर भदौ महिनामा पहिलो राष्ट्रिय तामाङ सम्मेलनको आयोजना गरेका रहेछन् । उक्त सम्मेलनमा काठमाडौँलगायतका विभिन्न जिल्लाका तामाङ प्रतिनिधिहरूले तामाङ जाति पछाडि पार्नुका कारण र निराकरणका उपायहरूबारे आ-आफ्ना धारणा पोखेका रहेछन्।[10] समाचारको शीर्षकमा रहेको ‘प्रथम’ शब्दले सोभन्दा अगाडि तामाङ सम्मेलन नभएको जनाउँछ। यसबारे पनि हाम्रो खोज हुनुपर्छ र यथार्थ सार्वजनिक हुनु पर्दछ ।
‘नेपाल अधिराज्यमा तामाङको यो एक मात्र[11] स्वीकृत सङ्गठन हुनेछ’ (दफा २.ख) भनेर दावी गरिएको तामाङ सेवा गुठी (तासेगु) को मुख्य उद्देश्य अगिल्ला सामाजिक संस्थाहरूको जस्तै आफ्नो भाषा, संस्कार-संस्कृति, धर्म आदिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु, आफ्नो जातिको हकहितको लागि आवाज उठाउनु नै देखिन्छ । यसका साथै यस गुठीले जातिगत तथ्याङ्क राख्ने (दफा ५.झ), भाषा, व्याकरण र लिपिको संरक्षण र विकास गर्ने (दफा ५.ञ), इतिहासको अनुसन्धान गर्ने (दफा ५.ट) जस्ता नयाँ उद्देश्य र लक्ष्य पनि यस गुठीले लिएको देखिन्छ ।
सदस्य निलम्बन तथा निष्काशनको सम्बन्धमा गज्जबको व्यवस्था गुठीको विधानमा देखिन्छ- ‘अन्य जातिका पुरुषसँग विवाह गर्ने तामाङ महिला (दफा ८.ख) र बौद्ध धर्म त्याग गरी अन्य धर्म अवलम्बन गर्ने सदस्यको सदस्यता खारेज हुनेछ’ (दफा ८.ग) । सदस्यता खारिजी सम्बन्धि यस्ता दफाहरू पछिल्ला संस्थाका विधानहरूमा देखिँदैन ।
चौथो तामाङ संस्थाको रूपमा देखिएको यस तासेगुको कार्यालय काठमाडौँको पुतलीसडकमा थियो। तत्कालीन महासचिव निर्मलकुमार लामासँग गरिएको कुराकानी अनुसार सङ्घ, सङ्गठन वा समिति भनिदा सरकारको कुदृष्टि पर्ने भएकोले ‘गुठी’ राखिएको भन्ने उनको तर्क हुन्थ्यो । त्यतिबेला यस संस्थालाई पञ्चहरूको जमघटको थलो भनेर आरोप लाग्ने गर्दथ्यो । त्यत्तिबेलाका सबै जसो जल्दा बल्दा नेता र अग्रजहरू जुद्दवीर लामा, अष्टबहादुर लामा, पेम्बा तामाङ, वीरबहादुर लामा, बुद्धिमान तामाङ, सत्यमान लामा, तिलकबहादुर नेगी आदि यस गुठीमा देखिन्थे ।
निरङ्कुस पञ्चायती सत्ता विरूद्ध चर्केको विद्यार्थी आन्दोलनलाई साम्य पार्न ‘निर्दल वा वहुदल’ छान्ने अधिकार पाएको अवधिमा तामाङहरूमा जागरण आएको देखिन्छ । यसै अवधिमा उनीहरूले तामाङ सेवा गुठीको स्थापना गर्दै तामाङ सम्मेलन समेत गरेको देखिन्छ । यसै अवधिमा काठमाडौँमा रहेका आदिवासी बुद्धिजिवीहरूले छहरा, अन्तर्वार्ता, इनाप लगायतका साप्ताहिक समाचारपत्रहरू र कोङ्पी, पारूहाङ लगायतका विचार प्रधान मासिक पत्रपत्रिकाहरू प्रकाशन गर्न प्रारम्भ गरेका थिए । छहरा साप्ताहिक लगयातका कतिपय तत्कालीन पत्रपत्रिका हाल पनि प्रकाशित भइरहेका छन् ।
तासेगु स्थापना भएको चार वर्षपछि बौद्धका चिनियाँ लामासमेत रहेका गणेशबज्र लामाको अध्यक्षमा तामाङ भाषा संस्कृति विकास समिति (२०४०) स्थापना भयो । संस्थाका महासचिव थिए- परशुराम तामाङ । मूल उद्देश्य थियो- तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण, संवर्द्धन र सुधार गर्नु ।[12] यस संस्थाबाट ‘तामाङ भाषा संस्कृति विकास समिति बुलेटिन-१’ (२०४०) र ‘रिमठिम-२’ (२०४२) शीर्षकको पत्रिका र एउटा भित्रेपात्रो पनि प्रकाशित भएको थियो ।
यो संस्था स्थापना हुँदाको बखतसम्ममा जनमत सङ्ग्रह (२०३७) सम्पन्न भएर सुधारिएको पञ्चायती व्यवस्थाको पहिलो आमनिर्वाचन (२०३८) सम्पन्न भइसकेको थियो र सोही वर्ष नेपालको राजनीतिक इतिहासमा पहिलो पल्ट एकजना तामाङ तिलक बहादुर नेगी सहायक मन्त्री बनेका थिए ।
यसै क्रममा स्योम्हेन्दो मासिक पत्रिका (२०४५) जेठदेखि प्रकाशन प्रारम्भ हुन थाल्यो । काठमाडौँको म्हेपीबाट प्रकाशित आधा फर्माको यस पत्रिकाले तामाङ जातिको समग्र पक्षलाई आफ्नो लेखनको क्षेत्र बनाउन थाल्यो । आधा दर्जन जति सम्पादक रहेको यो पत्रिका ५०० प्रति निस्कन्थ्यो, सम्पादकहरूले तामाङहरूको घर घरमा पुगेर र बाटो बाटोमा उभिएर पनि हात हातमा बिक्री गर्ने पनि गरिन्थ्यो । पाठक खोज्ने क्रममा नै माघ २०४५ देखि महिना महिनामा तामाङ साहित्यिक गोष्ठी पनि आयोजना गर्न थाल्यो । प्रकाशकको नाम थियो- स्योम्हेन्दो थेत्मा ।
यस स्योम्हेन्दो संस्थाले भदौ २४ र असोज १२, २०४६ मा दुई पटक तामाङ भेलाको आयोजना गरेर तत्कालीन तामाङ बौद्धिक व्यक्तित्वहरू र संस्थाहरू- तामाङ सेवा गुठी (२०३६), नेपाल कोकोम्हेन्दो बौद्ध सङ्घ (२०३९), तामाङ भाषा संस्कृति विकास समिति (२०४०), तामाङ युवा क्लब (२०४०) र नेपाल तामाङ विद्यार्थी समिति (२०४६) को उपस्थिति गराएर एउटा राष्ट्रिय संस्था निर्माणको लागि प्रयास गर्यो । परिणामस्वरूप वृहत् तामाङ भेला तयारी समिति बन्यो र एउटा वृहत् भेला मार्फत् नेपाल तामाङ घेदुङ (नेताघे) को स्थापना गर्न सफलता पायो । उक्त ऐतिहासिक वृहत् भेला २०४७ को जेठ २६-२७ मा काठमाडौँमा सम्पन्न भएको थियो ।
स्योम्हेन्दो थेत्माद्वारा आयोजना गरिएको उक्त भेलाहरूमा तामाङ सेवा गुठीबाट महासचिव निर्मल कुमार लामा, तामाङ भाषा संस्कृति विकास समितिबाट महासचिव परशुराम तामाङ, नेपाल कोकोम्हेन्दो बौद्ध सङ्घ (२०३९) बाट अध्यक्ष परमानसिंह मोक्तान, तामाङ युवा क्लब (२०४०)बाट सचिव विकास लामा, नेपाल तामाङ विद्यार्थी समिति (२०४६)बाट अध्यक्ष बमबहादुर मोक्तान र र स्योम्हेन्दो थेत्माबाट अमृत योन्जनको नियमित उपस्थित हुने गर्दथ्यो ।
नेपाल तामाङ घेदुङ स्थापना हुँदा तामाङ सेवा गुठीका तत्कालीन महासचिव निर्मल कुमार लामा नेपाल तामाङ घेदुङका पहिलो अध्यक्ष भए भने तामाङ भाषा संस्कृति विकास समितिका महासचिव परशुराम तामाङ महासचिव भए । अन्य संस्थाका प्रतिनिधिहरू विभिन्न पदहरूमा रहे । सो भेलाले पदाधिकारी सहित १७ सदस्यहरू सर्वसहमतिबाट छनौट गरिएको थियो (हे० नेपाल तामाङ घेदुङको स्मारिका २०४७)। आजसम्म पनि उल्लेखित संस्थामध्ये कुनै पनि घटकले उत्छेदनका स्वर अभिव्यक्त गरेको सुनिएको छैन। ‘इन्टिग्रेसन’ (अन्तरिक एकिकरण) को राम्रो नमूना हालसम्म ती तत्कालीन तामाङ संस्थाहरूले देखाएको देखिन्छ ।
स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेपाल तामाङ घेदुङ (जेठ, २०४७) ले तामाङ जातिको प्रतिनिधित्व गर्ने गरेको छ। तामाङ हकहित र पहिचानको सन्दर्भमा आवाज बुलन्द गर्ने गरेको छ । मुलतः ‘तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, संस्कृति, समाज व्यवस्था, इतिहास आदिको विषयमा अध्ययन अनुसन्धान गरी पत्रपत्रिका, पुस्तकपुस्तिका प्रकाशन गर्ने, विद्यालय सञ्चालन गर्ने, फिल्म, क्यासेट सार्वजनिक, प्रवचन गोष्ठी, सभाद्वारा प्रचार र रेडियो, टेलिभिजनको माध्यमबाट प्रसारण गरी तामाङ भाषा, धर्म, संस्कृति, कलाकृतिको संरक्षण एवं सम्वर्द्धन गर्ने’ (दफा २.ङ) र ‘तामाङ समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृद्धिको लागि कार्य गर्ने’ (दफा २.च) उद्देश्यका साथ यो संस्था क्रियाशील रहिआएको छ ।[13]
यस संस्थाको मुखपत्रको रूपमा ‘छारम्हेन्दो’ मासिक पत्रिकाको प्रकाशन हुने गरेको छ । यसका साथै विभिन्न शीर्षकमा स्मारिकाहरू प्रकाशित हुने गरेको छ । दुई दर्जनको हाराहारीमा पुस्तकपुस्तिका आदि प्रकाशित छन् । यसका अतिरिक्त विभिन्न जिल्ला स्तरीय र प्रदेश स्तरीय समितिहरूबाट पनि पुस्तकपुस्तिका, पत्रपत्रिका र स्मारिका आदि प्रकाशित हुने गर्दछ ।
नेताघे स्थापनापछि तामाङ भाषा र साहित्य विकासको लागि तामाङ ग्योइ थेन सेमल्हेङ सेङजाङ (२०४८) र तामाङ डाजाङ (२०५८) लगायतका संस्थाहरू, सञ्चार क्षेत्रमा कार्यरत् पत्रकारहरूको हकहितको लागि तामाङ सञ्चार समूह (२०६८), कलाकारहरूको हितको लागि नेपाल तामाङ कलाकार सङ्घ, ताम्बाहरूको संरक्षणको लागि नेपाल ताम्बा सङ्घ आदि विषय केन्द्रित तामाङ सङ्घ संस्थाहरू स्थापित भएका छन् ।
तामाङ भाषा र साहित्यको उत्थानको लागि स्थापित तामाङ ग्योइ थेन सेमल्हेङ सेङजाङ (सेङ्जाङ)[14] ले तामाङ भाषा र साहित्य क्षेत्रमा उल्लेखनीय काम गरेको देखिन्छ ।[15] यस संस्थामा अमृत योन्जन-तामाङ, प्रताप बल तामाङ, दुपवाङ्गेल मोक्तान, ध्यानबहादुर मोक्तान, रमिता बललगायतका सदस्य रहे । यस संस्थाका सदस्यहरूले प्राविधिक तथा परिभाषित तामाङ शब्द निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका छन् । उनीहरूले घेदुङ, सेङ्जाङ, सेमल्हेङ जस्ता एक सयको हाराहारीमा तामाङ शब्द निर्माण गरेका छन् । उनीहरूले सात दर्जनजति पुस्तक प्रकाशित गरे । तामाङ शब्दकोश र तामाङ व्याकरण प्रकाशित गरे । स्योम्हेन्दो पत्रिकालाई २३ अङ्कसम्म निरन्तरता दिए । यसैगरी तामाङ डाजाङसँगको सहकार्यमा एक दर्जन जति तामाङ भाषामा पुस्तक पनि प्रकाशित गरे । यो संस्था २०५२ सम्म सक्रिय र त्यसपछि २०६२ सम्म सुषुप्त देखिन्छ । वास्तवमा तामाङ वाङ्मय जगतको शुन्यतालाई सेङजाङले चिरेको थियो । यस संस्थाका तीनजना सदस्यहरू अमृत योन्जन-तामाङ, प्रताप बल तामाङ, दुपवाङ्गेल मोक्तान अझै पुस्तक लेखनमा सक्रिय छन् र उनीहरूले तामाङ वाङ्मयमा सात दर्जन जति पुस्तक थपेर तामाङ वाङ्मयको जग बलियो बनाएका छन् ।
सेङ्जाङ सुस्ताएको अवस्थामा तामाङ युवाहरूको अर्को एउटा डफ्फाले माघ २०५८ मा तामाङ डाजाङको स्थापना गर्यो र यस संस्थाले मूलतः तामाङ साहित्यको उन्नयनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थाल्यो । २१ वर्षको उमेर टेक्दा समेत यस संस्थाको जोस सेलाएको देखिँदैन । तामाङ डाजाङ मासिकको २०० औँ अङ्क प्रकाशित गरेको छ र चार दर्जन जति पुस्तकपुस्तिका प्रकाशित गरिसकेको छ । यो संस्था बहुआयमिक छ । नियमित रूपमा प्रति महिना तामाङ साहित्यिक गोष्ठी सङ्चालन गर्दै आइरहेको छ । रेडियो सगरमाथा एफएमबाट ‘तामाङ काइ’ कार्यक्रमको श्रृङ्खला चलाउने गरेको छ र तामाङ श्रष्टाहरूको साहित्यिक यात्रा पनि सञ्चालन गर्ने गरेको छ ।
तामाङ डाजाङका जस्तै उद्देश्य बोकेका पुपुम्हेन्दो तामाङ ग्योइकाइ थेमे (असार २०५९, काभ्रेपलाङ्चोक), तामाङ स्रष्टा समाज (साउन २०६५, काठमाडौँ), तामाङ सेमल्हेङ न्हान (बैसाख २०६८, भक्तपुर), नाङ्सल क्लब नेपाल (बैसाख २०६८, काठमाडौँ), प्राङबोला छारन्हान (सिन्धुली) आदि तामाङ साहित्यिक संस्थाहरू स्थापित भए र ती संस्थाहरूले तामाङ साहित्यिक गोष्ठी, पत्रिका प्रकाशन तथा पुस्तकपुस्तिका प्रकाशन र रेडियो कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यी संस्थाहरू मार्फत् तामाङ साहित्य निरन्तर चुलिरहेको छ ।
तामाङ सामाजिक सङ्घ संस्थाहरूमा नेपाल तामाङ राष्ट्रिय महासङ्घ (२०५९) र नेपाल तामाङ राष्ट्रिय घेदुङ (?) को पनि स्थापना भए । पहिलो संस्थाले सामाजिक गतिविधि सञ्चालन गर्नका साथै तामाङ पत्रपत्रिका, पुस्तकपुस्तिका आदि प्रकाशित गरेका छन् । यस संस्थाले रेडियो तथा टिभी कार्यक्रम पनि सञ्चालन गर्ने गरेको अभिलेख पाइन्छ । दोस्रो संस्थाले सामाजिक गतिविधिका साथै ताम्बा शीर्षकका पत्रिका प्रकाशित गरेको छ । यसका साथै स्मारिका, पुस्तक आदि प्रकाशित गरेको छ ।
सञ्चार क्षेत्रमा क्रियाशील तामाङ पत्रकारहरूले तामाङ पत्रकारिताको उन्नयनको लागि तामाङ सञ्चार समूह (२०६१) स्थापना गरे । चैत्र २०७४ मा सम्पन्न तामाङ सञ्चार समूहको पाँचौं राष्ट्रिय महाधिवेशनले यस संस्थाको नाम तामाङ पत्रकार सङ्घमा रूपान्तरण गरेको छ । यस संस्थाबाट केही पठन सामग्री प्रकाशित भएका छन् ।
तामाङ समुदायको बौद्धिक तथा प्राज्ञिक विकासको लागि २४ असार २०६३ मा तामाङ प्राज्ञ सभा देखा पर्यो । यसले तामाङ जर्नल प्रकाशन प्रारम्भ गरेको भएता पनि एक दसक नहुँदै यो संस्था ओइलियो । यस संस्थाले तामाङ अध्ययन अनुसन्धानको लागि कोष पनि खडा गर्यो र स्नातकोत्तर तहमा तामाङ सम्बन्धी थेसिस लेख्ने प्रत्येक वर्ष ३ जनालाई विद्वत् वृत्ति पनि प्रारम्भ गर्यो । यसैगरी तामाङ न्हाङखोर (फागुन २०७४) ले दुई दर्जनजति पुस्तक प्रकाशन, काइतेन शीर्षकमा पत्रिका प्रकाशनका साथै १६ जना तामाङ प्रतिभाहरूको स्केच (रेखाचित्र) तयार गर्यो । यस स्केचलाई तामाङ प्रतिभा शीर्षकमा पुस्तकाकार पनि दियो ।
यसैगरी तम्बा सङ्घ नेपाल (असोज, २०६९) ले तामाङ समाजका नायकहरूमध्येका एक ताम्बाको भूमिका निर्वाह गर्ने गरेको छ । यस संस्थाले आफ्नो गतिविधि र कृतिहरू प्रकाशन गर्ने गरेको छ । नेपाल तामाङ कलाकार सङ्घ (२०६४?) ले तामाङ गीत-सङ्गीतको विकासका लागि कार्य गर्दै आइरहेको छ । दोहोरी तामाङ कलाकार सङ्घ लगायतका सङ्घ-संस्थाहरू पनि तामाङ गीत सङ्गीतको विकासमा सक्रिय छन् ।
यसैगरी तामाङ जातिको उत्थान र अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने अन्य उल्लेखनीय संस्थाहरूमा बौद्ध तामाङ कल्याण गुठी (बौद्ध, काठमाडौ), सोसिओ-कल्चराल रिसर्च सेन्टर (एससिआरसि, २०७४, काठमाडौँ) आदिलाई उल्लेख गर्न सकिन्छ । यी संस्थाहरूले तामाङ भाषा, साहित्य र संस्कृतिको विकासको सन्दर्भमा पुस्तक, पत्रपत्रिका तथा स्मारिका आदिको प्रकाशन गरेर तामाङ भाषा र संस्कृतिको उत्थानमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
पछिल्लो समयमा देखा परेको तामाङ संस्था हो- तामाङ राष्ट्रिय पुस्तकालय (२०७८) । तामाङ प्रकाशन (पुस्तक पुस्तिका, पत्रपत्रिका, स्मारिका, अभिलेख आदि) सङ्कलन, संवर्द्धन र विकास गर्ने र तामाङ अध्ययन अनुसन्धानलाई सहयोग गर्ने उद्देश्यले स्थापित यो संस्था आफ्नो उद्देश्य अनुरूप सक्रिय छ । दुई वर्षको अवधिमा यस संस्थाले सात हजार जति पुस्तक, पत्रपत्रिका, अभिलेखीय सामग्री सङ्कलन गरिसकेको छ भने वार्षिक रूपमा तामाङ जर्नलको प्रकाशन पनि प्रारम्भ गरेको छ ।
२. नेपाल बाहिरका तामाङ सङ्घ-संस्था
नेपालबाहिर सक्रिय संस्थाहरूमा भारतको दार्जिलिङमा पहिलो तामाङ संस्था नेपाली तामाङ बौद्ध एसोसिएसन (सन् २०२२) स्थापना भएको ३५ वर्ष पछि मेघालयमा दरङ बुद्धिस्ट तामाङ समाज (सन् १९५७) र ३८ वर्ष पछि गान्तोकमा सिक्किम तामाङ बौद्ध सङ्घ (सन् १९६०) को स्थापना, ६९ वर्ष पछि दार्जिलिङमा अखिल भारतीय तामाङ बौद्ध सङ्घ (जनवरी, १९८१) को स्थापना र ७२ वर्ष पछि दार्जिलिङमा नै तामाङ बौद्ध घेदुङ (सन् १९९४) को स्थापना भए । मूलतः पछिल्ला चार संस्थाहरूले तामाङ जातिको उत्थान, हकहित, भाषा-संस्कृति र प्रकाशन लगायतका उल्लेखनीय काम गरे र केहीले अझै गरिरहेका छन् ।
नेपालमा प्रजातन्त्र स्थापना (२००७) भएपछि विश्वमा विभिन्न मुलुकसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापित हुन थाल्यो र यसपछि प्रारम्भिक चरणमा कुटनीतिक नियोगहरूमा अनि अध्ययन गर्न र कामको शिलशिलामा नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुग्न थाले अनि संस्था स्थापना गरेर आफ्नो जाति र समाजको हकहितको लागि सक्रिय हुन थाले । हाल तामाङ पुगेका प्रायः जसो मुलुकहरूमा तामाङ सङ्घसंस्था स्थापना भएको समाचार फेसबुक वालमा देख्न सकिन्छ ।
पूर्वी भारतको आसाम (पछि आसाम र मेघालय दुई राज्यय भए)को दरङ जिल्लामा पर्ने नौकुनियामा अगस्ट २४, १९५७ (२०१४ भाद्र ८) का दिन दरङ बुद्धिस्ट तामाङ समाजको स्थापना भएको थियो । गाङमौथानका जङ्गवीर गोलेको सभापतित्वमा सम्पन्न भेलाले तामाङ भाषाको संरक्षण र संवर्धन गर्ने, गुम्बाको स्थापना गरेर बौद्ध धर्मको प्रचार गर्ने, तामाङ जातिको प्राचीन इतिहास, वंशावली आदि सङ्कलन गर्ने, पितृकार्य र धार्मिक कार्यमा पशुवध र मद-मदिरा निषेध गर्ने जस्ता उद्देश्य राखेर जिल्लाभरि संस्था परिचालन गरेको देखिन्छ (सन् २०२१:७०-७२) । हाल यो संस्थाको उपस्थिति थाहा हुनसकेको छैन ।
सन् १९६१ मा सिक्किमको गान्तोकमा (स्वतन्त्र मुलुक सिक्किम सन् १९७५ मा भारतमा गाभिएको थियो) स्थापित सिक्किम तामाङ बौद्ध सङ्घले तामाङ समुदायको संस्कृति, परम्परा, सम्पदा र धर्मको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्ने मुख्य उद्देश्यका काम सुरु गर्यो।[16] हाल पनि यो संस्था सक्रिय छन् । यस संस्थाले आफ्नो उद्देश्य अनुरूपका कार्य सम्पादन गर्ने गरेको पाइन्छ । यसै संस्था मार्फत् सिक्किमका तामाङहरू सक्रिया भइरहेको देख्न सकिन्छ । विश्वका क्रियाशील तामाङ सङ्घ संस्थाहरूमध्ये सबैभन्दा लामो आयु भएको संस्था यो नै हो । यस संस्थाले ६४ वर्षमा टेकेको छ ।
यसैगरी अखिल भारतीय तामाङ बौद्ध सङ्घको शाखा-प्रशाखा भारतका विभिन्न राज्य र सहरहरूमा छन् । भारतीय तामाङहरूको हकहित र उत्थानको लागि विगत ४३ वर्षदेखि यो संस्था निरन्तर क्रियाशील रहेको छ । तामाङ जातिलाई भारतीय संविधानमा जनजातिको दर्जा दिलाउनमा यस संस्थाले सफलता प्राप्त गरेको छ । साथै यस संस्थाले नियमित (प्रारम्भमा त्रैमासिक र पछि वार्षिक) रूपमा फ्याफुल्ला पत्रिका प्रकाशन गर्दै आइरहेको छ ।
सारमा भन्नु पर्दा विश्वमा हरेक देश र कुनामा जहाँ जहाँ तामाङहरू पुगेका छन् ती सबै ठाउँहरूमा तामाङ संस्थाहरू गठन भएका छन् । कतिपय संस्थाहरू निकै सक्रिय छन् । प्रवासमा गठन गरिएका संस्थाहरूमध्ये जापान र अमेरिकाका संस्थाहरू तुलनात्मक रूपमा धेरै सक्रिय देखिन्छन् । नेपाल तामाङ समाज जापान (टोकियो) ले समाज सेवाका अतिरिक्त तीन-चारवटा पुस्तक प्रकाशित गरेका छन् भने तामाङ सोसाइटी अफ् अमेरिका, न्युयोर्कबाट ‘नाङ्साल’ स्मारिका प्रकाशित हुने गरेको छ ।
माथिका तामाङ सङ्घ संस्थाहरूलाई वर्गीकृत गरेर हेर्दा (क) जातीय संस्था, (ख) विषयगत संस्था, (ग) प्राज्ञिक संस्था (घ) अनुसन्धानमुलक संस्थामा वर्गीकरण गर्न सकिन्छ । अखिल भारतीय तामाङ बौद्ध सङ्घ, सिक्किम तामाङ बौद्ध सङ्घ, तामाङ बौद्ध घेदुङ, नेपाल तामाङ घेदुङ, नेपाल तामाङ राष्ट्रिय महासङ्घ, नेपाल तामाङ राष्ट्रिय घेदुङ आदिलाई जातीय सङ्घ-संस्थामा राख्न सकिन्छ । यी संस्थाहरू तामाङ जातिको हकहित र उत्थानको लागि सक्रिय छन् । तामाङ भाषा तथा साहित्य परिषद्, तामाङ डाजाङसहितका भाषिक तथा साहित्यिक संस्थाहरू, तामाङ पत्रकार सङ्घ, ताम्बा सङ्घ नेपाल, नेपाल तामाङ कलाकार सङ्घ आदिलाई विषयगत संस्था हुन् । तामाङ प्रज्ञासभा बौद्धिक तथा प्राज्ञिक संस्था हो । हाल तामाङ बौद्धिक तथा प्राज्ञिक संस्थाहरू छैनन् वा निष्क्रिय छन् । अनि तामाङ न्हाङखोर र एससिआरसी जस्ता संस्थाहरू अनुसन्धानमूलक हुन् भन्न सकिन्छ ।
तामाङ सङ्घ संस्थाहरूको अवलोकन गर्ने यो मेरो पहिलो प्रयास हो । ती सङ्घ संस्थाहरूको गठन र कार्यहरू गहन ढङ्गले अध्ययन अनुसन्धान हुन आवश्यक देख्छु । यस तर्फ अनुसन्धाताहरूको ध्यान बेलैमा जाओस् र कलम चलोस् भन्ने चाहन्छु ।
यस लेखको मुख्य ध्येय तामाङ पहिचानलाई उद्बोधन गर्नु, तामाङ सङ्घ संस्थाको अभिलेखीकरण गर्नु र संस्थाहरूको आधारभूत जानकारी राख्नु भएकोले स्वाट विश्लेषण (SWOC/T : Strength, Weakness, Opportunity, Challenges/Threat Analysis ) गरिएको छैन । यहाँ मूलतः गतिशील संस्थाहरूको स्थापना, उद्देश्य र क्रियाकलाप हेर्ने प्रयास गरेको छु । अनुसूचीमा संस्थाहरूको कालक्रमिक सूची पनि संलग्न छ । तामाङ जातीय संस्थाको अध्येता तथा अनुसन्धाताहरूलाई यस लेखबाट केही सहयोग पुग्ने अपेक्षा गरेको छु । धन्यवाद !
[1] तामाङ जाति नेपालका प्रमूख आदिवासी समुदाय हो। यस जातिको मूख्य बसोबास नेपाल, भारत र भूटानका हिमाली तथा पहाडी भूक्षेत्रमा पाइन्छन्। नेपालमा यो जातिको उपस्थिति १६,३९,८६६ (सन् २०२१) जनसङ्ख्या सहित पाँचौं स्थानमा रहेको छ ।
[2] प्रताप बल (भदौं २०६६:३१-३२) का अनुसार ५५ जना सचेत तामाङहरू भेला भएर नेपाली तामाङ बुद्धिस्ट एसोसियसन (२०२३) स्थापना गरेको हो र यसको शाखा खर्साङमा पनि खोलिएको थियो। प्रताप बलले यस संस्थाको स्थापना वर्ष २०२३ लेखेका छन् ।
[3] प्रस्तुत लेख तामाङ जातिद्वारा स्थापित तामाङ जातिको सामाजिक, साहित्यिक तथा सांस्कृतिक सङ्घ संस्थाको चित्रणमा समिति छ । यी तामाङ सङ्घ संस्थाका शाखा-प्रशाखा र समिति आदिको चर्चा यहाँ गरिएको छैन । यसै गरी धार्मिक, राजनीतिक सङ्घ संस्थाको चर्चा पनि यस लेखमा गरिएको छैन ।
[4] ‘गोर्खाको विजय अभियानको फलस्वरूप नेपालको राजनीतिक एकीकरण भएकै हाराहारीमा भारतमा फिँजिरहेको ब्रिटिस सत्ताको आँखा सिक्किमको त्यस भूभागमा पर्न थालेको थियो जुन भूभाग र पछि भोटानबाट गाभिएका इलाका मिलाएर सन् १८६६ मा वर्तमान दार्जिलिङ जिल्ला बन्यो।’ …‘वर्तमान दार्जिलिङ जिल्लाको क्षेत्रफल १२५६.६ वर्गमाइल छ’ (प्रधान, २००४:५) ।
[5] नेपालमा सामन्ती प्रथाअन्तर्गतको शोषण प्रबल विकर्षण शक्तिको रूपमा बढिरहेको समयमा दार्जिलिङमा अङ्ग्रेजी शासन सुरु भएपछि खुल्न थालेका कामधन्दा र विशेष गरी चिया उद्योगको द्रुत विकास आकर्षण शक्ति बन्यो । ‘चियाको बोटमा पैसा फल्छ’ भन्ने सुनेर नेपालबाट निर्गमणको परिणाम धेरै बढन गएको दार्जिलिङका जनगणनाको विश्लेषणले प्रमाणित गर्छ (प्रधान, २००४:८) ।
[6] सन् १९२१ मा जम्मा नेपाली जाति २८६,७४८ थिए र यसमा तामाङ जातिको जनसङ्ख्या ३०,४५० (सन् १९२१) अर्थात् १०.६१% थियो । पहिलो स्थानमा राई (४१,२३६), दोस्रो स्थानमा तामाङ (३०,४५०), तेस्रो स्थानमा मगर (१४,९३४), चौथो स्थानमा लिम्बु (१४,१९१) र पाँचौं स्थानमा कामी जाति (११,७७९) रहेको छ ।
[7] ‘तामाङ’ लेख्न लेखाउनका लागि राजदरबारबाट १९८९ भदौं ६ मा इस्तिहार जारी हुनु भन्दा १० वर्ष अगाडि नै यो संस्थाको स्थापना (वि.सं. १९७९) भइसकेको थियो । त्यसताका नै भारतमा बसोबास गर्ने तामाङहरूले ‘तामाङ’ शब्द राखेर ‘नेपाली तामाङ बौद्ध एसोसिएसन (सन् १९२२) स्थापना गरेको देखिन्छ ।
[8] यो लेखमा उल्लेखित मिति विक्रम संवत्मा छ अन्यथा सन् लेखिएको छ ।
[9] नेपाल तामाङ समितिले निम्नानुसारको सातवटा उद्देश्य बोकेको रहेछ : (क) समाजमा एकता र आर्थिक, सामाजिक, मानसिक ज्ञान औ जातीय सुधार कसरी हुनसक्छ? देश, राष्ट्र भनेको के हो? हाम्रो जीवन कसरी बित्नु पर्छ? यो ज्ञान शिक्षा बिना प्राप्त हुँदैन । अघिदेखि धेरै मात्रमा थिचिएर आज पर्यन्त पछाडिएका जातिमा शिक्षाको विकास नभएको त्यस तर्फ जोड दिने यो समितिको मुख्य उद्देश्य हो । (ख) परिस्थितिवस यो समाजका व्यक्तिले उच्च शिक्षा प्राप्त गर्न नसकेको खण्डमा एउटा योग्य नागरिक बन्नलाई कमसेकम चाहिने शिक्षा प्राप्त गराउन र त्यसको महत्त्व दर्शाउनु समितिले आफ्नो कर्तव्य सम्झिनेछ । (ग) सामुहिक व्यवहारमा पर्न आएको पिर बाधा र सामन्त शक्तिको भेदभावपूर्न नीतिको पंजाबाट फुकाली देशका गरीव जनताको सेवा गर्नेछ । (घ) बाटो, घाटो, पुल, स्कुल आदि सार्वजनिक साधनको निर्माणको लागि जनताको माग बमोजिम समितिले सरकारबाट दिलाउन यथासक्य कोसिस गर्नेछ । (ङ) साना साना अर्थात् एक दुइ व्यक्तिले गर्न सक्ने घरेलु इलमको प्रचार गराउने र कृषि प्रधान हाम्रो देश भएकोले आधुनिक कृषिविज्ञानको ज्ञान दिलाउन सरकारी कृषि विभागसँग सम्पर्क राखी यथासक्य कृषिजिज्ञानको प्रचार गराउने र सरकारलाई दिइने कृषि सहयोगमा हात बढाउनेछ । (च) समितिले आफनो जातीय संस्कृति, भाषा र धर्म सम्बन्धिका वस्तुहरूको तलास गरी जातीय सुरक्षाको लागि यसको अनुसन्धान गर्नेछ । समाजमा भएका पूराना नचाहिँदा रूढीवादी (रेमठेम) व्यवहारलाई हटाई समाजमा सुहाउँदो व्यवहारमा परिणत गराउने छ ।’ (छ) उपयुक्त उद्देश्यलाई कार्यरूपमा परिणत गर्न विदेशमा गएर बसोबास गरी आएका शिक्षित दाजुभाइहरूलाई आफ्ना देश र राष्ट्रको जग बलियो गराउनलाई शिक्षा दिलाउन आव्हान गर्नेछ ।
[10] भदौ, २०३६ को उक्त समाचार अनुसार उक्त राष्ट्रव्यापी सम्मेलनको उद्घाटन तामाङ सेवा गुठीका संस्थापक जुद्धवीर लामाले गरेका थिए भने सभापतित्व स्वयम्भू गुम्बाका लामा अष्टबहादुर लामाले गरेका थिए । उक्त सम्मेलनमा पेम्पा तामाङ, काठमाडौंका निर्मलकुमार तामाङ, इलामका मानध्वज मोक्तान, सुनसरीका कृष्ण तामाङ, धनुषाका वीरबहादुर तामाङ, सोलुका भोजराज तामाङ, दोलखाका दीपबहादुर तामाङ, काभ्रेका कमानसिंह तामाङ, रसुवाका सोनाम छिरिङ तामाङ, सिन्धुपाल्चोकका कर्णध्वज तामाङ, महिलाहरूमा श्रीमती बिमला तामाङ सुश्री रीता तामाङ सहित २५ जना वक्ताले बोलेका थिए ।
[11] तामाङहरूमा ‘एक मात्र’ हो भनेर रट लगाउने परम्परा यहीँ संस्थाबाट सुरु भएको रहेछ ।
[12] तामाङ भाषा संस्कृति विकास समितिको उद्देश्य : १. राष्ट्रको समोन्नतिको निमित्त तामाङ जातिको सक्रिय सहयोग सामुहिक आधारमा उपलब्ध गराउने। २. तामाङ समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, संवर्द्धन र सुधार गर्न प्रयास गर्ने ३. तामाङ समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृद्धि गर्न व्यक्तिगत र सामुहिक प्रयास गर्ने र ४. मुलुक भित्र रहेका विभिन्न जनजातिको सङ्घ संस्था व्यक्तिसँग व्यक्तिगत तथा सामुहिक रूपमा सुमधुर एवं सद्भावनापूर्ण सम्बन्धको अभिवृद्धि गर्ने ।
[13] उद्देश्य तथा नीति : (क) यो संघ राजनीतिक दल विशेषसँग असम्वद्ध र लाभनिरपेक्ष रहनेछ; (ख) राष्ट्रियता, अखण्डता, स्वतन्त्रता एवं राष्ट्रको समोन्नतिको निमित्त तामाङ जनजातिका सक्रिय सहयोग सामुहिक आधारमा उपलब्ध गराउने; (ग) मानव अधिकारका विश्वव्यापी घोषणा, नागरिक एवं राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका अन्तर्राष्ट्रिय सन्श्राव, अधिवृत्त एवं सन्धी-सम्झौताले दिएका नैसर्गिक मानव अधिकार र त्यससँग सम्वन्धित सबै अधिकार प्राप्तिको लागि कार्य गर्ने; (घ) राष्ट्र भित्र र बाहिर रहेका समान उद्देश्य राख्ने विभिन्न जाति, उत्पिडित जाति र जनजातिहरूको संघसंस्था र व्यक्तिसँग सामुहिक रूपमा सुमधुर एवं सद्भावपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने तथा सबैसँग मिलेर साझा एवं वृहत हितका लागि कार्य गर्ने; (ङ) तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, संस्कृति, समाज व्यवस्था, इतिहास आदिको विषयमा अध्ययन अनुसन्धान गरी पत्रपत्रिका, पुस्तकपुस्तिका प्रकाशन गर्ने, विद्यालय सञ्चालन गर्ने, फिल्म, क्यासेट सार्वजनिक, प्रवचन गोष्ठी, सभाद्वारा प्रचार र रेडियो, टेलिभिजनको माध्यमबाट प्रसारण गरी तामाङ भाषा, धर्म, संस्कृति, कलाकृतिको संरक्षण एवं सम्वर्द्धन गर्ने; (च) “तामाङ समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृद्धिको लागि कार्य गर्ने; (छ) उल्लेखित उद्देश्य पूर्तिको लागि अन्य कार्य गर्ने (नेपाल तामाङ घेदुङ (संघ), २०१३, विधान (संशोधित एवं परिवर्तित, २०४७) ।
[14] प्रकाशनहरूमा कतै ‘सेङ्जाङ’ मात्र त कतै ‘तामाङ भाषा तथा साहित्य परिषद्’ लेखिएको पाइन्छ ।
[15] तामाङ ग्योइ थेन सेमल्हेङ सेङ्जाङ (२०५०) को उद्देश्य (क) तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, संस्कृति आदि विषयमा अध्ययन अन्वेषण गरी पत्रपत्रिका, पुस्तक पुस्तिका प्रकाशन गर्ने गराउने । (ख) तामाङ भाषाको उत्थानको निम्ति फिल्म, क्यासेट आदि निकाल्ने । (ग) तामाङ भाषासम्बन्धी विभिन्न किसिमको गोष्ठी एवं अनुसन्धानात्मक कार्य गर्ने गराउने । (घ) तामाङ भाषामा अनौपचारिक शिक्षाको पाठ्यपुस्तक तयार गरी पठनपाठन गर्ने गराउने । (ङ) तामाङ भाषामा शैक्षिक जागरण ल्याउने । (च) तामाङ भाषामा नेपाली तथा अन्य भाषाका आवश्यक तथा स्तरीय साहित्य अनुवाद गर्ने गराउने (दफा ५) रहेका छन् ।
[16] To promote, propagate and preserve the age-old customs, tradition and culture, preserve and help preserve religious, cultural and social heritage to Tamang community (2.b). To unite all Tamangs on social, religious, cultural, economic and ethical plains and promote these for advancements of their well-being (2.c).
सन्दर्भ ग्रन्थ (विधानसहित)
१. अखिल नेपाल बुद्ध धर्म सङ्घ २००९ (मस्यौदा), काठमाडौँ।
२. तामाङ ग्योइ थेन सेमल्हेङ सेङ्जाङ, विधान २०५०, काठमाडौँ, नेपाल।
३. तामाङ बुद्धिष्ट गेदुन (सन् १९९४) दार्जिलिङ।
४. तामाङ भाषा संस्कृति विकास समिति २०४० (मस्यौदा विधान), काठमाडौँ।
५. तामाङ सेवा गुठी विधान २०३६, केन्द्रिय कार्यालय, रामशाह पथ, काठमाडौँ।
६. ‘दरङ बुद्धिस्ट तामाङ समाज’, तामाङ समाज र संस्कृति (सन् २०२१), मेघालय, भारत।
७. नेपाल कोकोम्हेन्दो बौद्ध संघको छाया र उद्देश्य २०३९, काठमाडौँ।
८. नेपाल तामाङ घेदुङ (संघ) २०१३ को विधान (संशोधित तथा परिवर्तित २०४७), काठमाडौँ।
९. नेपाल तामाङ समाज सुधार समिति २००९ (मस्यौदा), काठमाडौँ।
१०. नेपाल तामाङ समितिको घोषणापत्र तथा मसौदा संविधान २०१३, केन्द्रिय कार्यसमिति, पुतलीसडक, काठमाडौँ, नेपाल।
११. Sikkim Tamang Buddhist Association, Constitution of the Association, Gantok.