संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले धुन्चेदेखि गोसाईंकुण्डसम्म केवल कार निर्माणमा आफूले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेठ २ देखि ३ गतेसम्म सदरमुकाम धुन्चेमा जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको समीक्षा बैठकको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्मको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले धार्मिक पर्यटकीय स्थल गोसाईंकुण्ड जान बालकदेखि बृद्वसम्मलाई सरल र सहज होस भनेर केवल कार निर्माण हुन जरुरी रहेको बताए । उनले सङ्घ र प्रदेश र स्थानीय सरकार का प्रतिनिधि हरू बसेर छलफल र समन्वयात्मक तरिकाले अगाडि वढन सुझाव समेत दिए ।
जिल्ला समन्वय समितिले समन्वय गरी जिल्लाभरका गाउँपालिकाभित्र रहेका कार्यालय संघसंस्थाहरूले आफूले गरेका कामहरूको बारेमा आम जनताहरूलाई पारदर्शी तवरले प्रस्तुत गरेका थिए ।
समन्वय समिति रसुवा का प्रमुख अशोक कुमार घिमिरे को सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल,समन्वय समिति का उपप्रमुख विजय लामा,नेकपा एमाले का जिल्ला पार्टी अध्यक्ष जनार्दन ढकाल,संविधान सभा सदस्य छोवाङ तेन्जिन तामाङ,सुरक्षा निकायका प्रमुखहरू ,गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,जिसस सदस्य,प्रमुख प्रशासकीय अधिकृत,सरकारी कर्मचारी,राजनीतिक दलहरू सञ्चारकर्मी पत्रकार र विशिष्ट व्यक्ति हरूको उपस्थिति रहेको थियो ।
समीक्षा गोष्ठीमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य साङ्तेम्वा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङलगायतले रसुवाली सबै खाले विकास निर्माणका योजना तर्जुमा गर्नु पूर्व सबै पक्षको समन्वय गर्न जरुरी रहेको बताएका छन् ।