संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालको संविधान उत्कृष्ट बनेको दाबी गरेका छन् ।
शनिवार जनजाति कल्याण आश्रम नेपालद्वारा आयोजित आदिवासी जनजातिको भूमि, भाषा, धर्म, संस्कृतिको संरक्षण र अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ विषयक विचार गोष्ठीमा मन्त्री तामाङले संविधानमा चित्त नबुझे त्यसको मर्मलाई मध्यनजर गरी संशोधनमा मागहरू राख्न सक्ने बताएका हुन् ।
गोष्ठीमा डा. कृष्ण भट्टचनले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा भट्टचनले आदिवासीहरू सधैँ चेपुवामा परेको बताएका छन् । उनले कार्यपत्र प्रस्तुत गर्दै संविधानमा आदिवासी महिलाको अधिकारको पहिचानमा कमी र आदिवासीको आत्मनिर्णयको अधिकारको पहिचानको आधारभूत कमी रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘आदिवासी महिलाको अधिकार स्पष्टरुपमा पहिचान गर्नका साथै उनीहरूको आत्मनिर्णयको अधिकार, आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घको घोषणा अनुरूप, संविधान संशोधन गर्नुपर्नेछ ।’
यस्तै कार्यपत्रमाथि आदिवासी नेता तथा विज्ञहरूले टिप्पणी गरेका थिए ।