वाग्मती प्रदेशमा गण्तन्त्र दिवस मनाइयो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
मकवानपुर

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुकलाई दिगो विकासको लक्ष्यमा अघि बढाउन प्रदेश सरकार तथा सबै राजनीतिक दलबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताएको छ ।

वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज हेटौँडामा १७औँ गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रमा दीर्घकालीन शान्ति, राजनीतिक स्थायित्व र गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेको थियो ।

प्रदेश प्रमुख शर्माले राजनीतिक नेतृत्वबाट मुलुकमा परिवर्तन भएको भन्दै अब जनतालाई भौतिक पूर्वाधार, विकास निर्माण र आर्थिक समृद्धिबाट आत्मनिर्भर बनाउने बाटोमा प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले राजनीतिक परिवर्तनसँगै बनेको नेपालको संविधानले सबै नेपालीका छोराछोरी राष्ट्र प्रमुख हुनसक्ने अवसर सिर्जना गरेको भन्दै यो गणतन्त्रकै उपलब्धि रहेको उल्लेख गरे ।

कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनतालाई भौतिक पूर्वाधार, कृषि उत्पादन, पर्यटन क्षेत्रको विस्तार र प्रत्यक्ष रोजगारीको अवसर उपलब्ध गराउन योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उनले राजनीतिक नेतृत्वबाट केही कमीकमजोरी भए सो स्वीकार गरी आफूलाई सच्याउँदै दिगो शान्ति, मानवअधिकारको संरक्षण र जनताप्रति जवाफदेही भएर अघि बढ्नुपर्ने बताए ।

मुख्यमन्त्री जम्कट्टेलले सङ्घीय सरकारले प्रदेश सरकारलाई संविधानले दिएको अधिकारलाई प्रत्यायोजित गरेको जनाउँदै प्रदेशको भूमिकालाई अझ प्रभावकारी बनाउन सुशासन र जनताप्रति उत्तरदायी हुँदै सकरात्मक सोचले काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले व्यवस्था गरेअनुसार प्रदेश सरकारको गठन भएको भन्दै काम, कर्तव्य, अधिकारलाई आवश्यक पर्ने ऐन कानुनको तर्जुमा गरी जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए । उनले जनताका आवश्यकतालाई समीक्षा गरी पूर्वाधार विकास र गुणस्तरीय स्वास्थ्य उपचारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पूर्वमुख्यमन्त्री पौडेलले विभिन्न राजनीतिक दलको आ–आफ्नै नीति, सिद्धान्त र उद्देश्य रहे पनि मुलुकको स्वतन्त्रता र गणतान्त्रिक व्यवस्थाको रक्षा गर्दै यसलाई थप सुदृढीकरण गर्न नेतृत्व तहले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता भएको बताए ।

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जनतालाई भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिबाट आत्मनिर्भर बनाउँदै लैजान सरकारले अहिले जनमुखी कार्यक्रम ल्याएको स्मरण गरे । उनले जनताले गणतन्त्रको विकल्प खोज्ने अवस्था नल्याउन राजनीतिक दलले आफूलाई इमान्दारिपूर्वक जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

गणतन्त्र दिवसको अवसरमा हेटौँडास्थित भुटनदेवी उच्च माविको प्राङ्गणबाट आज बिहान निस्किएको प्रभातफेरीले हेटौँडा नगरको परिक्रममा गरी मुख्यमन्त्री परिसरको प्राङ्गनमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो ।

प्रभातफेरीमा मुख्यमन्त्री जम्कट्टेल, मन्त्रीहरु, प्रदेशसभाको उपसभामुख अप्सरा चौलागाईं, मन्त्रिपरिषद्का कामु प्रमुख सचिव गोविन्दबहादुर कार्की, विभिन्न मन्त्रालयकाका सचिवहरु, कार्यालय प्रमुख, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढार्इं, सामाजिक कार्यकर्ता र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका उच्चअधिकृतहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका