रिमालको कविता सङ्ग्रह “चमेरो : कोरोना कविता” सार्वजनिक

काठमाडौँ 

कवि श्याम रिमालको कविता सङ्ग्रह “चमेरो : कोरोना कविता” सार्वजनिक भएको छ । राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धकसमेत रहेका रिमालको कृति आज यहाँ साहित्यकार र साहित्यप्रेमीहरुले सामूहिक रुपमा सार्वजनिक गरेका  हुन् ।

तीन वर्षअघि कोरोना महामारीको समयलाई समेटेर उनले दस्तावेजको रुपमा कविता सङ्ग्रह प्रकाशन गरेको बताउनुभयो । सङ्ग्रहमा २९ वटा कविता सङ्गृहीत छन् । यस अघि रिमालका एउटा काँढा बिझ्दा ९गीत सङ्ग्रह०, त्रिशूलीको किनाराबाट, बारपाक र नदी बग्दैन (तीनवटा कविता सङ्ग्रह) कृति प्रकाशित छन् ।

क्रान्तिकारी राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालको १०७औँ जन्मजयन्ती तथा कविता गोष्ठीको अवसरमा उनको कविता सङ्ग्रह सार्वजनिक गरिएको हो । कवि दीपेन्द्र अधिकारीले रिमालको कविता सङ्ग्रहमाथि समीक्षा गरेका थिए । रिमालका कविता कुनै छन्द, विम्ब र प्रतीकमा नबाँधिएर सामान्य जनजीवनमा आउने भावनाको सरल सिर्जना हुने भएको उनले बताए । पढ्दा र बुझ्दा रमाइला कविता भएपनि आगामी कृतिहरु केही काव्यात्मक संरचनामा बाँधिनुपर्ने सुझाव उनले दिए ।

रिमाल समाजका महासचिव रवि रिमालले नेपाली भाषा साहित्य पछिल्लो समय सङ्कटमा पर्न थालेको बताउँदै यस्ता कृतिले साहित्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो चरणको कार्यक्रममा विभिन्न कविले रचना वाचन गरेका थिए । कवि दिप्य गीरी, धर्ती चन्द्र यात्री, इलामे जेठो, कृष्ण बाउसे, तिर्थ भट्टराई, राममणि सिटौला, अमर आकाश, प्रमोद स्नेही, गोपालकुमार मैनाली, लालबहादुर भुजेल, कृष्णमोहन जोशी, टेकेन्द्र थापालगायतले कविता वाचन गरेका  थिए ।

श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाका प्रकाशक एवं संस्थापक सम्पादक प्रवीण जोशी, पत्रिकाका सहयोगी सम्पादक शिव श्रेष्ठ र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका व्यवस्थापक लिलाप्रसाद भट्टराईले रिमालको कृतिको प्रशंसा गरेका  थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया