क्यान्सर रोगी बाबु लामालाई बचाउन दार्बुङ, सहयोगको लागि कलाकार भुइसलद्वारा अपिल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
काठमाडौं

क्यान्सर रोगी बाबु लामाको सहयोगार्थ तामाङ चलचित्र ‘दार्बुङ’ शनिवार प्रदर्शन गरिएको छ ।

शनिवार चलचित्र विकास बोर्डको सभा हलमा प्रदर्शन गरिएको चलचित्रबाट जम्मा रकम कलाकार भुइसल लामाको श्रीमान् क्यान्सर रोगी बाबु लामाको उपचारमा खर्च गरिनेछ ।

चलचित्र प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले हाम्रो लापरबाहीले नै हामी रोगको शिकार बन्न पुगेको बताइन् । उनले भनिन्,‘स्थानीय तहले रोग निवारणका अभियानहरू चलाइरहेका हुन्छौँ तर त्यसलाई व्यवहारमा लागु नगर्दा रोगको शिकार बन्न पुगेको हो।’

उनले चलचित्रमा कलाकारहरूले क्यारेक्टरमा ‘धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ को वाक्य देखाउँछौँ तर त्यसमा अभिनय गर्ने कलाकार भने त्यसैमा लुप्त भएर रोगी भएको पाउँदा दुख लागेको बताइन् । यो गलत रहेको पनि उल्लेख गरिन् । उनले भनिन्,‘हामी हाइब्रिडयुक्त र विषादी खानेकुराले गर्दा क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्नुपरेको छ । जबकि आफ्नै बारी र कौसीमा फल्ने तरकारी खेती गर्न छाडेर बजारको खानेकुरा खाँदा रोगको शिकार बनेको हो । यसबाट सचेत हुन जरुरी छ ।’

यस्तै कार्यक्रममा रोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष डिबी मोक्तानले राज्यले हाम्रो पीडाहरूमाथि सम्बोधन गरिरहेको उल्लेख गरे । उनले कलाको जगेर्ना सङ्गै आफू पनि बाँच्नुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार मञ्चका अध्यक्ष सत्यमान लामा ‘मिलन’ ले भुइसल लामाले कलाको क्षेत्रबाट देशलाई चिनाएको छ । उनी जस्तो व्यक्तिलाई यो आपतको घडीमा सबै परोपकारी मनैदेखि सहयोग गर्न अनुरोध गरेको छ । लामाले १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ६ वडाध्यक्ष नवराज तामाङले रोगी लामालाई सहयोग प्रदान गर्दै आफू कार्यरत वडाले सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बागमती प्रदेश चलचित्रका अध्यक्ष असमान वाइबाले राज्यले पूर्ण निःशुल्क उपचार गरेको भए आज यसरी कार्यक्रमहरू गरी माग्नुपर्ने अवस्था नरहेको बताए। उनले १० हजार ५ सय सहयोग गरेको छ ।

वरिष्ठ लोक गायक चन्द्रकुमार मोक्तानले कलाकारलाई गहनाका रूपमा मात्र प्रयोग गरेको तर राज्यले नचिनेको गुनासो गरे । उनले राज्यले गहनाका रूपमा मात्रै नभई बिरामी पर्दा राज्यले उपचार कोष खडा गरी उपचार गर्ने व्यवस्था गर्नुपर्ने माग राखे ।

तामाङ चलचित्र सङ्घका अध्यक्ष कुमार मोक्तानले कलाकारलाई राज्यले बचाउनुपर्ने बताए । उनले रोग लागेर उपचार खोज्नु भन्दा रोग लाग्न नदिन नै उत्तम उपाय हुने बताए । उनले चलचित्र सङ्घले सहयोग गरिसकेको र अझै गर्दै जाने जानकारी दिए ।

क्यान्सर रोगी लामा विगत ६ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।

कार्यक्रममा अन्य अतिथिहरूले आर्थिक सहयोग गरेका छन् भने सम्पूर्ण सहयोगी र कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विगत लामो समयदेखि नेपाली तथा तामाङ चलचित्रमा निरन्तर निस्वार्थ रूपमा लागिपरिरहेका हुत्त सञ्जय लामा र अर्जुन खड्काद्वारा निर्देशित चलचित्र दार्बुङले काठमाडौँका विभिन्न हलहरूमा च्यारिटी सो गरेका छन् ।

चलचित्रमा एउटा गरिब परिवारमा जन्मेका अशक्त युवाको जीवनयापनका दौरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपुचेलीको बिचको प्रगाढ सम्बन्धलाई चित्रण गरेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा नायिका सुनिता लुङ्बा‚ नायक हुत्त सञ्जय लामा र मनबहादुर तामाङको अभिनय देख्न सकिन्छ ।

दार्बुङमा स्व. जयनन्द लामा‚ डोमा ह्योल्मो‚ भुइसल लामा‚ मायादेवी मोक्तान‚ राजकुमार मोक्तान‚ सिर्जना गोले‚ इन्द्रबहादुर स्याङ्तान‚ पेमा योन्जन‚ सागर तामाङ‚ सुनमाया घिसिङ‚ सागर तामाङले अभिनय रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया